एमाले माओवादी पार्टी एकीकरणको घोषणा फागुनभित्रै : यस्तो छ तयारी
काठमाडौं, ९ फागुन ।
नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुने निश्चित भएपनि कहिले हुने भन्ने अझैं ठोस भएको छैन ।
दुई पार्टीबीच एकीकरण गर्ने सहमति भइसकेको छ । आइतबार राती वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी एक हुने घोषणा गरिसकेका दुई पार्टीले एकीकरणको घोषणा भने फागुन भित्रै गर्ने गरी तयारी शुरु गरेका छन् ।
पार्टी एकताको लागि वैचारिक सांगठनीक र प्रक्रियागत तयारी मिलाउनुपर्ने भएकाले एकता संयोजन समितिको बैठकबाट दुई भिन्नै कार्यदल बनाएर उकीकरणको तयारी गरिएको छ ।
अन्तिम तयारी गर्न गठन गरिएका दुई कार्यदलमा राजनीतिक कार्यदल र विधान तथा संगठनात्मक कार्यदल रहेका छन् ।राजनीतिक कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त रहेका छन् भने माओवादी बाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल, देवेन्द्र पौडेल रहेका छन् ।
त्यसैगरी विधान र संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ रहेका छन् भने माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव रहेका छन् ।
दुबै कार्यदलले आफ्नो जिम्मामा परेको कार्यभार छिटो टुंग्याएर एकता संयोजन समितिमा पेश गर्नेछन् र संयोजन समितिले पारित गरेपछि एकीकरणको औपाचारिक कार्यक्रममार्फत घोषणा गरिनेछ ।