सर्वोच्चको आदेश पछि बन्ने भयो धनगढी–अत्तरिया ६ लेन सडक

116 Hits

धनगढी, ९ फागुन ।

सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण डेढ महिनादेखि अवरुद्ध धनगढी–अत्तरिया ६ लेन सडक निर्माण आयोजनाको काम सुचारु गर्ने बाटो खुलेको छ । सर्वोच्चले मंगलबार उक्त मुद्दाको अन्तरिम आदेश दिइरहन नपर्ने फैसला गरेपछि आयोजनाको काम सुचारु गर्न बाटो खुलेको हो ।

मुआब्जाको दाबीसहित सडकको क्षेत्रभित्र बनेका संरचना हटाउने कार्य रोक्न माग गर्दै स्थानीय १३ जनाले मुद्दा हालेपछि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण डेढ महिनादेखि आयोजनाको काम अवरुद्ध थियो । उक्त मुद्दामा सर्वोच्चले गत पुस १९ मा सडक क्षेत्रभित्रका संरचना हटाउने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो ।

मंगलबार भएको बहसपछि अदालतले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश दिएको धनगढी मोहना–अत्तरिया ६ लेन सडक आयोजना प्रमुख मनिषकुमार शाहले बताए । ‘अन्तरिम आदेशले संरचना हटाउने कार्य रोकिदा आयोजनाको काम अवरुद्ध भएको थियो ।’ शाहले भने, ‘काम सुचारु गर्ने बाटो खुलेको छ । १, २ दिनभित्रै सडक क्षेत्र खाली गर्ने कार्य सुरु गर्छौं ।’

६ लेन सडक आयोजना कार्यालयले सडकको ५० मिटर चौडा क्षेत्रभित्र बनाइएका घरलगायतका संरचनाहरु भत्काउन शुरु गरेपछि त्यसलाई रोक्न माग गर्दै स्थानीय १३ जनाले पुस १६ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । मुआब्जा विना संरचना हटाउन नहुने माग स्थानीयको थियो ।

सरकारी मापदण्डअनुसार राजमार्ग सडकको ५० मिटर चौडा रहेकाले उक्त क्षेत्रभित्र बनेका संरचना हटाउन आग्रह गर्दै सुचना जारी गर्दा घरधनीले अटेर गरेपछि आयोजना कार्यालयले घर भत्काउन शुरु गरेको थियो । सुरक्षाबारे स्थानीय प्रशासनसंग समन्वय गरेर सडक क्षेत्रमा बनेका घर भत्काउने कार्य सुचारु गरिने आयोजना प्रमुख शाहले बताए ।

सडक क्षेत्रभित्र पर्ने करिब डेढ सय घरमध्ये धेरै घरधनीले आफैले घर भत्काईसकेका उल्लेख गर्दै आयोजना प्रमुख शाहले सडक क्षेत्र खाली गर्ने रोकिदा काम पनि अवरुद्ध भएको बताए । उनले भने, ‘सडक क्षेत्र खाली गर्न नसक्दा विद्युत र टेलिफोनका पोल सार्न सकिएको थिएन । पोल सारेर सडकको पुरै क्षेत्र खाली नहुँदा नसक्दा आयोजनाको काम रोकिएको थियो । अब कामले तीब्रता पाउँछ ।’
काम सुस्त, प्रगति न्यून

दुई वर्षभित्र निर्माण गरिसक्ने गरी गत जेठमा निर्माण सम्झौता भएको आयोजनाको कामले हालसम्म गति लिन सकेको छैन । सम्झौता भएको ९ महिनासम्म १० प्रतिशत भन्दा कम काम भएको छ । केही ठाउँमा मुख्य सडकका लागि नाली निर्माण गर्ने र माटो भरानको काममात्र भएको छ ।

एक अर्ब ६८ करोड रुपैया लागत रहेको आयोजनाको काम ३ खण्डमा छुट्याएर भईरहेको छ । भौतिक प्रगति नभएपछि आयोजनाको वित्तिय प्रगति पनि न्यून छ । पेश्कीसमेत गरि हालसम्म करिब २४ करोड रुपैयामात्र खर्च भएको छ ।

सडक क्षेत्रभित्र पर्ने रुख कटान आदेश भदौमा मात्र प्राप्त भएकोले निर्माणको काम ढिलो गरि शुरु हुँदा पनि प्रगति न्यून रहेको आयोजना कार्यालयले जनाएको छ । ‘समयमै काम शुरु हुन सकेन, अहिले सडक क्षेत्र खाली गराउन नसक्दा कामले तीव्रता पाउन सकेन ।’ आयोजना प्रमुख शाहले भने, अहिलेसम्म कम्तीमा ३० प्रतिशत काम भईसक्नुपर्ने हो । हालसम्मको प्रगति हेर्दा आयोजनाको निर्माण अवधि लम्बिने देखिन्छ ।’

धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव २ किलोमिटर लम्बाई रहेको ६ लेन सडक अन्तरगत मुख्य सडकको चौडाई रहने ३२ दशमलव २ मिटर रहने छ ।

पोल हटाउन बजेट अभाव

६ लेन सडक आयोजना अन्तरगत धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्म पर्ने विद्युत र टेलिफोनका पोल तथा खानेपानीका पाईप सार्न बजेट अभाव भएको छ । साढे ६ सय पोल र खानेपानीका पाईप सार्न ९ करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

पोल सार्न ६ करोड रुपैयामात्र बजेट आएकाले टेण्डर प्रकृया अगाडि बढ्न नसकेको आयोजनाका ईन्जिनियर प्रविन चौधरीले बताए । ‘मुद्दा विचाराधिन रहे पनि पोल सार्न टेण्डर गर्न सकिन्थ्यो । तर पोल सार्न लाग्ने पुरै बजेट नआएकाले डेण्डर प्रकृया अगाडि बढाउन सकेका छैनौं ।’ उनले भने ।

कालोपत्रे सडकको छेउमा रहेका विद्युत पोल सडकको बीचको बिन्दुदेखि दाया–बाया २४, २४ मिटरमा र टेलिफोनका पोल २५, २५ मिटरमा सारिने छन् ।- नयाँ पत्रिकाबाट

Loading...

Related News

१५ महिना ढिला सकियो नारायणगढ–मुग्लिन सडक, पहिरोको जोखीम कायमै

चितवन, १३ साउन । अन्तत : १५ महिना ढिला गरी ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैतमा…

यसरी थाहा पाइन्छ नारायणगढ–मुग्लिन सडक बन्दको सूचना

चितवन १२ असार । नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी