प्रचण्डमात्र होइन, माओवादी नेताका सुरक्षाको जिम्मा पार्टीको हो

370 Hits

काठमाडौं, १७ फागुन ।
नेकपा एमालेका नेता बामदेव गौतम स्पष्ट वक्ताका रुपमा परिचित छन् । उनले बाम एकताको लागि खेलेको भुमिका महत्वपूर्ण रहेको कुरा बाम एकताका मुख्य नेताहरुले नै स्वीकारेका छन् । निर्वाचनमा अन्तरघातका कारण पराजय व्यहोरेका गौतमले माओवादी अध्यक्ष प्रचण्डकै कारण एकता सम्भव भएको बताएका छन् ।
पार्टी एकता र भावी अवस्थाका बारेमा उनले  भनेका छन् – यो एकै दिनको प्रयासको फल होइन । करिब दश वर्षको निरन्तर प्रयासको प्रतिफल हो । पार्टी एकताको प्रारम्भिक आधार बनेको छ । ०६३ सालदेखि निरन्तर पार्टी एकताको प्रयास गरिए पनि परिस्थिति अनुकूल नहुँदा सम्भव भएको थिएन । अहिलेको समय र परिस्थितिले हामीलाई एकै ठाउँमा आउन बाध्य गरायो र हामी एक भयौँ । यसमा धेरथोर हाम्रो र धेरै नेतृत्वको चाहनाले सम्भव भयो ।

औपचारिक रूपमा पार्टी एकताको घोषणा कहिलेसम्म होला ?

२१ गते सङ्घीय संसद्को पहिलो बैठक आह्वान भएको छ । २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसपछि बढीमा दुई साता समय व्यवस्थापन गर्न लाग्ला । संरचनागत आधार तयार गर्न केही समय लाग्नेछ । छिटोमा सम्भवतः फागुन मसान्तसम्म, नभए चैत पहिलो सातासम्म औपचारिक कार्यक्रम गरेर दुई दल एक भएको घोषणा गर्ने तयारी छ ।

फरक–फरक पृष्ठभूमिका दुई कम्युनिस्ट दललाई एक ठाउँमा ल्याउन कसरी सम्भव भयो ?

दुई पार्टीका राजनीतिक पृष्ठभूमि अलग–अलग छन् । एउटा सिधै हिंसात्मक सङ्घर्षबाट विकसित भयो । अर्को शान्तिपूर्ण जनआन्दोलनबाट विकसित भएर आयो । २००६ सालमा गठित कम्युनिस्ट दल र आजको नेकपा (एमाले) २०४७ साल पुस २२ गते पुनःगठन भएको पार्टी हो । पुरानो माले र माक्र्सवादीको एकताबाट बनेको पार्टी हो । संसदीय, जनसङ्घर्ष र सडक सङ्घर्षलाई केन्द्रित गरेर आयौँ । कम्युनिस्ट पार्टीको अर्को हिस्सा माओवादी सशस्त्र युद्धमा होमिएर आयो । एमालेको हिंसात्मक ढङ्गले सत्ताकब्जा गर्ने नीति थिएन तर माओवादीको त्यो नीति थियो । शान्तिपूर्ण प्रयत्नबाट पनि देशको समस्या समाधान गर्न सकिन्छ भन्ने बहस शुरु गरेर लामो समय र प्रयासपछि आज दुई मुख्य कम्युनिस्ट दल एक ठाउँमा आउने वातावरण तयार भएको छ । यो सबैका लागि खुशीका कुरा हो । हाम्रो प्रयास र दुवै दलका नेतृत्व तयार भएपछि पार्टी एकताको बाटोमा आउन सफल भइयो ।

पार्टी एकताको घोषणा भयो भने पार्टीका अध्यक्ष र अन्य नेताको व्यवस्थापन कसरी होला ?

पार्टी एकता घोषणा भएपछि दुवै जना अध्यक्ष रहनुहुन्छ । को–चेयरम्यानको स्पिरिटमा हामी जान्छौँ । एकताको महाधिवेशन नहुँदासम्म पालैपालो पार्टीको अध्यक्षता गर्नुहुनेछ । बाँकी अन्य नेताको व्यवस्थापन पनि पार्टीको निर्णयअनुसार नै हुन्छ । पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी, सचिवालय, प्रदेश कमिटी, जिल्ला समन्वय समिति, स्थानीय र वार्ड कमिटी रहन्छन् । त्यहाँ नेताहरूलाई योग्यताअनुसार व्यवस्थापन गरेर जान्छौँ । नेपाल कम्युनिस्ट पार्टीमा कम्तीमा आठ लाख सङ्गठित सदस्य हुनेछन् । सबैलाई प्रशिक्षित गरेर पार्टीको कुनै न कुनै एकाइ कमिटीमा समाहित गराउँछौँ ।

दुई कम्युनिस्ट पार्टीबीच एकता भएको हो कि, एक–अर्कामा विलीन भएको हो ? के भन्नुहन्छ ?

अहिले दुवै दलको अघिजाने बाटो सिद्धान्ततः एउटै हो । शान्तिपूर्ण सङ्घर्षबाटै उपलब्धि प्राप्त गर्ने बाटो तय भएको छ । न एमालेले माओवादीलाई तानेर मिसाएको हो न माओवादीले एमालेलाई ल्याएर मिसाएको हो । हतियारको संरचना माओवादीको समाप्त भई शान्तिपूर्ण प्रतिस्पर्धामा आएको छ । जनसङ्गठनको माध्यमबाट राजनीतिक प्रतिस्पर्धामा आयो । एमाले पहिलेदेखि यो बाटोमा थियो । हतियारबाटै सत्ता कब्जा गर्ने सिद्धान्त माओवादीको सकियो । आज एउटै बाटोमा हिँडिरहेका बेला एक भएका हौँ । कोही कसैमा विलीन भएको होइन ।

पार्टी एकतापछि त्यसको व्यवस्थापनमा के–कस्ता चुनौती आउला जस्तो लाग्छ ?

माओवादी फुट्दै जुट्दै आए । ३६ औँ पटक फुटे र पुनः जुटे । हामी पनि २०२२ सालदेखि फुट्दै जुट्दै आयौँ । गन्दाखेरि हामी ४६ औँ पटक फुटेका र जुटेका छौँ । हरेक पार्टी र सङ्गठनभित्र कमजोर तŒव, अवसरवादी तŒव हुन्छन् । तिनलाई प्रतिद्वन्द्वी शक्तिले प्रयोग गर्छन् । ती तŒव पार्टीका ‘लुपहोल्स’ हुन् । पार्टीभित्र आफ्नो स्थान सुरक्षित गर्ने प्रतिस्पर्धा आउन सक्ला । पदका लागि पुनः असन्तुष्टि आउन सक्छ । पार्टीभित्र गुटबन्दी हाबी हुन सक्ला । दाउपेचको प्रयास हुन सक्ला, त्यसमा नेतृत्व चनाखो हुनुपर्छ । नेतृत्व नै बिग्रियो भने समस्या त आउँछ नै । हामी यी सबै चुनौतीलाई हेरेर, मूल्याङ्कन गरेरै पार्टी एक गरेका हौँ, समस्या आए सामना गर्नुपर्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा अस्थिर छविका नेताका रूपमा चिनिनुहुन्छ नि ?

प्रचण्ड मेरो असल मित्र हुनुहुन्छ । व्यक्तिगत सम्बन्ध ठूलो छ । मैले उहाँलाई बढी जोड गरेर भन्छु, उहाँले पनि जोड गरेर मलाई भन्नुहुन्छ तर स्वार्थका लागि मैले कहिल्यै सम्बन्ध बनाइन । देशको राजनीतिक स्थायित्व र प्रगतिका लागि प्रचण्डको म इमानदार साथी हुँ । हामीसँग मिल्दामिल्दै प्रचण्ड काँग्रेससँग मिल्न जानुभयो । त्यतिबेला हामीलाई उहाँप्रति अविश्वास बढेकै हो । २०७३ असारमा प्रचण्डले मलाई बोलाउनुभयो । एकछिन् भेटौँ भन्नुभयो । म गएँ । त्यतिबेला केपी ओली नेतृत्वमा सरकार थियो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका लागि सल्लाह माग्नुभयो । काँग्रेसले मलाई समर्थन गर्नेभो तपाईंको भनाइ के छ, यसमा ? जिज्ञासा गर्नुभयो । साथीको नाताले सहयोग गर्न आग्रह गर्नुभयो ।
मेरो पार्टीको अध्यक्ष सरकारको नेतृत्वमा हुनुहुन्छ, कसरी तपाईंले कल्पना गर्नुभयो कि मैले अध्यक्षको सरकार ढलाएर तपाईंलाई सहयोग गर्छु भनेर ? मैले उल्टै जिज्ञासा गरेँ । यस्तो सोचाइ कसरी आयो तपाईंको दिमागमा ? प्रश्न गरेँ । ‘म प्रेसरमा छुँ । जनयुद्धको मुद्दा ब्युँताउने धम्की र दबाब आइरहेको छ’, प्रचण्डले भन्नुभयो । यो दबाब कहाँबाट आयो ? मैले जिज्ञासा गरेँ । सरकारबाट आयो ? होइन । जनताबाट आयो ? होइन । एमालेबाट आयो ? होइन । कोबाट आयो त ? काँग्रेसबाट आयो ? हो । छिमेकी भारतबाट आयो ? हो । युरोपियन युनियनका राष्ट्रबाट आयो ? हो । यो दबाबबाट तपाईं आफूलाई कसरी जोगाउनु हुन्छ ? उनीहरूले भनेको गर्नुहुन्छ कि आफैँ जोगिनुहुन्छ ? तपाईंलाई एमालेले जोगाउन सक्छ । नेपाली जनताले जोगाउन सक्छन्, सुझाएँ । । तैपनि उहाँ काँग्रेससँग गठबन्धन बनाएर सरकारमा जानुभयो । काँग्रेससँगको गठबन्धन तोडेर प्रचण्डलाई फर्काउन धेरै चरणमा छलफल भयो । ठूलो मिहिनेत गर्नुप¥यो । खासगरी म र नारायणकाजी श्रेष्ठ मिलेर छलफल चलायौँ । अध्यक्ष अ‍ोलीसँग परामर्श गरेर अघि बढ्यौँ । आखिरमा लामो समयको प्रयासपछि प्रचण्ड मान्नुभयो । पछिल्लो समय म, विष्णु पौडेल र जनार्दन शर्माको प्रयासले असोज १७ को घोषणामा पुगियो ।

अध्यक्ष प्रचण्डलाई यत्रो ‘थ्रेट’ रहेछ, अब एमालेले उहाँको सुरक्षाको जिम्मा लिन्छ त ?

पार्टी एकता भएपछि हाम्रै जिम्मा हो । सबै जिम्मा हामी लिन्छौँ, जिम्मा नलिएर हुन्छ ? काँग्रेसले प्रचण्डलाई प्रयोग गर्न खोज्यो, उहाँ डराउनुभयो । डर देखाएर काँग्रेसले प्रचण्डको सुरक्षा गर्छ ? अब प्रचण्डको सुरक्षाको जिम्मा पार्टीको हो, हामी सबै कम्युनिस्ट कार्यकर्ता र नेताहरूको हो । प्रचण्डमात्र होइन, माओवादी नेताका सुरक्षाको जिम्मा पार्टीको हो । हामी मन, बचन र विचारले एक भएका हौँ, सुरक्षा गर्छौं ।

वाम एकता कायम गराउन तपाईंले यत्रो योगदान गर्नुभयो, अब पार्टीले कस्तो मूल्याङ्कन गरिदेओस् भन्ने लाग्छ ?

छैन, मैले केही खोजेको छैन । मेरो योगदान देखिएला, मलाई केही देलान् भनेर काम गरेको होइन । म खोज्दै कम्युनिस्ट पार्टीमा गएको व्यक्ति हुँ । पुष्पलाललाई खोज्दै कम्युनिस्टमा आएँ । पार्टीको कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चा थियो, त्यतिबेला । जहाँ जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित र म थियौँ । त्यतिबेलै म पक्राउ परेँ । दुई वर्ष जेल बसेँ । पछि सम्मेलनबाट नेकपा (माले) बन्यो । म जेलबाट निस्केपछि घर गएँ । त्यहाँ केन्द्रीय कमिटीको बैठक चलिरहेको थियो । सीपी मैनाली, जीवराज आश्रित र माधवकुमार नेपाल पनि हुनुहुन्थ्यो । सीपी मैनाली महासचिव हुनुहुन्थ्यो । कहाँ काम गर्न जानुहुन्छ ? सोध्नुभयो । जहाँ पठाउनुहुन्छ त्यहीँ जान्छु भनंँ । जोड गरेर सोध्नुभयो । हाम्रो पार्टीको काम नभएको जिल्ला कहाँ छ ? त्यही पठाउनुस् भनेँ । गण्डकी, धवलागिरी भन्नुभयो । म त्यही गएँ । मेरो काम देखेर केन्द्रीय कमिटीमा पार्टीले मलाई लग्यो । मेरा निम्ति अहिले पनि म केही माग गरेको छैन । जिम्मेवारी आउँदा म जुनसुकै भूमिका निर्वाह गर्न तयार छुँ ।

कुनै बेला दुई अध्यक्ष ओली र प्रचण्ड एक–अर्काको तिखो आलोचक हुनुहुन्थ्यो, कसरी एकै ठाउँमा आउनुभयो ?

हाम्रो पार्टीभित्र माओवादीको सबैभन्दा तिखो आलोचक केपी ओली नै हुनुहुन्थ्यो । ०६२ सालमा भारत सरकार र भारतीय ‘काँग्रेस आई’ ले हाम्रा नेतालाई भारत भ्रमणका लागि निम्ता ग¥यो । त्यो टोलीमा माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनाल, अमृत बोहरा हुनुहुन्थ्यो । माधव नेपाल महासचिव हुनुहुन्थ्यो । उहाँले मलाई कार्यवाहक दिएर जानुभयो । भारतले त्यहाँ माओवादीसित वार्ताको वातावरण बनायो । यसबीच माओवादीसित वार्ता हुन्छ, वार्तामा जानुहोला भनेर माधव नेपालले भन्नुभयो । रोल्पाको घर्ती गाउँ आसपास म र युवराज ज्ञवाली गयौँ । प्रचण्ड, बाबुराम र कृष्णबहादुर महरा हुनुहुन्थ्यो । दुई दिन वार्ता गरेर छ बुँदे सहमति ग¥यौँ ।
त्यो सहमति भएपछि पार्टीभित्र र बाहिर ठूलो आलोचना भयो । संयुक्त राष्ट्र सङ्घका एक जना प्रतिनिधि नेपाल आए । मसित भेटेर सहमतिको ड्राफ्ट मागे । फोटोकपी गरेर दिएँ । अमेरिकी राजदूतले सहमतिको कडा आपत्ति जनाए । त्यसपछि वामदेवले गल्ती ग¥यो भन्ने निष्कर्ष निकालियो । पार्टीको स्थायी कमिटी बैठक बस्यो । बैठकमा मेरो बेस्सरी आलोचना भयो । पार्टीबाट कारबाही गरी निष्काशित गर्नेसम्मको कुरा उठ्यो । झलनाथ खनालले एउटा उपाय सुझाउनुभयो । काँग्रेसलाई सामेल गराएर माओवादीसित एउटा सहमति गरौँ भन्नुभयो । भारतमा गएर वार्ता गरेर सहमति गर्ने कुरा भयो । त्यतिबेला सहमतिको कडा आलोचक केपी ओली पनि हुनुहुन्थ्यो । मलाई कारबाही गर्ने पक्षमा उभिनुभयो । माधव नेपालले मलाई सहयोग गर्नुभयो । मसँग परामर्श गरेर मेरो निर्देशनमा वामदेवले सहमति गर्नुभएको हो, कारबाही गर्न मिल्दैन भन्नुभयो । त्यसपछि म कारबाहीबाट जोगिएँ ।
बाह्र बुँदे सहमति गर्ने कुरा भयो । नारायणकाजी, बाबुराम भट्टराई, कृष्णप्रसाद सिटौला र केपी ओली मिलेर १२ बुँदेको ड्राफ्ट तयार गर्नुभयो । माओवादी तयार भएपछि भारतमै १२ बुँदे सम्झौता भयो । केपी ओली पनि सम्झौतामा सामेल हुनुभयो । कारबाहीको कुरा त्यसपछि ट¥यो । अहिलेको अवस्था त समय, परिस्थितिले एक ठाउँमा ल्याएको हो । त्यसमा केही भूमिका हामीले खेल्यौँ होला । देशको आर्थिक अवस्था जर्जर छ । राजनीतिक स्थायित्व कायम गरी देशलाई निकास दिनुपर्छ भन्ने साझा बुझाई भएपछि दुई अध्यक्ष परिस्थितवश एक ठाउँमा आउनुभयो । हाम्रो प्रयास र दुई अध्यक्षको इच्छाशक्ति मिलेपछि एक ठाउँमा आउने वातावरण तयार भयो ।

सुशासन कायम गर्न र आर्थिक बाटो तय गर्न तपाईंको नेतृत्वको कार्यदलले सोमवार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो । प्रतिवेदनको सार बताइदिनुस् न ?

एक महिना लगाएर ६१ पृष्ठको ७२ बुँदे प्रतिवेदन बुझाएका छौँ । माघ ७ गते गठन भएको मेरो नेतृत्वको कार्यदलले फागुन ७ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो । भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्दै आर्थिक समृद्धिको बाटो तय गर्न सुझाव दिएका छौँ । जनताका आधारभूत समस्या समाधान गर्दै समाजवादको बाटो तय गर्ने सुझाव प्रतिवेदनमा छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटीको अवस्था कस्तो बनायो, अबको सम्भावना के छ ? जनतालाई जानकारी गराउन आर्थिक श्वेतपत्र जारी गर्न सुझाएका छौँ । देशको विकास कृषि क्षेत्रबाट शुरु गर्नुपर्छ । दुई वर्षभित्र भूमिसँग सम्बन्धित सबै समस्या समाधान गर्न सकिन्छ भन्ने कार्ययोजनासहितको सुझाव छ । कृषिलाई व्यावसायिक र औद्योगिकीकरण गर्दै दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सुझाव दिएका छौँ ।
प्रतिवर्ष विदेशबाट औद्योगिक सामानका लागि आठ खर्ब रुपियाँ खर्चिरहेका छौँ । खाद्यान्नका लागि डेढ दुई खर्बको सामान ल्याउँछौँ । यसलाई बचाउन सक्ने हो भने दुई वर्षमा नसोचेको काम हुन्छ । विद्युत् उत्पादन गरी काम गर्न सकिन्छ, प्रतिवेदनमा सुझाव छ । पाँच वर्षभित्र सबै आर्थिक कारोबार ‘क्यासलेस इकोनोमी’ मा र दुई वर्षभित्र अनलाइन प्रणालीमा लगेर सुशासन कायम गर्न भनेका छौँ ।
कर प्रणालीलाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ । सबैले कर तिर्ने वातावरण बनाउनुपर्छ । तलब खाने सरकारको, कर नतिर्ने भनेर हुन्छ ? विकासमा हातहाल्दा एकैचोटि खर्बौंको योजना आवश्यक छ । सानोतिनो विकासबाट मुलुकले छलाङ मार्न सक्दैन । अब समस्या छैन, सरकार स्थायी बनेको छ, राजनीतिक स्थायित्व कायम भएको छ । समस्या पर्दैन, विकास गर्न सकिन्छ । हामीले दिएको प्रतिवेदन र चुनावी घोषणापत्रअनुसार सरकारले काम ग¥यो भने विकास सम्भव छ । जनतालाई सेवा दिनुपर्छ । सेवा दिएर काम लिन सकिन्छ । विकासको महाअभियानमा जनताको सहभागिता चाहिन्छ । त्यो गराउन सकिन्छ । -गोरखापत्र

Loading...

Related News

रामबीरको राजीनामा : बामदेवले दिए धन्यवाद, बाबुरामले भने भ्रष्टीकरण

काठमाडौं, २४ असोज । अहिले चर्चाको शिखरमा छ काठमाडौं क्षेत्र नं ७ का सांसद रामबीर मानन्धरले घोषणा गरेको राजीनामा ।…

बैसाख ९ गते पक्का पार्टी एकता हुन्छ : बामदेव गौतम

काठमाडौं, ४ चैत । एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी