ख्याल गर्नुस : यी लक्षण देखिए हुनसक्छ बच्चाहरुलाई ब्लड क्यान्सर

3650 Hits

-डा. प्रकाशनिधि तिवारी –  के तपाईंहरूको बच्चालाई २ साताभन्दा बढी समयदेखि ज्वरो आएको छ ? बच्चाले आलश्य मान्छ ? या खान मन गर्दैन ? अथवा शरीर सेतो भएर गइरहेको छ भने विचार गर्नुस् बच्चालाई एक्युट ल्युकेमिया (रक्त क्यान्सर)’ भएको हुन सक्छ । यस्ता लक्षण देखा परेको छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।
एक्यूट ल्युकेमिया एएलएल, एएमएललगायत गरी विभिन्न प्रकारका हुन्छन् । त्यसमध्येको एक हो, एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया अर्थात् एएलएल । रगतमा हुने तीन प्रकारका रक्तकोषमध्ये सेता रक्तकोष वयस्क हुन नपाई अनियन्त्रित रुपमा शरीरभरि फैलिएपछि एएलएको लक्षण देखा पर्न थाल्छन् ।

वयस्क हुन नपाएका कमसल खालका सेता रक्तकोष हाम्रो हड्डीभित्र रहेको मासीमा फैलिएमा मासीले राम्ररी काम गर्न सक्दैन । मासीले रगतमा हुने तीन प्रकारका रक्तकोष रातो रक्तकोष, प्लेटलेट र सेतो रक्तकोष बनाउँछ । मासीले काम गर्न नसकेको अवस्थामा यी तीनै रक्तकोष बन्न पाउँदैन, जसले गर्दा रातो रक्तकोषको अभावमा शरीर सेतो भएर जान्छ र रक्तअल्पता हुन्छ । प्लेटलेटको अभावमा भने शरीरका विभिन्न भागबाट रगत बग्न थाल्छन् । छालामा राता राता छिर्का तथा निला डाम देखिन्छन् ।

नाकबाट रगत बग्छ भने बान्ता या दिसा–पिसाबमा रगत जान्छ । यस्तै, खकारमा रगत जाने, मष्तिष्क, फोक्सो, मिर्गौलालगायतका भित्री अंगमा पनि रगत बग्छ ।
वयस्क सेतो रक्तकोषको अभावमा रोगसँग लड्ने क्षमता कम हुन्छ र रुघाखोकी, झाडापखाला, टाईफाइड, कमलपित्त, मेनिन्जाइटिस, कान, घाँटी, आन्द्रा तथा पिसाबको संक्रमण हुन्छ ।
कमसल खालका सेता रक्तकोष शरीरका ग्रन्थी (लिन्फनोड) मा फैलिए घाँटी, छाती तथा कलेजो फियो सुन्निन्छ भने मष्तिष्कमा फैलिए टाउको दुख्ने, बेहोस हुने, काम्ने, शरीरका विभिन्न भाग नचल्ने हुन सक्छ । हड्डीमा फैलिए हाड तथा जोर्नीहरू दुख्ने हुन्छ । यस्तै, फोक्सोमा फैलिए खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, निमोनियाका लक्षण देखा पर्ने तथा कलेजोमा फैलिए जन्डिसका लक्षण देखा पर्छन् । मृगौलामा फैलिए मिर्गौला तथा पिसाबमा खराबी देखिन थादछ ।

रोगका लक्षण :

  • २ साता या त्यसभन्दा बढी समयदेखि ज्वरो आउनु, आलस्य हुनु, खान मन नलाग्नु ।
  • पटक– पटक छोटो समयको अन्तरालमा रुघाखोकी, निमोनिया, झाडापखाला तथा अन्य संक्रमण भइरहनु ।
  • शरीर सेतो भएर जानु वा रक्तअल्पता हुनु ।
  • शरीरका विभिन्न भागमा राता टीका तथा नीला दाग आउनु
  • नाक, खकार, दिसा–पिसाबमा रगत आउनु ।
  • आँखा, मुख या घाँटी सुन्निनु ।
  • सास फेर्न गाह्रो हुनु, सास फुल्नु ।
  • हाड जोर्नी दुख्नु ।
  • हातखुट्टा लर्बराउनु, कमजोर हुनु वा नचल्नु ।
  • यस्ता लक्षण देखिए तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।

एएलएलको उपचार कसरी गरिन्छ ?
एएलएलको उपाचार केमोथेरापी वा कहिलेकाही रेडियोथेरापीबाट गरिन्छ । विशेष खालका एएलएलमा मासी फेर्नुपर्ने हुन सक्छ, जसलाई बोनम्यारो ट्रान्सप्लान्टेशन भनिन्छ । तर चिन्ता लिननपर्ने कुरा के हो भने धेरैजसो एक्युट लिम्फोप्लास्टिक ल्यूकोमिया (एएलएल) बालबालिकामा निको हुन्छ । केमोथेरापी भनेको औषधि वा विभिन्न रासायनिक पदार्थहरू मुख, नसा, ढाड या अन्य माध्यमबाट शरीरमा दिइ उपचार गर्ने प्रक्रिया हो । यस्तो केमोथेरापी ५ देखि ७ अध्यायमा दिइन्छ । बालिकाहरूमा १०४ हप्ता र बालकलाई १६५ हप्तासम्म उपचार गर्नुपर्ने हुन्छ । एएलएलको उपचार अटुट रुपमा बाल क्यान्सर विशेषज्ञको निगरानीमा गर्नुपर्छ । ‘सपोर्टिभ केयर केमोथेरापी’ एएलएलको उपचारको मेरुदण्ड हो । तर केमाोथेरापी दिँदा विभिन्न समस्या भने उत्पन्न हुनसक्छ ।
संक्रमण
उपचारका क्रममा केमोथेरापी दिँदा बालकको प्रतिरोधात्मक शक्ति कम हुन गई वा बालबालिका कमजोर भई विभिन्न प्रकारका संक्रमण हुन सक्छन् । केमोथेरापीले गर्दा वा सरसफाईको कमीले वा बालबालिकाले पोषिलो स्वच्छ–सफा नखाइदिँदा निमोनिया झाडापखाला, सेप्सिस मेनिडाइटिस, जन्डीस, पिसाब तथा आन्द्राको संक्रमण, मलेरिया तथा क्षयरोग लाग्न सक्छ । यी रोगहरू किटाणु, जीवाणु, झ्याउ, परजीवी आदिले गराउन सक्छन् । सरसफाईमा ध्यान दिनुका साथै स्वच्छ, पौष्टिक खानेकुरा खानु र विभिन्न प्रकारका एन्टिवायोटिक र अन्य औषधि दिनुपर्ने हुन्छ ।
रक्तअल्पता तथा रक्तश्राव
उपचारका क्रममा बालबालिकामा रक्तअल्पता हुनुका साथै विभिन्न ठाउँबाट रक्तश्राव हुन सक्छ । यस्तै, रगत जम्ने प्रक्रियाहरू बिग्रन सक्छ । यस्तो अवस्थामा बालबालिकालाई रगत वा रगतका भागहरू (होलब्लड) प्लेटलेट प्याक्डसेल फ्रशफ्रेजन प्लाज्मा आदि पटक पटक दिनुपर्ने हुन्छ ।
कुपोषण तथा पोषण
अस्पताल आउँदा नै ब्लड क्यान्सर भएका धेरै बालबालिका कुपोषित भइसकेका पाइन्छन् । त्यसमाथि रोग अथवा औषधोपचारका क्रममा बालबालिकाहरू कुपोषित हुन्छन् । त्यसमाथि बालबालिकालाई वाकवाक लाग्ने, बान्ता हुने तथा खान मन नलाग्ने हुँदा उनीहरू झन् कुपोषित हुन्छन् । यसले गर्दा विभिन्न संक्रमण बढेर विभिन्न प्रकारका रोग लाग्न सक्छन् र झन् कुपोषित हुन सक्छन् । त्यसकारण ब्लड क्यान्सर भएको अवस्थामा बालबालिकाहरूले सफा, स्वच्छ, पोषिलो खानेकुरा खानुपर्छ । मुखले आफैँ खान नसके वा नखाएमा बेजोग्यास्टिक ट्यूब हालेर भए पनि कुपोषित हुनबाट जोगाउनुपर्छ ताकि उनीहरूले केमोथेरापी राम्ररी धान्न सकुन् र विभिन्न रोगबाट बच्न सकुन् ।
आइमिलाइन/सिमिलाइन ब्लड क्यान्सरमा दिइने धेरै केमोथेरापीका औषधि नसाबाट दिइन्छ । ठीक नसा नपरेमा केमोथेरापीका औषधि नसाबाट बाहिर निस्कन सक्छ र रोग निको हुन गा¥हो हुन्छ, घाउ पनि हुनसक्छ । बालबालिकाका नसा पाउन गाह्रो हुन्छ, जसले गर्दा कहिलेकाँही उनीहरूलाई पटक–पटक घोच्नुपर्ने हुन्छ । उपयुक्त प्रविधि भने महंगो भए पनि केन्द्रीय धमनीहरुमा लाइन÷सेन्ट्रल भेनस लाइन हाल्न सकेमा महिनौं वा वर्षौंसम्म उनीहरूलाई केमोथेरापी दिन वा आकस्मिक रुपमा औषधिहरू रगत वा सिधै विशेषखालका खाद्यपदार्थ सिमिलाइनमार्फत् दिन सजिलो हुन्छ ।
त्यसैले बाबुआमा, अभिभावक, नर्स, असपतालका अन्य कर्मचारी, डाक्टरलगायत सबैको आवश्यक सहयोग पुगेमा बालबालिकाको ब्लड क्यान्सर धेरैजसो निको हुन्छ । तर यसमा सबैले आ–आफ्ना क्षेत्रबाट मिहिनेत गर्नैपर्छ ।-स्वास्थ्यखबरबाट

वरिष्ठ कन्सल्टेन्ट बालरोग, बाल क्यान्सर तथा रक्तरोग

Related News

वैदेशिक रोजगारीको क्षेत्रलाई कामदारमैत्री बनाउने कसरी ?

-अनुराग देवकाेटा- सरकारले बजेटमा वैदेशिक रोजगारीको सुधारबारे कैयन शब्द खर्च गरेको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई कामदारमैत्री बनाउने विगतका सरकारी योजना…

हिन्दुले फेर्नुपर्ने मृत्यु संस्कार

-किरण विक- पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी