के दियो रामायण र महाभारतले नेपाली समाजलाई ?

277 Hits

-राजु स्याङतान-

धारावाहिक शृंखला ‘रामायण’ निर्माण भएको ३१ वर्ष पूरा भयो। आज पनि राम-लक्ष्मण सम्झनासँगै जोडिएर आउँछन्, धारावाहिकमा देखिएका राम, लक्षण र सीताको अनुहार। ‘महाभारत’को सम्झनाले टीभीमा देखिएको उही कृष्ण, अर्जुन र द्रौपदीको मुखाकृति अगाडि आउँछ। तर, आज कहाँ छन् पर्दाका ती ‘भगवान्’ ?विश्व टेलिभिजन इतिहासमै सर्वाधिक रुचाइएको धारावाहिक ‘रामायण’ टेलिभिजनमा प्रसारण हुन थालेपछि सारा काम ठप्प हुन्थ्यो। गुडिरहेको बस-ट्रक रोकिन्थ्यो। सडक, खेत खलिहान सुनसान हुन्थ्यो। कारखानामा मेसिन बन्द हुन्थ्यो। हिँडिरहेका बटुवाहरू रोकिन्थे। गल्ली, चोक, रेल्वे स्टेसन, अस्पताल जहाँजहाँ टीभी उपलब्ध छ, त्यहाँ मानिसहरू झुम्मिन्थे र बिनाहलचल मन्द्रमुग्ध हुन्थे। दर्शकको यस्तो समर्पणलाई कुनै बेला ‘इन्डिया टुडे’ले ‘रामायण फिवर’ भनि प्रकाशन गरेको थियो।

नेपालमा पनि ती धारावाहिक हेर्नेको क्रेज उस्तै थियो। टीभीमा रामायणको धुन बज्नासाथ मानिसहरू टीभीलाई ढोग्थे र रामायण हेरिसकेपछि भन्थे, ‘भगवान्ले त हिन्दी भाषा पो बोल्दा रहेछन्।’ रामायण÷महाभारत पूरै विश्वभरि एकसाथ करिब १० करोड मानिसले हेर्थे। त्यसमा नेपाल पनि अछुतो थिएन। भारतीय टेलिभिज ‘दूरदर्शन’मार्फत प्रसारण भएको रामायण सन् १९८७ मा निर्देशक रामानन्द सागरले निर्देशन गरेका थिए। ७८ शृंखलासम्म प्रसारण भएको रामायण भारतको चेन्नईमा पाँच सय ५१ दिनसम्म सुटिङ गरिएको थियो। सुटिङका लागि जुनियर कलाकारको आवश्यकता पर्दा गाउँगाउँमा माइकिङ गरिन्थ्यो।

रामायणको प्रसारण सकिएलगत्तै अर्को धारावाहिक महाभारत सुरु भयो। दूरदर्शन च्यानलबाट ९४ शृंखलामा प्रसारण भएको महाभारतलाई बीआर चोपडाले निर्देशन गरेका थिए। महाभारत पनि विश्वमा सर्वाधिक हेरिने धारावाहिक टेलिसिरियल बन्यो। महाभारतलाई बेलायतमा बीबीसीले समेत प्रसारण गरेको थियो। दुई धारावाहिक टेलिशृंखलाको पर्दामा ‘भगवान्’ बन्न हजारौंले अडिसन दिए। हजारौंमा छानिएका केही कलाकारले मात्र पर्दामा ‘भगवान्’ बन्ने सौभाग्य पाए। ती पर्दाका भगवान् आज कहाँ के गर्दैछन् ? पर्दामा भगवान् बनेपछि उनीहरूको जीवनमा के परिवर्तन आयो ? अझ यो भन्दा महत्वपूर्ण प्रश्न रामायण र महाभारतलाई किन दृश्यांकन गरियो ? त्यसले के दियो नेपाली समाजलाई ? यसबारे विमर्श गर्नु आवश्यक छ।

ठगिए राम

सन् १९५८ जनवरी १२ मा उत्तरप्रदेशको मेरठमा जन्मिएका अरुण गोविल एक सामान्य कलाकार थिए। उनी नाटक सिक्दै थिए। एकदिन उनले रामायणका लागि रामको खोजी भइरहेको थाहा पाए। उनले निर्देशक रामानन्दलाई भेटे र आफू राम बन्न चाहेको बताए। रामानन्दले चस्मा उतारेर उनलाई तलदेखि माथिसम्म हेरे र त्यो भूमिकामा अस्वीकार गरे।
अरू कोही राम बने। सुटिङ महिनौं चल्यो। तर, अचानक एकदिन अरुणलाई रामानन्दको फोन आयो। निर्देशकले भने, ‘तिमी जस्तो राम हामीले अरू पाएनौं।’ त्यसपछि अरुण ‘राम’ बने।

टेलिभिजनमा रामायण प्रसारण हुन थालेपछि त्यसको प्रभाव आँधीको रफ्तारमा बढ्यो। त्यो आँधी दिल्लीसम्म पुग्यो। तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले अरुणलाई दिल्लीस्थित आफ्नै निवासमा बोलाएर चुनाव लड्न आग्रह गरे। तर, अरुणले मानेनन्। पर्दामा राम बनेपछि अरुणको प्रसिद्धि चुलियो। दैनिकी फेरियो। मानिसले उनलाई भगवान्ै मान्न थाले। उनी जहाँजहाँ पुग्थे, मानिसहरू परैबाट हात जोड्दै ‘श्रीराम’ भन्दै पाउमा लम्पसार पर्थे। उनीप्रति मानिसको विश्वास यतिसम्म थियो कि मानिस बिरामी हुँदा पहिले ‘राम’को अगाडि हाजिर हुन्थे।

एकपटक अरुण सार्वजनिक ठाउँमा चुरोट पिइरहेका थिए। केही मान्छे आए र उनलाई हप्काउँदै भने, ‘तपाईंलाई हामी भगवान् समान ठान्छौं। तर, तपाईं चाहिँ चुरोट खाएर बस्ने ?’ त्यसपछि अरुणले माफी मागे। समय सधैं उनको पक्षमा रहेन। प्रसिद्धिको शिखरमा पुगेका अरुणले सायदै सोचेका थिए राम बनेसँगै आफ्नो फिल्मी करियर नै सकिनेछ। यथार्थमा त्यस्तै भयो। राम बनेसँगै अरुणको फिल्मी करियर ध्वस्त भयो। उनले त्यसपछि कुनै पनि फिल्ममा काम पाएनन्। फिल्मकर्मी भन्थे, ‘तपाईंको प्रसिद्धि यति माथि छ कि तपाईंलाई जुन रोल दिए पनि कम हुन्छ। अब के रोल दिने तपाईंलाई ?’

‘रामायण’ निर्माण भएको ३१ वर्ष पूरा भयो। रामायण र महाभारतमा अभिनय गरेका कलाकारले पर्दामा ‘भगवान्’ बन्ने सौभाग्य पाए। पर्दाका ती भगवान् अहिले के गर्दैछन् ? पर्दामा भगवान् बनेपछि उनीहरूको जीवनमा के परिवर्तन आयो ? रामायण र महाभारतलाई किन दृश्यांकन गरियो ?

त्यसपछि दर्शकले अरुणलाई कहिल्यै पर्दामा देख्न पाएनन्। दशकौंपछि अरुण र लक्ष्मणको भूमिकामा रहेका सुनील लाहिडी मिलेर एउटा फिल्म प्रोडक्सन हाउस खोले। आजभोलि ती दुई त्यसैमा व्यस्त छन्। अरुण बेलाबेला रामको प्रवचन दिन पुग्छन्। भविष्यमा पनि रामकै प्रवचन दिँदै हिँड्ने उनको योजना छ। उनीहरू दुवैजना घरजग्गा दलालबाट ठगिएको खबर केही समयअगाडि भारतीय समाचार माध्यममा प्रकाशित भएको थियो।

गुमनाम सीता

सीताको अपहरणपछि रामायणको कहानीमा ‘ट्युइस्ट’ हुन्छ। सीता बनेकी दीपिका चिखलियाको जीवनमा पनि त्यस्तै ‘ट्युइस्ट’ भयो। सीता बनेपछि उनको पनि दैनिकी फेरियो। जहाँजहाँ उनी पुग्थिन् मानिसहरू उनलाई साष्टांग दण्डवत् गर्थे। उनको आरती उतार्थे। दीपिका आफूलाई त्यसो नगर्न आग्रह गर्थिन्। तर, मानिसको उत्तर हुन्थ्यो, ‘तपाईं हामीजस्तै मान्छे हो भन्ने थाहा छ। तर, हजारौंबाट सीता बन्ने सौभाग्य तपाईंले नै कसरी पाउनुभयो ? त्यसकारण तपाईं हाम्रो लागि भगवान् नै हो।’ ५२ वर्षअघि मुम्बईमा जन्मिएकी दीपिकाले त्यसपछि करिब एक दशक तमिल, बाङ्ला र गुजराती फिल्म खेलिन्। तर, जम्न सकिनन्। मानिसले उनलाई सीताकै रूपमा हेरिरहे।

रिलका ‘जाने दुश्मन’ रावण र सीता रियल लाइफमा भने सुमधुर सम्बन्धमा छन्। रावणको भूमिकामा रहेका अरबिन्द त्रिवेदीले नै दीपिकालाई राजनीतिमा संग्लग्न गराए। अन्ततः दीपिका फिल्मी दुनियाँबाट ओझेलिइन्। उही रावणकै सहयोगमा राजनीतिमा संलग्न भइन् र सन् १९९१ मा भाजपाबाट सांसद बनिन्। हाल उनी मुम्बईमा एक नङ पालिस कम्पनीको व्यापारीसँग विवाह गरेर गृहणीको गुमनाम जिन्दगी बाँचिरहेकी छिन्।

के गर्दैछन् लक्ष्मण ?

लक्ष्मणको भूमिकामा थिए- कलाकार सुनील लाहिरी। उनी लक्ष्मण बन्नुअघि फिल्ममा स-साना भूमिकामा काम गर्थे। लक्ष्मण बनेपछि उनको पनि जीवन फेरियो। मानिसले उनलाई पनि भगवान् ठान्न थाले। उनको जन्म भारतको दोमाहमा भएको हो। रामायणपछि केही फिल्ममा काम त गरे, तर जम्न सकेनन्। हाल उनले अरुणसँग मिलेर एउटा फिल्म प्रोडक्सन हाउस खोलेका छन्।

रावण गुजरातका सांसद

रावणको भूमिकाका लागि एक भयानक अनुहार र बोल्ड आवाजकोे खोजीमा थिए निर्देशक रामानन्द। यता अर्विन्द त्रिवेदी गुजराती फिल्ममा स-साना भूमिकामा काम गरिरहेका थिए। रावणको खोजी भइरहेको उनले सुने। करिब दुई सय मानिस रावण पोसाक लगाएर अडिसन दिन तयार थिए। अर्विन्द पनि त्यहीँ मिसिए। उनको पालो आएपछि निर्देशकले हिँड्न लगाए। अगाडि हेर्न लगाए। उनको अहंकारी हेराइ र हिँडाइको चाल मन पर्‍यो रामनन्दलाई। त्यसपछि रामानन्दले भने, ‘मेरो रावण तिमी नै हौ।’

रावण-अवतार धारण गरेपछि अर्विन्दको पनि परिचय फेरियो। गाउँमा मानिस उनलाई ‘लंकेश’ भनेर बोलाउन थाले। छोरालाई रावणपुत्र र पत्नीलाई मन्दोदरी भनेर बोलाउन थाले। भारतीय समाचार संस्थाका अनुसार, रामायणमा रावणको वध भएपछि उनको गाउँमा शोक मनाइएको थियो। रामायणपछि केही गुजराती र हिन्दी फिल्ममा देखिए उनी। तर, दर्शकले उनमा रावणको प्रतिछाया देखिरहे। जति नै राम्रो अभिनय गरे पनि रावणको दाग मेट्न सकेनन्। त्यसपछि उनी पनि फिल्मी दुनियाँबाट सधैंका लागि हराए। उनलाई पनि भाजपाले गुजरातबाट १९९१ मा सांसद बनायो।

रामायणका यी रावण रियल लाइफमा भने रामका ठूला भक्त हुन्। ८० वर्षे बूढो शरीर लिएर आज पनि उनी घरअगाडि रामको विशाल प्रतिमा बनाएर पूजा गरिरहेका छन्। भजनकीर्तन गर्दै रामको महिमा गाइरहेका छन्।

हनुमान रामायणका अर्का आकर्षक पात्र हुन्। हनुमानको भूमिका थिए दारा सिंह। उनको खास नाम दिदार सिंह हो। भारतको अमृतसर जिल्लामा जन्मिएका उनी कुस्तीबाज र फिल्मस्टारसमेत थिए। एक सय ४० भन्दा धेरै फिल्म खेलेका उनलाई ‘देसी हिरो’ समेत भनिथ्यो। उनको मृत्यु २०१२ जुलाई १२ मा ८३ वर्षमा भयो। विभिषणको भूमिका थिए गुजरातका कलाकार मुकेश रावल। उनको ६६ वर्षको उमेरमा निधन भयो। नोभेम्बर २०१६ मा मुम्बईको एक रेलवेमा उनी मृत फेला परे। उनले आत्महत्या गरेको आशंका गरियो तर, पारिवारिक स्रोतले भने आत्महत्याको अस्वीकार गरे।

महाभारत श्रृंखलाको पर्दामा कृष्ण, अर्जुन, द्रौपदी बन्ने सौभाग्य पाएका कलाकारको पनि जीवनकथा कम रोचक छैन।

घोडाको डाक्टर अर्थात् कृष्ण

महाभारतमा कृष्णको भूमिकामा थिए- मुम्बईका नीतिश भारद्वाज। उनी भेटेरिनरी डाक्टर थिए। घोडाको उपचार गर्थे। डाक्टरी पेसा छाडेर फिल्मी दुनियाँमा लागे। कृष्णको भूमिकामा देखिएपछि मानिसले उनलाई पनि कृष्णकै रूपमा हेर्न थाले। तर, त्यो प्रसिद्वीले मात्रै उनको जीवन चलेन। महाभारत सकिएपछि कुनै पनि फिल्म पाएनन्। त्यसपछि उनी लन्डन पलायन भए। उनको पपुलारिटी देखेर भाजपाले सन् १९९५ मा लोकसभाको सदस्य बनाए। ५४ वर्षीय नीतिस हाल कृष्णको उपदेशमा आधारित आफ्नै सिरियल ‘गीता रहस्य’को निर्माणमा व्यस्त छन्।

२३ हजार अर्जुन

अर्जुनको भूमिकामा थिए- बलिउड कलाकार फिरोज खान। उनी २३ हजार मानिसबाट अर्जुनको रोलमा छानिए। अन्य कलाकारभन्दा उनको फिल्मी यात्रा केही सुखद छ। उनी अहिले पनि बलिउडमा व्यस्त छन्। फिरोजले धमेन्द्र, अजय देवगन, शाहरुख खान, सलमान खानसँग काम गरिसकेका छन्। अर्जुन बनेपछि उनको जीवन फेरियो। हाल उनी बलिउडकै मूलधारमा व्यस्त छन्।

द्रौपदीमाथि ब्ल्याकमेलिङ

रूपा गांगुली त्यस्ती अभिनेत्री बनिन् जसको फिल्मी करियर द्रौपदीको भूमिकासँगै सकियो। ५१ वर्षअघि कोलकातामा जन्मिएकी रूपाको लागि ‘द्रौपदी’ले जीवन बर्बाद गरायो। द्रौपदी बनेपछि उनीमाथि ब्ल्याकमेलिङ सुरु भयो। उनले अज्ञात फोनको व्यापक सामना गर्नुपर्‍यो। त्यस्ता फोन गर्ने केहीले ‘वन नाइट स्टे’का लागि समेत अफर गरे। यसले उनको निजी जीवन नै तहसनहस पारिदियो र पतिसँग सम्बन्धविच्छेद नै गर्नुपर्‍यो। रूपाले द्रौपदीको रोल गरेपछि सार्वजनिक रूपमै डिप्रेसन भएको बताएकी थिइन्। उनले केही फिल्म खेलिन् तर जम्न सकिनन्। त्यसपछि उनले फिल्मी दुनियाँ नै चटक्कै छाडिन्। रूपा पनि भाजपाको राजनीतिमा सक्रिय भइन्। पश्चिम बंगालको भाजपा महिला मोर्चाकी अध्यक्ष भइन्। चुनावमा पराजय भोगेकी उनले सन् २०१५ मा विपक्षीबाट हमलाको समेत सामना गरिन्।

के दियो रामायण-महाभारतले ?

पर्दाबाट हराएका कलाकारलाई सांसद बनाउने पार्टी आज भारतमा सत्तासीन छ। ती कलाकारलाई किन भाजपाले सांसद बनाए ? दुई सिरियललाई किन त्यति धेरै महत्व दिइयो ? यहाँनिर समाजशास्त्री चैतन्य मिश्रको भनाइ सान्र्दभिक हुन्छ। उनी भन्छन्, ‘ब्रिटिसकालीन भारतमा विभिन्न प्रान्तमा भूमिपति र जमिनदारहरूको आफ्नैखाले स्वायत्त शासन थियो। मुसलमान र हिन्दुका लागि छुट्टाछुट्टै कानुन थियो। तर, दोस्रो विश्वयुद्धपछि विविधता झन्पछि झन् खत्तम हुँदै जाँदैछ। …साम्राज्यवादको स्वार्थ नाफा र बजारको स्वार्थ हो। यसका लागि साम्राज्यवादलाई एउटै रुचि भएको, एउटै ढंगले सोच्ने र बाँच्ने उपभोक्ता चाहिएको छ। …दोस्रो विश्वयुद्धपछिको साम्राज्यवाद एकल संस्कृति भएको, एउटै रुचि भएको स्टेन्डर्ड मान्छे तयार पार्न खोज्दैछ।’ (पुँजीवाद र नेपालः पृ.१७०) मिश्रको विचारलाई आधार मान्दा स्वतन्त्र भएपछि भारतले आफूलाई त्यस्तै एकल संस्कृति भएको देश बनाउन चाह्यो। त्यसका लागि भाषिक र सांस्कृतिक प्रभुत्व विस्तारका गर्न दुई धारावाहिक शृंखलालाई प्रयोग गर्‍यो।

किनकि भारत-पाकिस्तान विभाजन भएको दशकौं बितिसक्दा पनि भारत सांस्कृतिक रूपमा एक थिएन। सयौं भाषा बोलिने भारतमा विभिन्न राज्यमा फरक-फरक संस्कृति थियो। बेलाबेला मुस्लिम र हिन्दुबीच वैमनश्यता भइरह्यो। भारतलाई भावनात्मक रूपमा एकै ठाउँ जोड्न सांस्कृतिक तत्वको आवश्यकता थियो। त्यो जोड्ने माध्यम ठहरियो- हिन्दु धर्म।

तर, हिन्दु धर्म विस्तारको लागि भारतीय संविधान अवरोध बन्यो। सन् १९५० मा लागू भएको भारतको संविधानमा उल्लेख छ- ‘सरकारी शिक्षण संस्थाहरूमा धर्म विषयक शिक्षा दिइने छैन।’ तर, संविधानको धज्जी उडाउँदै वनारस हिन्दु विश्वविद्यालय राज्यद्वारा नै सञ्चालित भइरह्यो। तर, विश्वविद्यालय मात्रै सिंगो भारतलाई भावनाको सूत्रमा बाँध्न पर्याप्त भएन। फिल्म अर्को सशक्त माध्यम हुने ठानियो। त्यसपछि रामायण÷ महाभारतलाई दृश्यमा उतार्नु आवश्यक ठानियो र त्यसलाई भारतीय सरकारी च्यानल दूरदर्शनबाटै प्रसारित गरियो। सोही धारावाहिकलाई तत्कालीन श्री ५ को सरकारले नेपाल टेलिभिजनबाट प्रसारण गर्नु कुनै संयोग मात्रै थिएन। त्यसपछिको नेपाली समाजमा महाभारत र रामायणले के दियो ? त्यसको सुषुप्त प्रभाव कस्तो रह्यो ? यसबारे खोतल्नु आवश्यक छ।
समाजशास्त्री मिश्र भन्छन्, ‘फिल्म, रेडियो र टीभी खुल्नुअघि नेपालमा प्रशस्त जातीय र सांस्कृतिक विविधताहरू थिए। अहिले गीत त्यही हुने भयो, जुन रेडियोले बजाउँछ नाच त्यही हुने भयो हुन फिल्म र टीभीले देखाउँछन्। हाम्रो आफ्नो सांस्कृतिक विविधता यो प्रक्रियाबाट मर्दै जाँदैछ। हाम्रो देश र विश्व एकल संस्कृतितर्फ संक्रमित हुँदैछ। त्यो जातिको संस्कृति विश्वभर हाबी हुँदैछ, जो आर्थिक रूपले र राजनैतिक रूपले संसारमा सबभन्दा प्रभुत्वशाली भएको छ।’

(पुँजीवाद र नेपालः पृ.१६५)। मिश्र सांस्कृतिक अतिक्रमण सबैभन्दा तीव्र हिन्दी फिल्मले गरेको बताउँछन्। त्यसले नैतिक मूल्य, सांस्कृतिक उचाइ भत्काउँदै लगेको र त्यसलाई सांस्कृतिक आक्रमण भन्नु उचित हुने उनको भनाइ छ। भानुभक्त आचार्यले अनुवाद गरेको ‘रामायण’ मानिसको घरघरमै थियो। डेढ सय वर्षपछि दृश्यमा हेर्न पाइने भएपछि मानिस टेलिभिजनअघि झुम्मिनु अस्वाभाविक थिएन। दुई धारावाहिक यति सजिलै लोकप्रिय हुनुमा नेपाल र भारतको कतिपय सांस्कृतिक समानताले पनि काम गरेको छ। त्यसले मधेसलगायत सिंगो नेपालमा भाषिक विस्तारमा कति प्रभाव पार्‍यो भन्ने तलको उदाहरण काफी छ। तथ्यांक विभागका अनुसार, सन् १९६१ मा नेपालमा हिन्दी भाषीको संख्या दुई हजार ८ सय ६७ थियो भने सन् २०११ मा आइपुग्दा ७७ हजार ५ सय ६९ पुग्यो।

समाजशास्त्री सुधिन्द्र शर्मा लेख्छन्, ‘धर्म जति संगठित भयो, राज्यलाई धर्मनिरपेक्ष बनाउन त्यति नै गाह्रो हुन्छ।’ (नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन: पृ.४५४)। शर्माको भनाइलाई आधार मान्दा नेपालमा धर्म निरपेक्षताको मुद्दा झिनो स्वरमा सुनिनुमा दुई धारावाहिकको पनि भूमिका छ। तर, फ्रेन्च समाजशास्त्री इमाइल दुर्खाइम धर्मले समाजमा शासन होइन, एकता निर्माण गर्ने बताउँछन्। यस दृष्टिकोणलाई अगाडि सार्दा रामायण र महाभारतले नेपाली समाजलाई भत्काएन बरु एकताको सुत्रमा बाँध्यो पनि भन्न सकिएला। धर्मले समाजमा विग्रह र फुटमात्रै ल्याउँछ भन्ने चिन्तनको ठाउँमा दुर्खाइम ‘ऐक्यबद्धता’ बढी देख्छन्। सामाजिक तत्वहरूलाई जोड्ने रसायनको काम धर्मले गर्ने उनी बताउँछन्। भन्छन्, ‘समाजका सदस्यलाई नैतिक र जिम्मेवार बनाउनु धर्मको काम हो। समाजलाई धर्मले एकजुट बनाउँछ।’

अन्त्यमा यो भन्नु अन्यथा हुँदैन, दुई धारावाहिकले दक्षिण एसियामा हिन्दुधर्मको पुनर्जागरणमा सहयोग पुर्‍यायो। धार्मिक संस्थाहरू वृद्धि भए। मठमन्दिरहरू सिंगारिए। हिन्दुधर्मावलम्बीको संख्या बढ्यो। हिन्दु धर्मावलम्बीका लागि यो निश्चय नै खुसीको कुरा हो। तर, धर्मनिरपेक्ष राज्यको नागरिकको आँखाबाट हेर्दा त्यो ‘कल्चरल हेजेमोनी’को एउटा रूप थियो।

यी धारावाहिकले हिन्दी भाषाको विस्तार गर्‍यो। दलितमाथि हुने भेदभाव बढायो। पुरुष मर्यादापालक वीर कहलियो। महिला रुखको फेदमा बसी बिलौना गर्ने र सार्वजनिक रूपमा निर्वस्त्र हुनुपर्ने कमजोर प्राणीको रूपमा चित्रित भए। र, समाज महिला हिंसातर्फ थप आकर्षित भयो। (उदाहरण द्रौपदीको भूमिकामा अभिनय गरेकी रूपा गांगुलीको जीवन कहानी नै पर्याप्त छ।) त्यही बिन्दुबाट घरघरमा बलिउड घुस्यो। बलिउडसँगै उतैको सौन्दर्य र सुन्दरतासम्बन्धी अवधारणा पनि घुस्यो। सिरियलको लत घुस्यो। अनि सँगै घुस्यो बजार। र, टेलिभिजन कम्पनीले मालामाल व्यापार गरे। यसकारण दुई धारावाहिक फगत टेलिशृंखलामात्रै थिएनन्, सांस्कतिक हस्तक्षेप गर्ने ‘पोलिटिकल गेम’ थिए। -अन्नपूर्ण पोष्टबाट साभार

Loading...

Related News

बिप्लवकाे महापतनमा के छ ?

-डा. ऋषिराज बराल-  विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक…

फेरि पनि प्रदेशकाे नाम र राजधानीकै कुरा

– रामनारायण बिडारी – प्रदेशको राजधानी र प्रदेशको नाम प्रदेशसभाबाट तोक्ने गरी सहमति भएर संविधानमा नै प्रदेशसभाको दुई तिहाइ सदस्यको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी