कांग्रेसको महासंकट- रामचन्द्र पोख्रेल

203 Hits

२०१५ सालको ‘आमचुनाव’मा दुई तिहाइ स्थानमा विजय हासिल गरी ‘प्रजातान्त्रिक समाजवादी’ नीति कार्यान्वयनको दिशामा अघि बढेको बीपी कोइराला नेतृत्वको सरकारलाई कामै गर्नै नदिई डेढ वर्षमै ‘कू’ गरियो ।

त्यसको ठिक ५९ वर्षपछि सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसले वाम गठबन्धनबाट भारी पराजय व्यहोर्दै अहिलेसम्मकै गम्भीर परिस्थितिबाट गुज्रँदैछ । २०१५ सालको आमचुनावमा नेपाल कम्युनिष्ट पार्टीले ४ स्थानमात्र ल्याउन सफल भएको थियो । भरत शमशेर नेतृत्वको गोरखा परिषदले १९ स्थान हासिल गरी दोस्रो शक्ति बनेको थियो भने अहिले कांग्रेस गोरखा परिषदको हैसियतसम्म पनि पुग्न नसक्नु विचित्रको परिस्थित हो । त्यसबखत प्रतिनिधिसभाका लागि जम्मा १०९ क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो ।यस पटकको आमनिर्वाचनको मुखमा अप्रत्यासित तवरले एमाले र माओवादी केन्द्रबीच सम्पन्न वाम गठबन्धनको घटनाले देशको आन्तरिक राजनीतिमा मात्र नभई कूटनीतिक क्षेत्रमा समेत व्यापक तरंग पैदा गर्‍यो ।

वाम गठबन्धन घोषणापश्चात सर्वप्रथम प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ राजदूतले भेट गर्नुभयो । तर भेटघाटमा यसबारे कुराकानी भएको कुरा प्रकाशमा आएन । राजनीतिक वृत्तमा भने यो गहिरो चासोको विषय बनेको थियो । तर भेटघाट पछिका बाहिरी चर्चामा भने चिनियाँ राजदूतले वाम गठबन्धनमा चिनियाँ हात रहेको भन्ने प्रचार ‘सत्य नभएको’ र चीनको कुनै संलग्नता नरहेको भनी प्रधानमन्त्रीलाई आवश्वस्त पार्नुभयो सुनियो । त्यसैबीच वाम गठबन्धनलाई लिएर अर्को चर्चा पनि चल्यो । त्यस अनुसार वाम गठबन्धन हुनुमा भारतीय कम्युनिष्ट पार्टीहरूको हात रहेको भन्ने राजनीतिक विश्लेषकहरूमाझ कुरा भएको पनि सुनियो । साथै भारतका हिन्दु अतिवादी संस्था र दलहरूको पनि यस निर्वाचनमा गहिरो चासो रहेकोबारे टिकाटिप्पणी नभएका होइनन् ।

तत्कालीन घटनाक्रमको पृष्ठभूमिमा वाम गठबन्धनलाई हेर्दा यो मिहिन तरिकाले रचिएको दीर्घकालीन रणनीतिक उद्देश्य सहितको खेल थियो भनी अनुमान गर्न सकिन्छ ।

यसैगरी वाम गठबन्धनको राजनीतिमा केही पश्चिमी राष्ट्रका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको समेत चासो रहेको कुरा प्रचारमा आएको हो । नेपालको राजनीति भारत र चीनबीच नेपालको रणनीतिक अवस्थिति मध्यनजर राख्दै वाम गठबन्धनका सन्दर्भमा उनीहरूको चासो रहेको चर्चा पनि नभएको होइन । यसरी विभिन्न क्रिया/प्रतिक्रियाका बाबजुद नेपाली कांग्रेसले भने यस विषयमा हारको मार खपेर पनि कुनै कसैका विरुद्ध उत्तेजनात्मक प्रतिक्रिया दिएन । बरु यसलाई देशभित्रकै राजनीतिक दाउपेच र आन्तरिक खेलको रूपमा हेर्‍यो । किनभने आफ्नो नेतृत्वको सत्ताको साझेदार पार्टी माओवादी–केन्द्रबाट निर्वाचनको मुखमा आएर भएको अप्रत्यासित ‘अलगाव’ नेपाली कांग्रेसका लागि एक जबर्जस्त धक्का थियो ।

झट्ट हेर्दा वाम गठबन्धन सरल हिसाब–किताब र तात्कालिक सत्ताको लाभबाट निर्देशित एउटा घटना थियो । तापनि यसका पछाडि के कस्ता कारण र उद्देश्यहरू थिए र त्यसलाई कसरी लिने त्यो भने आन्तरिक राजनीतिको बुझ्नुपर्ने गहिरो पक्ष बनेर रहेको छ । तत्कालीन घटनाक्रमको पृष्ठभूमिमा वाम गठबन्धनलाई हेर्दा यो मिहिन तरिकाले रचिएको दीर्घकालीन रणनीतिक उद्देश्य सहितको खेल थियो भनी अनुमान गर्न सकिन्छ ।

कुनै समय नेपालको बाह्य सम्पर्क भारतीय मार्गबाट मात्र हुने गरेको अवस्था थियो । त्यतिखेर नेपालमा हरेक राजनीतिक घटनामा ‘विदेशी हात’ भन्नासाथ भारत लक्षित हुन्थ्यो । तर २०४६ सालको बहुदलीय राजनीतिको पुन:स्थापना पश्चात् नेपाल विश्वबाट ‘आइसोलेटेड’ अवस्थामा रहेन । तत्पश्चात् नेपाली कांग्रेसकै नेतृत्वको सकारबाट प्रारम्भ भई विस्तारै बाह्य सम्पर्क र सम्बन्धको विविधीकरण र विस्तारीकरण अगाडि बढ्यो । साथै छिमेकी चीन र भारतको द्रुत आर्थिक विकाससँगै दुवैसँगको द्विपक्षीय सम्बन्धमा पनि थप विकास र विस्तार प्रारम्भ भयो भने पश्चिमी राष्ट्रहरूको यस क्षेत्रमा बढ्दो अभिरुचि र ब्रिटिस उपनिवेश कालदेखिको सम्पर्कको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सक्रियतासमेत बढ्दै जानु स्वाभाविक थियो ।

त्यसैले हाम्रो देशको राजनीतिक घटनाहरूमा ‘बाह्य शक्ति’को खेल भनी राजनीति अतिरञ्जना गर्ने गरिएका पनि छन् । विशेषगरी निर्वाचनमा पराजय व्यहोर्ने पार्टीलेविजयी पार्टीका पक्षमा विदेशी चलखेल भएको देख्नु कुनै नौलो कुरा होइन । यथार्थमा मुलुक भित्रकै आन्तरिक व्यवस्थापन कमजोर हुँदा नै बाह्य चलखेलको बढी सम्भावना रहन्छ ।

यस पटकको पराजय नेपाली कांग्रेसका लागि अप्रत्यासित तथा जबर्जस्त धक्का भएको छ । यसका लाखौं कार्यकर्ताका लागि वज्रपात भएको छ । आफ्ना वरिष्ठ नेतादेखि केन्द्रीय नेतृत्वमा निरन्तर सक्रिय हस्तीहरू जो अपराजयजस्तो मानिन्थे, तीसमेत आ–आफ्ना निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट पराजित हुनु निश्चय पनि गम्भीर चोटको विषय हो । अनेक राजनीतिक दर्शन र समयचक्रको स्वाभाविक खेल भनी यसमा चित्त बुझाउन खोजे पनि यो हारको कारण भने खोजी भइरहनेछ ।

यस असफलताका कारण र जड के हुन् ? यस पछाडि को थियो ? दोषको बन्दुकनाल अर्कोतिर फर्काएर आफू चोखो बन्ने प्रयास पनि भइरहलान् । तर त्यसले लाखौं कार्यकर्ताका मनमा गुज्रिरहेको पराजयको पीडा बिर्साएर विजयको प्रकाश भने ल्याउन सक्ने छैन । बीपी कोइरालाको नेतृत्वमा अनगिन्ती सेनानीहरूको बलिदानी संघर्षले स्थापित गरेको नेपाली मोडलको ‘प्रजातान्त्रिक समाजवाद’को शिरै झुक्नेगरी भएको हारको पीडालाई हल्का किसिमबाट लिन सकिने स्थिति देखिँदैन ।

कांग्रेसले आमनिर्वाचनको परिणामलाई खेलको नियम अनुसार स्वीकार गरिसकेको छ । सरकारले आफ्नो बहिर्गमनको तालिका पनि मिलाइसकेको छ । कथं हस्तान्तरणको समय लम्बिँदै गयो भने त्यो लोकतान्त्रिक विधि र प्रक्रियाको प्रथम दाबेदार ठान्ने पार्टी नेपाली कांग्रेसको हैसियत अनुरुप हुने छैन । जे होस्, नेपाली कांग्रेसका लागि यसपटक महासंकट आएको छ । हरेक निर्वाचनमा प्रथम स्थान, नभए पनि दोस्रो स्थानमा पुग्दा संसदमा बलियो उपस्थिति रहँदै आएको परिस्थिति अब छैन ।

निर्वाचनलाई त्यस प्रकारको स्थितिबाट बचाउन र निर्वाचनलाई धनसम्पत्तिको खेल नबनाउन, स्वच्छ र सरल लोकतान्त्रिक निर्वाचन विधि तथा व्यवस्था बचाइराख्न कांग्रेसले आफै ठूलो कसरत गर्नुपर्ने अवस्था छ ।

हामीले प्रतिपक्षका कुनै एक दललाई साथ लिएर सरकार बनाउने हैसियत पनि रहेन । त्यसैले सत्ताको खेलमा खेल्ने बलियो सम्भावना पनि रहेन । हरेक आन्दोलन र क्रान्तिको अगुवा कांग्रेसको हैसियत यसरी खस्किनुमा धेरै कारण होलान् । तर सबैभन्दा शर्मनाक ‘अन्तरघाती’ खेल हो । सम्भवत: प्रत्येक आमनिर्वाचनमा अप्रत्यक्ष भोग्न थालिएको यो लज्जाजनक प्रकृति यसपटक शिर झुकाउनेगरी झन्डै खुला किसिमले प्रकट भएको छ ।

पार्टी पराजयको पीडा र अभिव्यक्ति समसामयिक लेखहरूमा पार्टीका चिन्तकहरूबाट आउन थालेका छन् । राजधानीभित्र र बाहिरबाट प्रकाशित ती लेखहरूमध्ये नेपाली कांग्रेसको पराजयको पीडाका रूपमा केन्द्रित रही धेरैले लेखेका छन् । केहीले निकै मार्मिक गहिराइ छिचोल्ने प्रयास पनि गरेका छन् । तथापि कांग्रेसको पराजयसँगै राष्ट्रिय राजनीतिमा आउन थालेको असन्तुलनबारे आउनुपर्ने विचार अझै आउनसकेको छै्रन ।

स्थानीय सरकारदेखि प्रदेश सरकार र संघीय (केन्द्र) सरकारसम्म झन्डै एकै किसिमबाट असन्तुलन देखिएको छ । त्यसैले कांग्रेसको भारी पराजयबाट पैदा हुने राष्ट्रिय राजनीतिको असन्तुलनले निम्त्याउन सक्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रभावबाट अब देशमा नसोचिएको स्थिति पनि पैदा हुनसक्ने प्रबल सम्भावना छ । वाम गठबन्धनले सत्ता सम्हालेपछि कांग्रेसले सामना गर्नुपर्ने परिस्थिति र चुनौती हामीले अहिले सोचेको भन्दा धेरै फरक ढंगले जान सक्छ । त्यस स्थितिमा नेपाली कांग्रेसले सामनागर्नुपर्ने आन्तरिक र बाह्य चुनौती आजसम्म अनुभव नगरिएको धेरै फरक एवं कठिन हुन सक्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका दुई प्रमुख जिम्मेवारी थिए । प्रधानमन्त्रीको हैसियतमा र पार्टी सभापतिको हैसियतमा । वाम गठबन्धन पश्चात् गणितीय हिसाबले वाम शक्तिसँग कडा प्रतिस्पर्धा हुने निश्चित थियो । पार्टीले अपेक्षित नतिजा निकाल्न धेरै मिहेनत गर्नुपर्ने कुरा स्पष्ट थियो । झन्डै प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने स्पष्ट लक्षण हुँदाहुँदै पनि निर्वाचनबाट कुनै हालतमा पछाडि नहट्ने संकल्प ठिक थियो । संविधान कार्यान्वयनको यो चरणमा सरकारले निर्वाचनबाट पछाडि नहट्ने अठोट जायज थियो ।

तर प्रधानमन्त्री देउवाका काँधमा पार्टी सभापतिको जिम्मेवारीसमेत रहेकाले पार्टीलाई निर्वाचनमा सम्मानजनक हैसियतमा ल्याइपुर्‍याउनु पनि उहाँको कर्तव्य थियो । जुन कुरामा उहाँ चुक्नुभयो । उहाँले हेर्दाहेर्दै नेपाली कांग्रेसको बलियो किल्ला ठानिएका जिल्लाहरूमा समेत अप्रत्यासित पराजय भोग्नुपर्‍यो । यसबाटउत्पन्न विषम परिस्थितिलाई उहाँले अब कसरी हेर्नुहोला, त्यो अहिलेलाई अनुमानकै विषय रह्यो ।

पार्टी कार्यकर्ताको मनोबलको संरक्षणमा नै पार्टीको आत्मा जीवन्त रहेको हुन्छ । लामो समयदेखि पार्टीले यस पक्षको बेवास्ता गरेको अनुभव आम कार्यकर्ताले गर्दै थिए । यस सन्दर्भमा वाम गठबन्धनको लहरले मतदाताहरूलाई हाम्रा कार्यकर्ताबाट अलग–थलग गराउन प्रयोग गरेका अनेक हत्कण्डा प्रभावी बन्न गएका हुन् । ह्रास हुँदै गएको कांग्रेस कार्यकर्ताको प्रतिरोध क्षमता बुझेर नेपाली कांग्रेसको ‘भोटबैंक’मा प्रहार गर्ने हिम्मत गरेका हुन् । त्यसमाथि वाम गठबन्धनको अज्ञात स्रोत र साधनको परिचालन कल्पनाभन्दा बाहिरको थियो ।

यसलाई कांग्रेसले मुकाविला गर्नै सक्दैनथ्यो । त्यसैले पार्टीले यसतर्फ गम्भीर भएर सोच्नुपर्ने घडी थियो र अहिले पनि छ । निर्वाचनलाई त्यस प्रकारको स्थितिबाट बचाउन र निर्वाचनलाई धनसम्पत्तिको खेल नबनाउन, स्वच्छ र सरल लोकतान्त्रिक निर्वाचन विधि तथा व्यवस्था बचाइराख्न कांग्रेसले आफै ठूलो कसरत गर्नुपर्ने अवस्था छ । यदि यस पक्षमा पार्टी चुक्यो भने बिथोलिएको आम मतदाताको मनलाई एकीकृत गरेर फेरि चारतारे झण्डा वरपर आकर्षित गर्न कठिन पर्नेछ ।

धेरै अघिदेखि उग्र वामपन्थीतिर वामशक्तिको सैद्धान्तिक भावना संख्यामा नभए पनि विचारमा अहिलेभन्दा सशक्त थियो । तर निर्वाचन जितेर पनि भित्रबाट उसले सैद्धान्तिक पराजय व्यहोर्दैछ ।

आजसम्मकै राजनीतिक इतिहासमा दक्षिणपन्थी र वामपन्थी शक्तिबीच सन्तुलन कायम राख्ने एउटा भरपर्दो लोकतान्त्रिक शक्तिको सफल भूमिका खेलेको नेपाली कांग्रेस यस आमनिर्वाचनबाट रक्षात्मक अवस्थामा खुम्चिन पुग्नु चिन्ताको विषय बनेको छ । विचार र आदर्शले मात्र राष्ट्रिय राजनीतिमा सन्तुलनको भूमिका रहन सक्दैन । देशको सर्वोच्च विधायिकामा त्यसै अनुरुप बलियो उपस्थिति रहनुपर्छ । त्यो रहेन । दोस्रो, यस निर्वाचनबाट अन्य पार्टीमा हावी भएको विकृतिबाट नेपाली कांग्रेसलाई पनि जोगाउन सकिएन ।

निर्वाचनमा भारी मतले विजयी वाम शक्तिभित्र पनि ‘राजनीतिको क्षयीकरण’ प्रारम्भ भएको छ । यसले गर्दा माओवादी केन्द्रलाई समेत आफ्नो अस्तित्व रक्षाको गम्भीर स्थिति आइपरेकै हो । विजयी प्रथम शक्ति एमालेभित्र यान्त्रिक रूपले निर्वाचन जित्ने खेलमा प्रारम्भ भएको ‘राजनीतिक क्षयीकरण’ डरलाग्दो छ । धेरै अघिदेखि उग्र वामपन्थीतिर वामशक्तिको सैद्धान्तिक भावना संख्यामा नभए पनि विचारमा अहिलेभन्दा सशक्त थियो । तर निर्वाचन जितेर पनि भित्रबाट उसले सैद्धान्तिक पराजय व्यहोर्दैछ ।

मधेस केन्द्रित दलहरूले स्थापित गर्न खोजेको मूल्य–मान्यता र आदर्श पनि यस निर्वाचनबाट अत्यन्तै कमजोर सावित भएको छ । यसरी राष्ट्रिय राजनीतिमा हैसियत राख्ने प्रमुख दलहरूभित्र आएको राजनीतिक ह्राससँगै नेपाली कांग्रेसको हार राष्ट्रिय राजनीतिकै क्षयीकरणको संकेत हो । यसले राष्ट्रलाई कहाँ पुर्‍याउला भन्न सकिँदैन । त्यसैले राष्ट्रिय राजनीतिमा बलियो सन्तुलन कायम राख्ने हैसियतको नेपाली कांग्रेसको पराजय राष्ट्रकै लागि भयंकर ठूलो क्षति नबनोस् ।- कान्तिपुरबाट
पोखरेल पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता हुन् ।

Loading...

Related News

संविधान : अाधा भरि, अाधा खाली – डा. भट्टराई

संविधान बनेकाे ३ वर्ष पुग्दैछ । त्यही संविधान निर्माणकाे मुख्य अभिभारा निर्वाह गरेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान लाई…

पत्रकार राजु वस्नेत विरुद्ध उजुरी दिने शुशीलको यस्तो बकपत्र

-सुशील खनाल- पत्रकारिताका नाममा केहीले गरिरहेको बार्गेनिङ, ब्लाकमेलिङले सिंगो पत्रकारिता नै आज नकारात्मक बनेको छ । लोकतन्त्रमा पत्रकार र पत्रकारिता…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी