सिरियाली सेनाको कारबाहीमा कम्तीमा ९८ सर्वसाधारणको मृत्यु , कारबाही रोक्न राष्ट्रसंघको आग्रह

212 Hits

सिरिया,

सिरियाली सेनाको कारबाहीमा कम्तीमा ९८ सर्वसाधारण मारिएका छन् । राजधानी दमास्कसबाट केही किलोमिटर टाढा रहेको पूर्वी घोउटा क्षेत्रमा सेनाको कारबाहीमा ती सर्वसाधारण मारिएका हुन् । सेनाले गरेको हवाई फायर र रकेट हमलामा ती सर्वसाधारण मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । मृत्यु हुनेमा २० बालबालिका छन् । आइतबारदेखि सुरु भएको सेनाको कारबाही अहिले पनि जारी रहेको जनाइएको छ । सेनाले विद्रोहीको पकड रहेको पूर्वी घोउटालाई घेरा हालेर आक्रमण गरेको हो । सेना स्थलगत रूपमा पनि सो क्षेत्रमा अगाडि बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

राष्ट्रसंघको चिन्ता
राष्ट्रसंघले आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । सो क्षेत्र नियन्त्रणबाहिर रहेको जनाउँदै सेनालाई कारबाही रोक्न पनि राष्ट्रसंघले आग्रह गरेको छ । पूर्वी घाउटामा झन्डै चार लाख मानिस बसोवास गर्छन् । सो क्षेत्र सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा थियो । राजधानी दमास्कसबाट नजिक रहेको र विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र हो । पूर्वी घोउटामा मानवीय पीडा अन्त्य गर्न आवश्यक भएको राष्ट्रसंघको क्षेत्रीय मानवीय संस्थाका संयोजक पानोस मोउमटिजले बताए । ‘सो क्षेत्रका अधिकांश बासिन्दालाई थोरै विकल्प छ । उनीहरू आफ्ना नानीबाबु लिएर बेसमेन्ट र भूमिगत बंकरमा आश्रय लिएका छन्,’ उनले भने ।

सेनाको आक्रामक कारबाही
दुई साताअघि मात्र सिरियाली सेनाले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने अभियान सुरु गरेको थियो । सो क्रममा सयौँ सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । सो क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणको आपूर्ति सहज बनाउन केही साताअघि युद्धविराम घोषणा गरिएको थियो । यसैबीच, उत्तरी सिरियामा टर्कीका फौजविरुद्ध लडेका कुर्द लडाकुलाई सहयोग नगर्न टर्की सरकारले चेतावनी दिएको छ ।

वर्षौंपछिको विनाशकारी बम
पूर्वी घोउटामा भएको हमलालाई वर्षौंपछिकै विनाशकारी हमला बताइएको छ । सेनाले सर्वसाधारणका अतिरिक्त उनीहरूका आश्रयस्थल, बेकरी, गोदाम र खाद्यभण्डारलाई समेत निसाना बनाएको छ । सर्वसाधारणले एलेप्पोमा जस्तै अर्को विनाशकारी हमला सामना गरेको बताएका छन् । सो क्षेत्रमा सहयोग र उद्धार कार्य प्रभावित पार्न, एम्बुलेन्स अवरोध गर्न मुख्य सडकलाई समेत निसाना बनाएको दातृ निकायका कार्यकर्ताहरूले बताएका छन् । सेनाले मुख्य सडकहरूलाई निसाना बनाएको छ । आक्रमणमा सो क्षेत्रका अस्पतालहरूसमेत ध्वस्त भएकाले आकस्मिक उपचारको अभावमा मृतकको संख्या बढेको छ । प्रसूति अस्पतालसहित चारवटा अस्थायी अस्पताल ध्वस्त बनेका छन् । विद्रोहीले दमास्कसबाट सेनाविरुद्ध मोर्टार हमला गरेका छन् । तर, सेनाले तीव्र हमला गरेको छ ।

सर्वसाधारणको दयनीय अवस्था
घोउटाभित्र रहेको हामोरिअ सहरमा सार्वजनिक गरिएको भिडियोमा हवाई हमलामा कम्तीमा पनि २० बालबालिका मारिएको देखाइएको छ । बम आक्रमणपछि धुलोले ढाकेको ध्वस्त भवनबाट मानिसहरू ज्यान जोगाउन भागेको भिडियो दृश्य देख्न सकिन्छ । विद्रोहीको पकड रहेको सो क्षेत्र गम्भीर अवस्थामा रहेको अन्तर्राष्ट्रिय दातृ निकायका संगठनहरूले डिसेम्बरमा जनाएका थिए । सो क्षेत्रमा खानेकुरा, इन्धन र औषधिको अभाव रहेको ती संगठनहरूले जनाएका थिए ।

दातृ निकायले बढाइचढाइ गरे
पूर्वी घोउटाको अवस्थालाई अन्तर्राष्ट्रिय दातृ निकाय र सञ्चारमाध्यमहरूले बढाइचढाइ गरेको रसियाली विदेशमन्त्री सर्जी लाभरोभले आरोप लगाएका छन् । ‘पूर्वी घोउटा र इड्लिबमा मानवीय समस्याको विषयलाई निकै उत्तारचढाव गरिएको छ,’ विदेशमन्त्री लाभरोभको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सिरियाको गृहयुद्धलाई लिएर अन्तर्राष्ट्रिय समुदाय विभाजित छ । रसियाले सिरियाका राष्ट्रपति बसार अल असदको सेनालाई समर्थन गर्दै विद्रोहीविरुद्ध कारबाही गरेको छ । अमेरिकाको समर्थन विद्रोहीलाई छ ।

Loading...

Related News

देशको नाम फेर्ने पक्षमा ९० प्रतिशत जनमत

म्यासेडोनिया : म्यासेडोनियाको नाम ‘नर्थ म्यासेडोनिया’भनेर परिवर्तन गर्न भनी भएको जनमत संग्रहमा ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा…

रोमन क्याथोलिक पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

काठमाडौं, २८ भदौ । जर्मन  रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी