प्रचण्डको सम्वोधन : किरण, विप्लव सबै बाम जुटौं (भिडियो)

144 Hits

 

२०५१ साल फागुन १ गते जनगणतन्त्र स्थापना गर्ने र नेपाली समाजलाई समाजवादसँगै साम्यवादको दिशामा अगाडि बढाउने उद्देश्यका साथ विद्रोहको झण्डा उठाएको २३ वर्ष बितेछ । हामी भर्खरको युवा हुँदा जनयुद्ध गर्ने, सशस्त्र संघर्ष गर्ने, सामाजिक परिवर्तनको निम्ति हतियार उठाउने जमर्को २०४६ सालको ऐतिहासिक जनआन्दोलनभन्दा अगाडि नै गरेका थियौँ । तर, देशको राजनीतिक परिस्थिति, तत्कालीन निरंकुश पञ्चायतकाविरुद्ध सम्पूर्ण तागतको साथ सबै राजनीतिक दलहरू मिलेर आन्दोलन गर्नुपर्ने थियो । त्यसकारण, अहिले के सम्झिएको छु भने– म त्यतिबेला भर्खरै सानो पार्टीको महामन्त्री थिएँ । देशमा सशस्त्र संघर्ष सुुरु गर्ने कि ? ठूूलो जनआन्दोलनमार्फत् सहभागी हुने भन्ने गम्भीर प्रश्न खडा भयो ।

त्यतिबेला केही हतियार जम्मा गरिएको र तालिम लिइसकिएको थियो । म नै सशस्त्र संघर्षको प्राविधिक प्रमुख पनि थिए । पार्टीको पनि प्रमुख भएपछि हाम्रो अगाडि प्रश्न खडा भयो । छापामार युद्ध सुरु गर्ने कि ? जनआन्दोलनमा सहभागी भएर पञ्चायत ढाल्ने ? मैले त्यतिबेला सोचेर पार्टीमा प्रस्ताव गरेँ– यतिबेला छापामार युद्ध गर्नु भनेको पञ्चायतलाई सहयोग गर्नु सरह हो ।

किनकि हामीले तुरुन्तै छापामार युद्ध सुरु गरेको भए जित्न सकिँदैन थियो । त्यतिबेला जनता पञ्चायत ढाल्ने मुडमा आइसकेका थिए । सबै राजनीतिक दलहरू पञ्चायतविरोधी आन्दोलनको पक्षमा छन् । त्यसकारण सशस्त्र संघर्ष गर्ने एजेन्डालाई थाँती राखेर पञ्चायत कांग्रेस, तत्कालीन माले, अन्य विभिन्न पार्टीहरू मिलेर संयुक्त रूपमा जनआन्दोलन र वाममोर्चा हुँदै हामी पनि सहभागी भयौँ ।

०४६ सालको जनआन्दोलनबाट निर्दलीय निरंकुश पञ्चायती तानाशाही व्यवस्था सदाका लागि अन्त्य भयो । देशमा बहुदल आयो । बहुदल आउने बित्तिकै बहुदल नै सबै चिज हो भने जसरी कुप्रचार गरियो । त्यतिबेला हामी बहुदल केही पनि होइन भनेर भ्रम चिर्न लाग्यौँ । हामीले राजतन्त्र, सामन्तवाद, विदेशी हस्तक्षेप कायमै रहेकाले बहुदल आउँदैमा जनताका समस्यामा खासै तात्विक फरक पर्ने वाला छैन भन्यौँ । जनतालाई धेरै ठूलो परिवर्तन आयो भन्ने लागेको थियो । हामीले धोका हो भनेर त भन्यौँ तर धोका नै हो भनेर जनतालाई बुझाउनका लागि हाम्रो तागतले सक्ने स्थिति थिएन ।

हाम्रो सानो समूह जनतालाई बुझाउने हैसियतमा थिएन । त्यतिबेला लाखौँ करोडौँ जनता पञ्चायतको जित नै ठूलो जित हो भनिरहेका थिए । त्यतिबेला फेरि एउटा प्रश्न खडा भयो सानो समूहको पार्टी र महासचिवको हैसियतले मेरा सामू । मैले त्यतिबेला जनता जहाँ छन् त्यही बस्नुपर्छ भनेर भने । केही मान्छेले चाहेर मात्रै क्रान्ति हुने होइन, क्रान्तिको निम्ति जनता चाहिन्छ र जनतालाई बुझाउनु पर्छ । जनताबिना क्रान्ति हुँदैन भन्ने निष्कर्षसहित संसद्मा जाने निर्णय गर्‍यौँ । संसद्मा गएर जनतालाई भन्नुपर्छ भनेर गयौँ । जनताको सामान्य जीवनमा, राष्ट्रियताको पक्षमा जनजीविका र जनतन्त्रको पक्षमा केही उपलब्धि भएन भनेर निर्वाचनमा सहभागी भई संसद्को राष्ट्रममा गएर चर्को स्वरले भन्नुपर्छ अनि मात्रै जनताले थाहा पाउनेछन् ।

हामीले चाहेजस्तो परिवर्तन भएको रहेनछ । हामीले त अर्को आन्दोलन पो गर्नुपर्ने रहेछ भन्ने जनतालाई बुझाउनु पर्छ भरे निर्वाचनमा पनि गयौँ । त्यतिबेला समान विचार भएका कम्युनिष्टहरूबीच एकता हुन पनि जरुरी छ, एउटा सानो समूहले क्रान्ति गर्छु भन्ने रहर गरेर मात्रै हुने पनि होइन । क्रान्ति खेलभाड होइन । केही युवाहरूको जोश मात्रै पनि क्रान्ति होइन भनेर लेनिनका पुस्तकहरू, माक्र्स, एंगेल्स, माओत्सेतुङका विचारहरूमा हामी खुब छलफल गथ्र्यौँ । त्यतिबेला हामी संसद्मा गयौँ ।

केही मान्छेहरूले भन्ने गरेका थिए, यो पार्टी संसद्मा पनि गयो, दक्षिणपन्थीहरूसँग एकता पनि गर्‍यो भनेर सिद्धियो भन्ने गरेका थिए । हामीले त्यतिवेला एकताकेन्द्र बनाएका थियौँ । हामीले सानो समूहबाट होइन पार्टी एकता गर्दै ठूलो बहसमा गएर जनतालाई बुझाएर मात्रै क्रान्तिको पक्षमा बोल्न र जनमत संकलन गरी क्रान्ति सम्पन गर्न सकिन्छ भनेर गएका हौँ । तर, केही मान्छेहरूलाई पत्यार लागेको थिएन । केहीलाई यो क्रान्ति गर्न गएको होइन, संसद्वादतिरै गएको हो डुब्यो अब पार्टी भनेर केहीले कडा आलोचना पनि गरे ।

त्यतिबेला हामी ५ वर्ष संसद्मा रहँदा नयाँ जनवादी क्रान्ति जिन्दावाद भनेर रोष्ट्रमबाट नारा लगाएका थियौँ । पाँच वर्षको संसदीय संघर्षले जनयुद्धको निम्ति वातावरण बनायो । त्यसको पाँच वर्षपछि मात्रै हामीले जनयुद्ध सुरु गरेको हो । हामीले गरेको परिस्थितको विश्लेषण सही भएकाले नै जनयुद्ध टिक्यो । वस्तुगत र आत्मगत रूपमा नै सहि सावित भएकाले जनयुद्ध विस्तारित हुँदै गयो । जनयुद्धले शक्ति आर्जन गर्दै गएकाले हामी संसद्वाद र दक्षिणपन्थी भासमा डुबेनौँ । इतिहास साक्षी छ–संसद्मै रहेर पनि हामीले क्रान्तिलाई अगाडि बढायौँ ।

अहिले जनयुद्ध र जनआन्दोलन आपसमा समायोजित भएकाले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आयौँ । संविधान निर्माण गरेर उत्पीडित जाति क्षेत्र समुदायलाई केही अधिकारहरू दिइएको छ । उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने ठाउँसम्म हजारौँ सहिदको रगतको मूल्यमा र लाखाैँ जनताको योगदानमा अहिलेसम्म आइपुगेका हौँ । २०औँ शताब्दीको अन्त्य र २१औँ शताब्दीको सुरुभएसँगै हामीले गरेको जनयुद्ध महान क्रान्ति थियो ।

मान्छेले हामीलाई घोषणा गरेका थिए– दुईचार महिनामा ध्वस्त हुन्छन् भनेर । कोहीले ६ महिना त कोहीले वर्ष दिनमा यिनीहरूको युद्ध सकिन्छ सबै मारिन्छन् भनेका थिए । कतिपय हाम्रा पूराना साथीहरूले पनि होनाहार युवाहरू थिए मर्ने भए भनेर चिन्ता व्यक्त गरेका थिए । तर, हाम्रो आन्दोलन मरेन । हाम्रो आन्दोलन बरु जन्मियो, हुर्कियो, बढ्यो, विस्तारित भयो र नेपालमा राजनीतिलाई नै नयाँ दिशा दिने केन्द्रभागसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउने ठाउँसम्म आइपुग्यो ।

हाम्रा घुम्ती र मोडहरूमा रहेर रणनीति र कार्यनितिमा फेरबदल गर्‍यौँ । परिस्थितिको ठिकठिक मूल्यांकनको आँकलन गरी कठोर निर्णय लिने काम पनि गर्‍यौँ । कहिले अगाडि बढ्ने कठोर निर्णय त कहिले पछाडि हटेर बचाउने कठोर निर्णय पनि चाल्यौँ । एकथरी मानिसहरू अगाडि बढेर मात्रै क्रान्ति पूरा हुन्छ भन्छन् त्यो एकांकी विचार र सोच हो । दुनियाँमा अगाडि बढेर मात्रै कहीँ पनि क्रान्ति पूरा भएको छैन । पार्टी र नेतृत्वले आवश्यकता पर्दा पछाडि हटेर शक्ति संचय गर्ने र फेरि अगाडि बढ्ने तरिकाबाट नै क्रान्तिहरू सम्पन्न भएका छन् ।

अहिलेको परिवर्तनमा जनयुद्धको देन छ । म यो कुरा किन भन्दैछु भने आजको दिनमा नेपाल नयाँ क्रान्तिको युगमा छ । हामी नयाँ जनवाद जिन्दावाद होइन, समाजवाद जिन्दावादको नारा लगाएर नेपाली समाजका क्रान्तिका अधुरा कामहरू, सहिदका अधुरा सपनाहरू, बेपत्ता योद्धा र घाइते अपांगता भएका र नेपाली जनताको अधुरा सपनाहरू पूरा गर्ने अभियान नयाँ समाजवादी अभियानको तरिकाद्वारा अगाडि बढाउन चाहन्छौँ । जसका लागि ठूलो दायरा, धेरै जनता र धेरै कार्यकताको आवश्यकता परेको छ । अब धेरै ठूलो मलिलो जमिन चाहिएको छ ।

त्यसका निम्ति नेपालका सबै कम्युनिष्टहरू एक ठाउँमा ल्याउने र ति सबैको केन्द्र बनाउने भूमिका हामीले पूरा गर्नुपर्ने छ । त्यो नगरी समाजवाद जिन्दावाद भन्नुको कुनै अर्थ र औचित्य छैन । नेपालको परिवर्तन चाहने, आफूलाई वामपन्थी प्रगतिशील भन्नेहरू सबैको नेतृत्वमा तागत संकलन गरेर मात्रै सिंगो देश र करोडौँ जनतालाई एकतावद्ध गरेर मात्रै समाजवाद आउँछ ।

इतिहासका सबै घुम्ती, मोड, पीडा र मर्महरू स्मरण गरी निरन्तर अगाडि बढ्ने प्रतिबद्धता पनि जनाउन चाहन्छौँ । त्यसो गर्दा वैज्ञानिक नभई, वस्तुवादी नभई, परिस्थितिको ठिकठिक आँकलन नगरी क्रान्ति गर्छु भन्यौँ भने त्योभन्दा दुर्भाग्य अरु केही हुँदैन । देशका आफूलाई कम्युनिष्ट भन्नेहरू र क्रान्तिका हिमायती भन्नेहरूलाई एउटा बलियो कम्युनिष्ट पार्टी बनाउने दिशामा अगाडि बढ्न आह्वान गर्न चाहन्छु । मलाई खुसी छ–यो प्रक्रिया अगाडि बढ्दैछ ।

हामी दुई वटा पार्टी एकताको छलफलमा छौँ । हाम्रो कुरा हुँदा हामीले के भनेका थियाैँ भने र अर्को पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले के कुराको महत्व स्वीकार्नुभएको छ भने– ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको ऐतिहासिक भूमिका थियो र छ । र, जनयुद्ध दिवसकै दिन पार्टी एकतालाई टुंग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेर हामीले भनेका छौँ ।’ हाम्रो कोशिस छ सकेसम्म आज नै टुंगोमा पुगोस् । र, सम्पूर्ण प्रतिक्रियावादी र साम्राज्यवादीको चुनौती नेपालबाट हटाउन सकियोस् ।

म कमरेड विप्लवलाई त्यस्तो दिवासपनाबाट बुउँझिन आग्रह गर्छु । दिवा सपना देखेर मात्र केही हुँदैन, सपना धरातलमा टेकिएको हुनुपर्छ, विज्ञानमा आधारित हुनुपर्छ । रहर र लहडबाट क्रान्ति हुँदैन । यदि त्यस्तो हुन्थ्यो भने दुनियाँ अर्कै ठाउँमा हुन्थ्यो । त्यसका म कमरेड विप्लवलगायतलाई एकठाउँमा बसेर छलफल गर्न र एउटा शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर राष्ट्रलाई एकतावद्ध गर्न अपिल गर्न चाहन्छु ।

झण्डै तीन करोड नेपालीलाई सँगै आवद्ध गरी समाजवादको यात्रमा अघि बढ्ने महान् अभियानमा संलग्न हुन सबैमा अपिल गर्न चाहन्छु । मेरा गुरु कमरेड किरणलाई भन्न चाहन्छु, द्वन्द्वात्मक भौतिकवाद के हो ? अदिभूतवाद के हो ? कितावमा द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे र पढे । जीवनमा द्वन्द्वात्मक भौतिकवाद लागू गर्ने के चिज हो भन्ने कुरा रियलाइज गरेर जनता जहाँ छन् त्यहाँ जाने हो । माक्र्सवादको चुरो कुरो नै त्यही हो । माओत्सेतुङले त अझ माक्र्सलाई नै मुख्य कुरा हो भन्नुभयो । अब त उहाँहरू जनता छाडेर जान थाल्नुभएको छ । जनतादेखि भाग्ने । अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनीकन घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवासपनाबाट ब्युँझिन म अपिल गर्न चाहन्छु । मेरो यो उहाँहरूलाई गम्भीर र हार्दिक अपिल पनि हो ।

नेपालमा समृद्धि पनि समाजवाद पनि हामी एक साथ अगाडि बढाउने असाधारण परिस्थिति यतिबेला नेपालमा छ । यसलाई भत्काउनका लागि संसारभरका साम्राज्यवादी, प्रतिक्रियावादीहरू अहिले लागेका छन् । तपाईंहरू साम्राज्यवादको पक्षमा कि जनताको पक्षमा ? भन्ने कुरा तपाईंको व्यवहारबाट टुंगिने कुरा हो । तपाईं यो महान् अभियानमा जुटेर समाजवादको अभियानमा लाग्नुभयो भने तपाईं जनताको हुनुभयो । यसलाई भत्काउन चाहने, कम्युनिष्टहरू एकतावद्ध नहुन्, वामपन्थीहरू एकतावद्ध नहुन् भन्ने चाहने प्रतिक्रियावादीलाई फाइदा पुग्ने पुर्‍याउने गरी काम गर्नुहुन्छ भने तपाईले जतिसुकै चर्का कुरा गरे पनि तपाई जनताको मान्छे होइन । विज्ञानले त्यही भनेको छ । त्यसकारण म फेरि एकपटक बनेको वातावरण र पाएको अवसर नगुमाउन अनुरोध गर्छु ।

यस्तो अवसर र वातावरण सधैँ आउँदैन । हामीलाई पनि २०४६ सालभन्दा अगाडि नै जनयुद्ध गरेर क्रान्ति गर्ने मन थियो, रहर थियो । तर, रहरले हुँदोरहेनछ । ०५२ साल फागुन १ नै पर्खिन पर्‍यो । एकता केन्द्र नै बनाएर जान पथ्र्यो । अहिले पनि कुरा त्यही हो । नियम विज्ञान त्यही नै हो । त्यसकार म सबै यो अवसर नगुमाउन चाहन्छु । यस महान् दिनमा नयाँ क्रान्तिको नेतृत्व गर्ने फेरि अवसर हामीलाई आएको छ । नेतृत्व भन्ने कुरा दिनुपर्छ भनेर पाइने होइन । आफ्नो सक्रियता, क्षमता, त्याग र तपस्याद्वारा लिनुपर्ने कुरा हो । हामीले गरेको जनयुद्ध, त्यसपछिको जनआन्दोलन र त्यसको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र हामीले नै प्रस्ताव गरेको वाम गठबन्धनसँगै पार्टी एकता एउटा अवसर हो । यसलाई गुम्न नदिऊँ ।

Posted by Ycl Nepal on Monday, February 12, 2018

Loading...

Related News

प्रचण्डले भने-‘सबैको साथ नभएको भए परिवार नै बिघटनमा जानसक्थ्यो’

काठमाडौं, ३ मंसिर- नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाश दाहालको निधनको दुखद परिस्थितिमा…

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी