बलत्कार : कारण र समाधानका उपायहरु – नारायणी देबकोटा

560 Hits

काठमाडौँ — काठमाडौं, ललितपुर र इटहरीमा भएका बलत्कारका घटनाले यतिबेला धेरैको दिमाग खलबल्याएको हुनुपर्छ । ललितपुर घटनामा संलग्न भएका दोषीलाई जिल्ला अदालतले रिहा गरिदिएको छ भने दरबारमार्ग (काठमाडौं) मा भएको घटनामा प्रहरीले नै मिलापत्र गरिदिएको समाचार बाहिर आएको छ ।

बलात्कार गर्ने क्रममा पछिल्लो तीन महिनामा मात्रै पाँचभन्दा बढी (पाँच जनाको हत्या भएको घटना समाचार माध्यममा आएको रेकर्ड हो, प्रकाशनमा नआएका अरु घटना हुनसक्छन्) महिलाको हत्या नै भएको छ । यसरी मनै हल्लाउनेगरी कहिलेकाहीं सार्वजनिक हुने बलात्कार र घटना दबाउन गरिने हत्या वा हत्या प्रयास बाहेक सरदर हरेक दिन तीनजना महिला तथा किशोरी बलात्कारमा परेको तथ्यांक नेपाल प्रहरीले केही समय अगाडि सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको उक्त तथ्यांक ती केही हिम्मतिला महिलाका घटनामात्र हुन्, जो लाज, लाञ्छना र कतिपय अवस्थामा हुनसक्ने सामाजिक बहिस्कारको जोखिमसमेत मोलेर प्रहरीकहाँ उजुरी गर्न गए र उजुरी लेख्ने ठाउँका कर्मचारीले यस प्रकारका घटनामा संवेदनशील भएर उजुरी लिए । कतिपय अवस्थामा प्रहरी कार्यालयको गेटभित्र उजुरी गर्न गएका महिला उल्टै अपमानित महसुस गर्दै फर्किन बाध्य हुने गरेका छन् । यस्तो बाध्यता घटना होइन, प्रवृत्तिका रूपमा रहेको छ, जुन दरबारमार्गको घटनामा पनि दोहोरियो । बल्ल–बल्ल दर्ता भएका घटनामा पनि थोरै महिला र किशोरीले मात्रै कानुनी न्याय पाएका छन् । अनि कानुनी न्याय पाएकामध्ये नगन्यले सामाजिक न्याय पाउने गरेका छन् ।

बलात्कारका घटना सार्वजनिक भइरहँदा आम वा सामाजिक सञ्जालमा हुने टिप्पणी, महिलाका क्षेत्रमा काम गरिरहेका संस्थाका केही थान विज्ञप्ति र कहिलेकाहीं माइतीघरदेखि बानेश्वर वा भद्रकालीदेखि शान्तिवाटिका वा बसन्तपुरसम्मका र्‍याली, अनि महिलामाथि हुने बलात्कार लगायतका हिंसा अन्त्य गर्न प्रमुख दलका नेता तथा प्रहरी प्रधान कार्यालयमा ध्यानाकर्षणपत्र पेस गर्ने र प्रभावितलाई सुरक्षित आवासमा लगेर राख्ने काम हुने गरेका छन् । जसले महिलाका मुद्दामा बोल्ने र यस्ता घटनामा परिहाले जाने ठाउँ र साथ दिने समूह छन् भन्ने भरोसा महिलालाई दिएको छ ।

बलात्कारको बुझाइ त्यही नै हो, यौन सम्बन्धका लागि एकजना मानसिक रूपमा तयार नभएको अवस्थामा अर्को व्यक्तिद्वारा गरिने व्यवहार बलात्कार हो ।

बलात्कारबारेको बुझाइ
बलात्कार केलाई भन्ने बारेमा मानिसमा द्विविधा छ । द्विविधा त्यतिबेला समस्याको रूपमा आउँछ, जब यस्ता हिंसाका प्रभावितले दबाब वा लालचमा परेर अदालतमाआफ्नो बोली फेरिदिन्छन् । अनि बहस सुरु हुन्छ, प्रेम, यौन सम्बन्ध, यौन व्यापार र बलात्कार माथिका अनौपचारिक तर कहिल्यै नसकिने बहस । प्रेम, यौन सम्बन्ध, यौन व्यापार र बलात्कार बीचमा साँघुरा तर धेरै गहिरा खाडल छन्, जसको व्याख्या गर्न हजारौं कविता, कथा, निबन्ध र उपन्यास लेखिएका होलान् । तर आम भाषामा भन्नुपर्दा मनपरेका मानिसले गर्ने हरेक प्रेमिल व्यवहार प्रेम, उक्त प्रेमिल व्यवहारभित्र यौन सम्बन्ध पनि हुनसक्छ, यौन सहकार्य बापत एक पक्षले (महिला वा पुरुष) बाट अर्को पक्षबाट लाभ लिनु वा दिनु यौनको व्यापार र मन नपरेको मानिसले वा मनपरेको मानिस भए पनि मन नभएको समयमा जबर्जस्ती गरिने यौनजन्य व्यवहार बलात्कार वा यौनजन्य दुव्र्यवहार हुन्छ । जसलाई सम्बन्ध राख्न आत्माले स्वीकार गरेको वा नगरेको अर्थमा बुझ्न सकिन्छ । केही वर्ष अगाडि एक अनलाइनले‘लिभिङ टुगेदर’ मा रहेकी एकजना लेखकले आफू आफ्नो साथीबाट बलात्कृत भएको भनी गरेको उजुरीलाई लिएर ‘मन मिल्दासम्म प्रेम, मन नमिलेपछि बलात्कार’ शीर्षकमा समाचार बनायो । बलात्कारको बुझाइ त्यही नै हो, यौन सम्बन्धका लागि एकजना मानसिक रूपमा तयार नभएको अवस्थामा अर्को व्यक्तिद्वारा गरिने व्यवहार बलात्कार हो ।
नेपालको कानुनले पनि ‘कसैले कुनै पनि महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरे निजले जबर्जस्ती करणी गरेको ठहर्छ’ भनी उल्लेख गरेको छ । पछिल्लो समय यस्ता घटनालाई स्पष्ट पार्न धेरैतिरबाट काम भएका छन् । भारतमा महिलामाथि गरिने बलात्कार तथा यौन दुव्र्यवहारका घटना र न्यायलाई केन्द्रित गरी ‘पिन्क’ र ‘अनारकली अफ आरा’जस्ता शक्तिशाली फिल्म बनेका छन् । जसले यौनजन्य व्यवहार गर्नुभन्दा पहिले उसको इच्छा सोध्न र यस्ता व्यवहार गर्दा हुन्न भनेकामा जबर्जस्ती नगर्न भनेको छ । जसमा कुनै पनि महिला भन्नाले आफ्नी श्रीमती, यौन व्यवसायी वा जोकोही पनि हुन सक्छन् ।

बलात्कारको कारण
अधिकारकर्मी डा. रेणु अधिकारीका अनुसार पितृसत्ताले सुरुवातदेखि महिलामाथि दमन गर्न उसको शरीर, श्रम र उत्पादकत्वमा नियन्त्रण गरिरहेको छ । अझै अगाडि बढेर भन्नुपर्दा महिलाको यौनिकतामा पितृसत्ता (पुरुषको मात्रै होइन) को नियन्त्रण छ । यसरी नियन्त्रण गर्नका लागि उसले विभिन्न प्रकारका धर्म, संस्कृतिको सहारामा महिलाको सारा अस्तित्व उसको योनिमा सीमित गरिदिएको छ । रामायणकी सीताको अग्निपरीक्षा होस् वा स्वस्थानी कथाकी वृन्द्राको बलात्कार होस् वा होस् महाभारत द्रौपदीको चिरहरणपछि भएको महाभारतको लडाइँ वा होस् नवदुर्गामाथि तारकासुरले गर्ने प्रेम प्रस्तावसँग जोडेर गरिएको उसको हत्या । यी सबै कथाले महिलाको शरीरको पवित्रतालाई ‘ग्लोरीफाइ’ गरिएको छ । महिलाको यौनिकतालाई सतित्व अर्थात् ‘शक्ति’का रूपमा परिभाषित गरिएको छ । प्राकृतिक रूपमा महिलाको योनि र पाठेघर शक्ति, प्रकृति र मानव जीवनका स्रोत हुन् भन्ने कुरा सही हो । तर उक्त शक्ति र मानव जीवनको स्रोतमा महिलाको नियन्त्रण कमजोर पारी एउटा वस्तुको रूपमा लिइएको र उसको सारा अस्तित्वलाई उसको एउटा अंगमा सीमित गरिएको छ ।

अझै अगाडि बढेर भन्नुपर्दा महिलाको यौनिकतामा पितृसत्ता (पुरुषको मात्रै होइन) को नियन्त्रण छ । यसरी नियन्त्रण गर्नका लागि उसले विभिन्न प्रकारका धर्म, संस्कृतिको सहारामा महिलाको सारा अस्तित्व उसको योनिमा सीमित गरिदिएको छ ।

अर्कोतर्फ महिलाका अधिकारका क्षेत्रमा चासोसहित काम गर्ने धेरैजना वा संस्था पनि बलात्कारमा घटनापछि मात्रै तातिन्छन् । केही थान विज्ञप्ति, जुलुसमा सहभागी वा केही कोठेबहस नियमित हुने गरेका छन् । जसमा थोरैमात्रै बलात्कार विरुद्ध कसरी काम गर्ने भन्नेमा स्पष्ट छन् र निरन्तर काम गरिरहेका छन् । बाँकी धेरै त बलात्कृत भएपछि महिला वा किशोरीको सबै सकिएको अर्थमै बुझ्नेहरू छन्, जो बलात्कारका घटनामा मोटो रकम क्षतिपूर्तिका रूपमा माग गर्छन् । कुनै पनि महिलामाथि गरिएको बलात्कारको क्षतिपूर्ति भनेको के हो भन्ने बारेमा कसैले स्पष्ट पार्नसकेका छैनन् । बेला–बेला बलात्कारका घटनामा विरोध गर्ने यो समूह पनि महिलाको शरीरलाई हेर्ने पुरुषवादी सोचबाट माथि उठ्नसकेको छैन ।
महिलाको शरीरलाई हेर्ने पुरुषवादी सोचबाहिर रहेर निरन्तर काम गर्ने सानो समूह यद्यपि छँदैछ । बलात्कार विरुद्ध लगातार काम गरिरहेका मानिस बलात्कारपछि पनि महिलाको जीवन हुनसक्छ, एक पटक वा पटक–पटक बलात्कारमा परेका महिलाका लागि संसार त्यत्ति नै सुन्दर हुन्छ, जति ऊ बलात्कार हुनुभन्दा अगाडि थियो भन्नेमा विश्वास गर्छन् । बलात्कार वा यौन दुव्र्यवहार हुनुमा महिलाको दोष हुँदैन । त्यसैले बलात्कारमा परेका महिलाले लाज, अप्ठ्यारो र अपमानित हुनु जरुरी छैन भन्ने धारणा यतिबेला बलियो हुँदै गएको छ । यो धारणा राख्ने संख्या सानो छैन भन्ने कुरा सामाजिक सञ्जालमा चलेको ‘मिटु’ ह्यास ट्यागले पनि स्पष्ट पार्छ । यसले यौनजन्य दुव्र्यवहार अब लुकाउने कुरा होइन भन्ने तहमा महिला पुगेको स्पष्ट पार्छ ।
महिलामाथि हुने बलात्कारको मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । जुन व्यवहार विगतमा परम्पराका नाममा धर्मशास्त्रको आडमा गरिन्थ्यो भने अहिले धर्मशास्त्र र परम्पराको आधारमा नवउदारवादी अर्थतन्त्र र त्यसका जगमा उभिएका राजनीतिक–सामाजिक व्यवहारद्वारा गरिन्छ । जसका उदाहरण गाडी व्यापार मेलामा महिला मोडललाई उभ्याउनेदेखि विभिन्न नामका सौन्दर्य प्रतियोगिताहरू हुन् ।

कानुनी अवस्था
गतवर्ष नेपाल सरकारले बलात्कार विरुद्धको कानुन केही परिमार्जन गर्‍यो । जस अनुसार बलात्कारका घटना दर्ताको समयको सीमितता ३५ दिनबाट बढेर ६ महिना भएको छ । महिलाले आफ्नो जीवनमा जुनै समयमा भएको बलात्कारको जहिले पनि मुद्दा दर्ता गर्न पाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यतामा आधारित भएर यहाँ समय बढाइएको हो । तर यो कानुन बन्नुका पछाडि उदेक, अचम्म र शंका गर्नुपर्ने केही कारण छन् । एक दशक लामो राजनीतिक संक्रमण रहेका बेला नेपालमा सामाजिक र राजनीतिक क्षेत्रमा संक्रमणकालीन न्यायका बहस चलिरहेको छ । त्यसैगरी नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाइरहँदा परिमार्जन भएको उक्त कानुनले किन बलात्कारका घटनाको समयसीमा ६ महिनामात्रै राख्यो ? ती प्रस्ताव कार्यान्वयन गर्न नेपालमा बनाइएको पहिलो राष्ट्रिय कार्ययोजनामा बलात्कार र यौनजन्य घटनाको मुद्दालाई सम्बोधन नै गरिएको छैन ।

महिलाले आफ्नो जीवनमा जुनै समयमा भएको बलात्कारको जहिले पनि मुद्दा दर्ता गर्न पाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यतामा आधारित भएर यहाँ समय बढाइएको हो । तर यो कानुन बन्नुका पछाडि उदेक, अचम्म र शंका गर्नुपर्ने केही कारण छन् ।

बलात्कार विरुद्धको कानुन पर्याप्त छैन । र कानुन निर्माण प्रक्रियामा संलग्नहरूको सामाजिक, राजनीतिक चासोको विषयका कारण ठूलो र निरन्तरको आन्दोलनपछि पनि कमजोर कानुन निर्माण भएको छ । त्यसैले अझै काम गर्नुपर्ने देखिन्छ । तर फेरि पनि बलात्कार हुनुमा महिलाको नै दोष र महिलाको नै बेइज्जती हुन्छ भन्ने मान्यताका कारण उनीहरूको घटना दर्ता नै नहुने, भए पनि पनि दोषी पत्ता नलाग्ने, दोषी पत्ता लागे पनि आवश्यक प्रमाण नपुगेको भनेर छुट्ने वा प्रभावित आफैले बोली फेर्ने समस्या विद्यमान छन् ।

समाधान के त ?
म महिला अधिकारका क्षेत्रमा काम गरिरहेका महिला र संस्थाको सञ्जालमा काम गर्छु । यस्ता घटनामा सञ्जालको कर्मचारीका रूपमा संस्थाबाट गरिने क्रियाकलाप गर्नुपर्ने जिम्मेवारीमा म पनि छु । केही थान विज्ञप्ति, जुलुस र पार्टी कार्यालयमा केहीपटक डेलिगेसन गएपछि मलाई लाग्यो, यी त बलात्कारपछि गरिने क्रियाकलाप मात्रै हुन्, जसले महिलामाथि हुने बलात्कारका घटना रोक्न सक्दैन । व्यक्ति, समाज र महिलाको शरीरलाई हेर्ने सोच बदल्न जरुरी छ ।
व्यक्तिको तहबाट हामीले महिलाको शरीर कुनै वस्तु होइन भन्ने कुरा स्वीकार्नुपर्छ, सामाजिक तहमा महिलामाथि हुने हरेक हिंसाको विरोध महिला वा महिलाको अधिकारका लागि काम गर्ने संस्थाको जिम्मेवारी मात्रै होइन, यो समग्र समाजको जिम्मेवारीको विषय हो भन्ने कुरा स्वीकार्नुपर्छ । त्यसैगरी बलात्कारमा पर्नुमा महिलाको दोष हुँदैन र बलात्कारपछि पनि महिलाको जीवन बाँकी हुन्छ भन्ने
कुरा सबैले स्वीकार गर्दै कानुनलाई अझ बल्लियो बनाउन जरुरी छ ।-कान्तिपुरमा प्रकाशीत

Loading...

Related News

परदेशबाट अायाे यस्ताे भावुक पत्र : ‘मेरो घर ! तिमीलाई दशैं आउदैन’

-भरत मरहट्टा- काकाले बनबाट बन्चरोले ताछेर डोकोभरि ल्याउनुभाको सालका लोप्रालाई छोटो-छोटो छाटी ताउलोमा हालेर “खोटो” पकाउन बसाल्दै गर्दा रातमाटा डाँडाबाट…

आइजीपी बर्खास्तीको माग : प्रधानमन्त्रीमाथिको आक्रमण

-राधाकृष्ण देउजा- नेपाल प्रहरी नेपाली जनताको जिउधनको रक्षार्थ दिन रात, बिदा र शनिबार केही नभनीकन खटिने देशप्रेमीहरुको संस्था हो ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी