माओवादी-एमाले एकता संयोजन समितिको बैठक आज, एकताबारे आजै टुंगो लगाइने

306 Hits

काठमाडौं, २६ माघ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमति अनुसार आज एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।
बैठकमा पार्टी एकता, सरकार गठन र नेतृत्व र विचारमा नमिलेका विषयहरुबारे पनि छलफल गरी थप कार्यदल निर्माण गरिने बताइएको छ

बैठकमा एकतासम्बन्धी कार्यप्रगति समीक्षा गर्दै आगामी कार्यभारबारे छलफल गरिने बताइएको छ ।  बिहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ललितपुरको मानभवनस्थित एक निजी निवासमा एक्लाएक्लै वार्ता भएको थियो । उक्त वार्तामा दुवै अध्यक्षले संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने निर्णय गरेका हुन् ।

एकता समितिको १८ माघको बैठकले दुई अध्यक्षबीच अझै छलफल गर्ने, समितिका नेताहरूबीच पनि अनौपचारिक छलफल गर्ने र समितिको बैठक बसेर कार्यदल गठन गरी एकता प्रक्रिया टुंग्याउने छलफल भएको थियो । बिहीबार दुई अध्यक्षबीच सैद्धान्तिक र भावनात्मक विषयमा छलफल केन्द्रित भएर संयोजन समितिको बैठक बोलाइएको महराले बताए । बिहीबारको छलफल त्यसैको निरन्तरता भएको उनले बताए । ‘पहिलेका बैठककै निरन्तरतास्वरूप छलफल भएको हो, ठ्याक्कै निष्कर्षमा आज पनि पुगिएको छैन । छलफल अझै जारी छ’, उनले भने, ‘थप छलफल गर्न एकता संयोजन समिति बैठक बोलाइने छ।’

एमालेका एक नेताका अनुसार ओली र प्रचण्डबीच सरकार निर्माण र पार्टी एकताका विषयमा गोप्य छलफल भएको हो । पछिल्लो समय पार्टी एकताका विषयमा फरक विचार बाहिर आएको भन्दै दुवै नेताले गठबन्धन बन्दा निर्वाचनमा पुगेको फाइदालाई मध्यनजर गरेर यसलाई दिगो बनाउन दुवै दल गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

दुवै नेताले सरकार निर्माण गर्दा कुन पार्टीको कति जना मन्त्री बनाउने भन्ने विषयमा पनि संयोजन समितिमा छलफल गरेर टुंगोमा पुग्ने सहमति गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै अब बन्ने सरकार र एकीकृत पार्टीको मोडालिटीका विषयमा थप छलफल गर्न एकता संयोजन समितिको बैठक बस्नुपर्ने अध्यक्षद्वयको निष्कर्ष छ ।

एमाले सरकार निर्माणपछि पार्टी एकता गर्नुपर्ने पक्षमा छ । पहिला सरकार गठन गरेर मात्रै पार्टी एकता गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिएका छन् । तर, माओवादीले सरकार निर्माणसँगै पार्टी एकता प्रक्रिया पनि अघि बढाउनुपर्नेमा जोड गरिरहेको छ ।

पार्टी एकता सरकार गठनअघि सम्भव नभए पनि पार्टी एकताको खाका पहिला नै तयार गर्नुपर्ने अध्यक्ष प्रचण्डले प्रस्ताव गरेपछि ओली त्यसमा सहमत भएका हुन् । नयाँ बन्ने सरकारको प्रधानमन्त्रीका साथै एकीकृत पार्टी अध्यक्ष पनि ओली आफैं हुन खोजेका छन् । तर, माओवादीले प्रधानमन्त्री र एकीकृत पार्टी अध्यक्षमा रोजेर एक लिनुपर्ने र छोडेको पद आफूले पाउनुपर्ने दाबी प्रस्तुत गर्दै आएको छ ।

पार्टी एकतापछि सरकारको नेतृत्व गर्ने नेताले पार्टीको नेतृत्व अर्कोलाई दिनुपर्ने माओवादीको मागका विषयमा पनि ओली केही लचक भएको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ । आआफ्नो अडानमै रहिरहने हो भने पार्टी एकता सम्भव नहुने भन्दै दुवै नेताले सरकार गठन र पार्टी एकता प्रक्रिया टुंगोमा पु-याउने विषयमा थप छलफल गर्न संयोजन समितिलाई जिम्मा दिने सहमति गरेका हुन् ।

दुवै नेता संयोजन समितिले तयार पारेको मोडालिटीमा आफू सहमत हुने जनाएपछि सरकार गठनअघि नै एकताको खाका तयार पार्न संयोजन समिति बैठक शुक्रबार बस्ने माओवादी केन्द्रका नेता मातृका यादवले बताए । पार्टी एकता प्रक्रिया जटिल समयमा पुगेको विश्लेषण भइरहेका बेला संयोजन समितिको बैठकले थप निर्णय गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

माओवादीले सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्‍याउन जोड गरिरहेको छ तर एमाले भने सरकार गठन र एकता प्रक्रिया सँगसँगै छलफलमा लगेर टुंग्याउने बताउँदै आएको छ । -राजधानी दैनिकको सहयोगमा

 

Loading...

Related News

पार्टी एकता नभएसम्म माओवादी सरकारमा सामेल नहुने, के होला एकता ?

काठमाडौं, ४ फागुन । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने…

ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनले गर्यो दावी पेश

काठमाडौं, ३ फागुन । बाम गठबन्धनले एमाले अध्यक्ष तथा काम गठबन्धनका नेता के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेबी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी