बाम एकता र क्रान्तिकारी पार्टी निर्माणको बहस-प्रचण्ड

144 Hits

पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको अनुसन्धान गरियो । मार्क्सवादको रुपमा स्थापित यो वैज्ञानिक अनुसन्धान आफ्नो सारतत्वमा मानवजातिले हजारौं वर्षका क्रममा आर्जन गरेका अनुभव र ज्ञानको सर्वोच्च संश्लेषण हो । ‘दुनियाँको व्याख्या गर्ने मात्र होइन, मुख्य कुरा यसलाई बदल्ने हो’ भन्ने क्रान्तिकारी उद्देश्यसहित संश्लेषित यो विज्ञानले मानवजातिकै चिन्तनको क्षेत्रमा एउटा अभूतपूर्व क्रान्ति ल्याइदियो । समाजमा विद्यमान सबै प्रकारका रुढी, अन्धविश्वास र पन्थहरुका विरुद्ध मार्क्सवादले दुनियाँ बुझ्ने र दुनियाँ बदल्ने वैज्ञानिक अस्त्र प्रदान गर्यो ।

भौतिक आवश्यकता परिपूर्तिको निमित्त उत्पादन र पुनरउत्पादनको प्रक्रियामा उत्पादक शक्तिको विकाससँगै कसरी मानिसहरुको बीचमा विशिष्ट उत्पादनसम्बन्ध कायम हुन जान्छ र आदिम साम्यवादी व्यवस्थापछिको समग्र इतिहास कसरी निश्चित वैज्ञानिक नियमद्वारा निर्धारित वर्गसंघर्षको इतिहास भयो भन्ने कुरा पनि अकाट्य तथ्यसहित मार्क्सवादले प्रमाणित गर्यो । यही नै ऐतिहासिक भौतिकवादको समग्र इतिहासप्रतिको खोज हो ।

पुँजीवादी शोषण र समाजका मुठ्ठीभर पुँजीपतिहरुका हातमा पुँजीको संकेन्द्रणको रहस्य उद्घाटन गर्दै कार्ल मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्त अगाडि ल्याउनुभयो । नाफा कमाउने धुनमा पुँजीवादले कसरी मानवीय श्रमलाई निर्जीव वस्तुमा परिणत गरी शोषणको व्यूह रचना गर्न पुगेको छ र आधुनिक सर्वहारावर्गको विशाल फौजको विकास गरी अन्ततः कसरी उसले आफ्नै चिहान खन्ने काम गरिरहेको छ भन्ने कुरा पनि मार्क्सवादले स्पष्ट गर्यो ।

उत्पादनशक्तिको अभूतपूर्व विकास, उत्पादन प्रक्रियाको सामाजीकरण तथा उत्पादनमाथिको व्यक्तिगत स्वामित्वका बीचको अन्तरविरोधको विशिष्ट स्थितिमाथि ध्यान दिँदै मार्क्सवादले सर्वहारावर्गको काँधमा आएको सामाजिक क्रान्तिको जिम्मेवारी तथा मानिसहरुद्वारा मानिसमाथि हुने सबै प्रकारका शोषणको अन्त्य गरी वर्गविहीन, राज्यसत्ताविहीन मानवजातिको स्वर्णिम भविष्य साम्यवादी समाजको वैज्ञानिक आदर्श प्रस्तुत गर्यो । साम्यवादी समाजको यो महान् आदर्श प्राप्तिका लागि सर्वहारावर्गले अपनाउनुपर्ने रणनीतिसम्बन्धी आधारभूत सिद्धान्तको जग पनि कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले नै बसाउनुभयो । वहाँहरुले हिंसात्मक क्रान्तिको अनिवार्यता, पुरानो पुँजीवादी राज्यसत्ताको ध्वंसको अनिवार्यता, सशस्त्र जनसमुदायको विकाससम्बन्धी अवधारणा, पुँजीवादबाट साम्यवादसम्मको संक्रमणकालको अनिवार्य आवश्यकताको रुपमा सर्वहारावर्गको अधिनायकत्व र समाजवादी राज्यसत्ताको महत्व आदि बारे समग्रमा आधारभूत अवधारणा प्रस्तुत गर्नुभयो । यो वैज्ञानिक धारणा मजदुर आन्दोलनमा स्थापित गर्न एङ्गेल्सले आफ्नो जीवनभर त्यसभित्र देखिने पुँजीवादी प्रवृत्तिका विरुद्ध कठोर सङ्घर्ष गर्नुभयो ।

बजारको आवश्यकता र सुरक्षाको लागि विकसित पुँजीवादी राष्ट्रवादका विरुद्ध मार्क्सवादले सर्वहारा अन्तर्राष्ट्रवादको झण्डा उठायो । ‘संसारका मजदुर एक हौं !’ को नारा बुलन्द गर्दै मार्क्स–एङ्गेल्सको पहल र नेतृत्वमा पहिलो कम्युनिष्ट अन्तर्राष्ट्रियको गठन भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्गठनमा देखा परेका विविध अवसरवादी प्रवृत्तिका विरुद्ध जीवन–मरणको सङ्घर्ष गर्दै कम्युनिस्ट घोषणापत्रको वैज्ञानिक विचारलाई मजदुर वर्गमा फैलाउने काम भयो । यसै क्रममा फ्रान्सको पेरिसमा इतिहासमा पहिलोपटक सशस्त्र विद्रोहद्वारा सर्वहारावर्गले राज्यसत्ता कब्जा गर्यो । पेरिस कम्युनका रुपमा अमर यो ऐतिहासिक विद्रोहले मार्क्सवादका आधारभूत सिद्धान्तको पुष्टि गर्नुको साथै यसका अनुभवहरुको संश्लेषणद्वारा आफ्नो सिद्धान्तको अझै परिमार्जन गर्न मार्क्स–एङ्गेल्सलाई सहयोग पुर्यायो । पुँजीपतिका विरुद्ध सर्वहारावर्गको अधिनायकत्व लागु गर्ने कुरामा केही कमजोरीका कारण ७२ दिन मात्र टिके पनि पेरिस कम्युनका अनुभव अजर–अमर रहने कुरा मार्क्स–एङ्गेल्सले स्पष्ट गर्नुभयो ।

यहाँ विशेष रुपले ध्यान दिनुपर्ने कुरा के छ भने पेरिस कम्युनप्रति मार्क्स–एङ्गेल्सको धारणाले आज पनि कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवाद र अवसरवादलाई चिन्ने र त्यसका विरुद्ध सङ्घर्ष गर्ने ऐतिहासिक प्रेरणाको काम गरिरहेको छ ।

पेरिस कम्युनको पराजय र अन्तर्राष्ट्रिय अवसरवादीहरुको षड्यन्त्रका पृष्ठभूमिमा पहिलो अन्तर्राष्ट्रियको विघटन गरियो । कार्ल मार्क्सको मृत्युपछि र नयाँ परिस्थितिको आवश्यकताअनुसार एङ्गेल्सको नेतृत्वमा सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । यसले आफ्नो प्रारम्भिक कालमा मार्क्सवादको प्रचारमा महत्त्वपूर्ण भूमिका पनि खेल्यो । तर, फ्रेडरिक एङ्गेल्सको मृत्युपश्चात दोस्रो अन्तराष्ट्रियका नेताहरु मुख्यतः कार्ल काउत्स्की बुर्जुवा संसदवादका अगाडि घुँडा टेक्दै मार्क्सवादका क्रान्तिकारी सिद्धान्तप्रति विश्वासघात गर्न पुगे । दोस्रो अन्तर्राष्ट्रियको यही सुधारवाद, संसद्वादका विरुद्ध कठोर सङ्घर्षका बीचबाट कमरेड लेनिनको नेतृत्वमा नयाँ ढङ्गको बोल्सेभिक पार्टीले क्रान्तिकारी सङ्घर्षको विकास गर्दै सन् १९१७ मा सशस्त्र विद्रोहद्वारा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । माक्र्सवादका आधारभूत वैज्ञानिक एवं क्रान्तिकारी शिक्षाहरुको रक्षाका निमित्त संशोधनवादका विरुद्ध जीवन–मरणको सङ्घर्षकै क्रममा माक्र्सवादको विकास मार्क्सवाद–लेनिनवादमा भयो । अराजकतावादको विरुद्धको सङ्घर्षसँग नजोडी प्रतिक्रियावादका विरुद्ध सङ्घर्ष हुनै नसक्ने यथार्थतालाई लेनिनले अत्यन्तै जोड दिनुभयो ।

विज्ञानका नयाँ आविष्कारहरुसमेतलाई पचाएर उहाँले द्वन्द्वात्मक भौतिकवादको दर्शनलाई नयाँ उचाइमा खडा गर्नुभयो । विपरीतहरुको एकता र सङ्घर्ष नै द्वन्द्ववादको एक मात्र आधारभूत नियम भएको तथ्य पनि स्पष्ट पार्नुभयो । साम्राज्यवादको चरित्र र विशेषताबारेको विश्लेषणात्मक खोजद्वारा राजनीतिक अर्थशास्त्रको क्षेत्रमा गुणात्मक योगदान पुर्याई लेनिनले नयाँ युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका रुपमा परिभाषित गर्नुभयो । यसले क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा ठोस सहयोग पुर्यायो । लेनिनका जुन विश्लेषणलाई पछिका घटनाक्रमहरुले शानदार ढङ्गले प्रमाणित गरे, ती आज पनि उत्तिकै सही रहेका छन् । नयाँ ढङ्गको पार्टीको अवधारणा, समाजवादी क्रान्तिका रणनीति, संशोधनवादका विरुद्ध सङ्घर्ष, पिछडिएका देशका क्रान्तिमा किसानहरुलाई एकजुट पार्ने कुरा, पूर्ण जनवादी क्रान्तिको महत्व, उत्पीडित जातिहरुको आत्मनिर्णयको अधिकारसम्बन्धी सर्वहारा दृष्टिकोण, पूर्वीय देशहरुमा सर्वहारा आन्दोलनले राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्नुपर्ने कुरा, साम्राज्यवादी कालमा विकसित पुँजीवादी देशहरुमा मजदुर अभिजात वर्ग, आम जनवर्गहरुको विकास र त्यसका विरुद्ध सङ्घर्षको महत्व लगायत वैज्ञानिक समाजवादका समग्र पक्षमा लेनिनले मार्क्सवादलाई समृद्ध मात्र पार्नु भएन, अपितु यसलाई विकासको नयाँ उचाइमा पनि उठाउनुभयो ।

महान अक्टोबर क्रान्तिको सफलताको विश्वमै अभूतपूर्व तरङ्ग पैदा गर्यो । सैयौं वर्षदेखि शोषित–उत्पीडित जनसमुदायले आफ्नो वास्तविक मुक्तिको बाटो पहिल्याएको अनुभूत गर्यो ।

साम्राज्यवादी र प्रतिक्रियावादीहरुको भीषण हमलाको प्रतिरोध गर्दै लेनिनकै पहल र नेतृत्वमा विश्वक्रान्तिलाई संङ्गठित रुपले अगाडि बढाउन सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन भयो । धर्तीको विशाल भूभागमा कायम हुन गएको सोभियत समाजवादी सत्तालाई बलियो आधारभूमिका रुपमा लिँदै लेनिनले विश्वक्रान्ति अगाडि बढाउने कुरालाई सर्वाधिक जोड दिनुभयो । विकसित देशहरुमध्ये जर्मनीको क्रान्ति र अविकसित पूर्वीय देशहरुमध्ये चीन, भारतजस्ता देशहरुमा क्रान्तिको विकासको प्रश्नलाई अत्यन्त गम्भीरतापूर्वक लिनुभयो । किसानको बाहुल्य भएका अविकसित देशहरुमा सर्वहारा क्रान्तिको प्रश्नलाई अत्यन्त ‘कठिन र महान्’ बताउँदै लेनिनले साम्यवादका सामान्य सिद्धान्तलाई ती देशहरुको ठोस परिस्थितिअनुसार लागू गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यस प्रकारका देशहरुमा औपनिवेशिक एवं अर्धऔपनिवेशिक शोषण र हस्तक्षेपको विरुद्धसमेत सङ्घर्ष गर्नुपर्ने भएकोले राष्ट्रिय जनवादी क्रान्ति (National Democratic Revolution) को अवधारणा अघि सार्नुभयो । फेरि पनि लेनिनले त्यस प्रकारका देशहरुमा क्रान्तिका रणनीतिहरुको खोजी र विकास सम्बन्धित देशका कम्युनिष्ट क्रान्तिकारीहरुले नै गर्नुपर्ने कुरामा जोड दिनुभयो । सर्वहारा अन्तर्राष्ट्रियवाद र मार्क्सवादका सामान्य सिद्धान्तप्रति अडिग रहँदै यसप्रकारका मुलुकका राष्ट्रिय विशेषताअनुसार सिर्जनात्मक ढङ्गले तिनको प्रयोगको महत्वलाई लेनिनको नेतृत्वमा कोमिन्टर्नले दिएको जोडमाथि यहाँ विशेष रुपले ध्यान दिनु आवश्यक छ ।

आज पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकातिर राष्ट्रिय विशिष्टताका नाममा सर्वहारा अन्तर्राष्ट्रवादका विरुद्ध सङ्कीर्ण राष्ट्रवादी प्रवृत्तिको प्रतिनिधित्व गर्ने तथा अन्तर्राष्ट्रवादको नाममा राष्ट्रिय विशिष्टतालाई अवमूल्यन गर्ने ट्राटस्कीवादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष अगाडि बढाउन आवश्यक रहिरहेको सन्दर्भमा यसको महत्व स्पष्ट हुन्छ ।

लेनिनको मृत्युपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व कमरेड स्टालिनले गर्नुभयो । जिनोभियब, कामेनोभ र मुख्यतः ट्राटस्कीको कथित स्थायी क्रान्तिसम्बन्धी उग्र रुपमा देखापरेको दक्षिणपन्थी विसर्जनवादलाई परास्त गर्ने, लेनिनवादलाई स्थापित गर्ने, सामुहिक खेती र योजनावद्ध आर्थिक विकासद्वारा सोभियत सङ्घलाई बलियो पार्ने, दोश्रो विश्वयुद्धमा हिटलरी फासिवादलाई धूलो चटाउने, सोभियत आर्थिक विकासका अनुभवहरुको संश्लेषण गर्ने र सिङ्गो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई करीब तीन दशकसम्म नेतृत्व प्रदान गर्ने जस्तो ऐतिहासिक कर्महरुद्वारा कमरेड स्टालिनले सर्वहारा आन्दोलनको सेवा गर्नुभयो ।

यति हुँदाहुँदै पनि कमरेड स्टालिनमा कतिपय गम्भीर कमजोरीसमेत रहेको र ती कमजोरीहरुका कारण गम्भीर समस्यासमेत उत्पन्न भएको तथ्यप्रति हाम्रो ध्यान जानु आवश्यक छ । यसो गर्दा हाम्रो प्रस्थानविन्दु निश्चित रुपमा कमरेड माओद्वारा गरिएको कमरेड स्टालिनको मूल्याङ्कन नै हुनुपर्छ । कमरेड स्टालिनका चिन्तन र कर्महरुलाई दुई भागमा बाँड्दै कमरेड माओले ७० प्रतिशत सही र ३० प्रतिशत गलत बताउनुभएको छ ।

कोमिन्टर्न गठनको प्रारम्भिक अवधिमा कमरेड लेनिनले प्राक्–पुँजीवादी अवस्थाका औपनिवेशिक र अर्धऔपनिवेशिक देशका क्रान्तिबारे अघि सार्नुभएका सामान्य रुपरेखाका आधारमा अघि बढेर अन्तर्राष्ट्रिय शक्तिसन्तुलनलाई नै जबरजस्त प्रभाव पार्दै चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो ।

विश्वको सर्वाधिक जनसङ्ख्या भएको विशाल भूभागमा दशकौंको सशस्त्र सङ्घर्षबाट सफल भएको यो क्रान्तिले प्राक्पुँजीवादी अवस्थाका अर्धसामन्ती र अर्धऔपनिवेशिक देशका लागि क्रान्तिको नयाँ मोडेल प्रस्तुत गर्यो । लेनिनद्वारा पूर्वीय देशमा क्रान्तिको ‘महान् र कठीन’ कामको सम्पादन मार्क्सवाद–लेनिनवादका सार्वभौम सिद्धान्तको आफ्नो विशिष्टतामा सिर्जनात्मक प्रयोगद्वारा कमरेड माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले मार्क्सवाद विज्ञानलाई अझै समृद्ध र विकसित गर्यो । दर्शनमा अन्तरविरोधको नियम र ज्ञानसिद्धान्त, राजनीतिक अर्थशास्त्रमा नोकरशाही पुँजीवादको विश्लेषण तथा वैज्ञानिक समाजवादमा नयाँ जनवादी क्रान्तिको रणनीति, जनयुद्धको सार्वभौम सिद्धान्तको विकास, पार्टी, सेना र संयुक्त मोर्चाका धारणा आदिले त्यसको विकासलाई स्पष्ट गर्छ ।

यो लामो क्रान्तिको प्रक्रियामा माओत्सेतुङले विदेशी अनुभवको यान्त्रिक नक्कल गर्न चाहने तथा अन्य विविध रुपका दक्षिणपन्थी अवसरवादविरुद्ध कठोर सङ्घर्ष गर्नुपरेको थियो । तिनमा लिलि सान, वाङमिङ, चाङ को थाओका विरुद्धको सङ्घर्ष प्रमुख रहेका छन् । गहिरिएर विचार गर्दा लिलि सान र वाङमिङ आदिका विरुद्ध माओको संघर्ष आफ्नो सारतत्वमा स्टालिन र कोमिन्टर्नका कतिपय यान्त्रिक भौतिकवादी सोच र कार्यशैलीका विरुद्धको सङ्घर्षसँग जोडिएका छन् । यद्यपि तत्कालिन स्थितिमा माओले यो कुरा खुला गर्नुभएन । संयुक्त मोर्चाबारे विकसित एकता र सङ्घर्षको नीति मात्र होइन, ‘अन्तरविरोधबारे’, ‘व्यवहारबारे’, ‘आफ्नो अध्ययनमा सुधार गर’, ‘कार्यशैलीमा सुधार गर’ तथा ‘नयाँ जनवादबारे’ जस्ता महत्वपूर्ण रचनाहरुमार्फत माओले चिनियाँ कम्युनिस्ट पार्टी र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत विद्यमान यान्त्रिक भौतिकवादी र अधिभूतवादी चिन्तनका खतराका विरुद्ध सतर्क गराइरहनुभएको थियो ।

यो क्रान्तिको प्रक्रियामा माओत्सेतुङले पार्टीसम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रवल एकमना (Monolithic) र समरुप (Homogenous) धारणाका विरुद्ध यसलाई विपरीतहरुको एकत्वका रुपमा व्याख्या गर्नुभयो । वहाँले पार्टीभित्र चल्ने दुई लाइन संघर्ष नै पार्टी जीवनको प्रेरक हुने यथार्थलाई स्पष्ट गर्नुभयो । समाजमा चल्ने वर्गसंघर्ष र पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षको अन्तरसम्बन्धलाई स्पष्ट गर्दै माओले समाजमा वर्ग रहेसम्म पार्टी रहने र पार्टी रहेसम्म विचारधारात्मक सङ्घर्ष रहने तथ्यको विज्ञानसम्मत व्याख्या प्रस्तुत गर्नुभयो । एकमना एकतासम्बन्धी धारणालाई माओले द्वन्द्ववादविरोधी बताउँदै ठाडै इन्कार गर्नुभयो । पार्टीसम्बन्धी यो धारणाले नयाँ ढङ्गको लडाकु पार्टीसम्बन्धी लेनिनवादी मान्यतामा नै नयाँ आयाम थप्ने काम गर्यो । माओको अनुसार सही र गलत विचारका बीचमा पार्टीभित्र निरन्तर सङ्घर्ष चलिरहन्छ, निश्चित अवस्थामा गलत विचार संशोधनवादका रुपमा प्रकट हुन्छ र क्रान्तिकारीहरुसँग त्यसले शत्रुतापूर्ण सड्घर्षको रुप लिन्छ । यदि गैरसर्वहारा विचार हावी हुन गएमा पार्टीको पूरै रङ बदलिन जान्छ । अन्ततः क्रान्तिकारीहरुले हमेसा दुई लाइन सड्घर्षका बीचबाट पार्टीको निरन्तर क्रान्त्रीकरण गरिरहनुपर्छ ।

यसरी विकसित मार्क्सवादी–लेनिनवादी विचारसहित सम्पूर्ण चिनियाँ क्रान्तिले करोडौं मजदुर–किसानलाई आफ्नो भाग्यको मालिक आफै बन्ने प्रक्रियामा अग्रसर गरायो । सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको सफलताको लगत्तै माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिको कार्यक्रम अघि सार्यो । समाजवादी क्रान्तिको नयाँ ऐतिहासिक प्रक्रियासँगै नयाँ ऐतिहासिक प्रक्रियासँगै नयाँ जनवादी क्रान्तिको पुँजीवादी जनवादी चरित्रबाट प्रभावित भएर क्रान्तिका समोल भएका व्यक्तिहरुसँग सर्वहारावादी क्रान्तिकारीहरुको अन्तरविरोध बढेर जान थाल्यो । ठीक यसै सन्दर्भमा कमरेड स्टालिनको मृत्यु भयो । सोभियत सङ्घमा प्रतिक्रान्तिकारी षड्यन्त्रमार्फत् ख्रुस्चोभी संशोधनवादले पार्टीको २० औं महाधिवेशनमा नेतृत्व कब्जा गर्यो । सोभियत सङ्घमा पुँजीवादको पुनर्स्थापना भयो । ख्रुस्चोभी गुटले स्टालिनको व्यक्ति पूजाका विरुद्ध सङ्घर्षका नाममा समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई उल्टाउन सफल भयो । यो विश्वभरिका क्रान्तिकारीहरुलाई स्तब्ध तुल्याउने परिघटना थियो । आणविक सन्त्रासको भय देखाएर ख्रुस्चोभी संशोधनवादले इतिहास निर्माणमा जनसमुदायको निर्णायक भूमिकालाई इन्कार गर्यो । ‘तीन शान्तिपूर्ण’का नाममा ख्रुस्चोभी गद्दार गुटले वर्गसंघर्षका विरुद्ध वर्गसमन्वयको वकालत गर्यो । बुर्जुवा संसद्वादको नाङ्गो पक्षपोषणलाई उसले बदलिएको विश्व परिस्थितिको सम्भावनाको जामा पहिर्यायो । रुसमा पुँजीवादको पुनर्स्थापनाबाट उत्साहित चीनका दक्षिणपन्थीहरुले पार्टीको सर्वहारावादी क्रान्तिकारी लाइनका विरुद्ध हमला बढाउँदै लगे । पेङ तेह हुइको परिघटना यसको ठोस उदाहरण हो ।

कमरेड माओको मूल्याङ्कन एकातिर कमरेड स्टालिनलाई सम्पूर्ण रुपमा नकार्ने दक्षिणपन्थी संशोधनवादी गद्दार तथा कमरेड स्टालिनका गल्तिलाई समेत सकरात्मक देखाउने सङ्कीर्ण जडसुत्र संशोधनवादका विरुद्ध रहेको छ ।

यो जटिल परिस्थितिमा उभिएर कमरेड माओत्सेतुङले समाजवादमा वर्गसङ्घर्षको स्थितिबारे गम्भीर अध्ययन र चिन्तन गुर्नभयो । उहाँले देशबाहिर ख्रुस्चोभको आधुनिक संशोधनवादका विरुद्ध र पार्टीभित्र दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्षको झण्डा उठाउनुभयो । यो भीषण एवम् जीवन–मरणको सङ्घर्षका बीचबाट माओले समाजवादमा वर्गसङ्घर्षको स्थितिको वैज्ञानिक व्यख्यासहित त्यसलाई रोक्ने सिद्धान्तका रुपमा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको धारणा प्रस्तुत गर्नुभयो । यही वैज्ञानिक धारणाका आधारमा मानवजातिकै इतिहासमा अभूतपूर्व जनक्रान्तिका रुपमा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको नेतृत्व गर्नुभयो । सिङ्गो भूमण्डल थर्काउने यो क्रान्तिमार्फत् माओले समाजवादी समाजमा पुँजीवादको पुनर्स्थापना रोक्ने नयाँ हतियारद्वारा सर्वहारावर्गलाई सुसज्जित पार्नुभयो । यो महान् योगदानले कमरेड माओलाई माक्र्सवादको तेस्रो नयाँ र उच्च चरण मार्क्सवाद–लेनिनवाद–माओवादको पुनर्स्थापना रोक्यो । यद्यपि राष्ट्रिय र अन्तर्राष्ट्रिय विविध कारणले माओको निधनपश्चात् चीनमा समेत प्रतिक्रान्तिकारी षड्यन्त्रद्वारा पुँजीवादको पुनस्र्थापना गर्न पुँजीवादपन्थीहरु सफल भए । तर, माओद्वारा विकसित सिद्धान्तको महत्त्व भावी क्रान्तिको प्रकाशको रुपमा घट्नु भन्दा झनै बढ्न गएको छ ।

यहाँ गहिरिनुपर्ने कुरा यो छ कि सोभियत सङ्घमा बिनाकुनै प्रभावशाली प्रतिरोध पुँजीवादको पुनर्स्थापना गर्न ख्रुस्चोभी संशोधनवादी गुट सफल भएपछि माओले एकातिर विश्वको पहिलो समाजवादी व्यवस्थाका उपलब्धीहरुको रक्षाका निमित्त सङ्घर्ष गर्नुभयो भने अर्कोतिर कमजोरी कहाँ भयो, जसको परिणाम यस प्रकारको अवस्था सिर्जना भयो भन्ने प्रश्नको गम्भीर अध्ययनमा जुट्नुभयो । ख्रुस्चोभ गुटले कमरेड स्टालिनविरुद्ध छेडेको प्रलापका विरुद्ध स्टालिनको रक्षामा अगाडि आउनु तथा स्वयं स्टालिनका कतिपय कमजोरीहरुको व्याख्या गर्नुलाई यसै सन्दर्भमा बुझ्नुपर्छ । कमरेड माओको मूल्याङ्कन एकातिर कमरेड स्टालिनलाई सम्पूर्ण रुपमा नकार्ने दक्षिणपन्थी संशोधनवादी गद्दार तथा कमरेड स्टालिनका गल्तिलाई समेत सकरात्मक देखाउने सङ्कीर्ण जडसुत्र संशोधनवादका विरुद्ध रहेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पहिलो पङ्क्तिमा ट्राटस्की, टिटो, ख्रुस्चोभ आदि पर्छन् भने दोश्रो पङ्क्तिमा अल्बानियाका अनबर होक्जा आदि पर्छन् । यहाँ हामीले ध्यान दिनुपर्ने अर्को कुरा यो पनि छ कि कमरेड स्टालिनको एकमना (Monolithic) सम्बन्धी धारणा र नोकरशाहीको विरोधका नाममा युरोकम्युनिजम्ले बुर्जुवा अराजकतावादी बहुलवादको कोणबाट बस्तुतः मार्क्सवादकै एकीकृत द्वन्द्वात्मक भौतिकवादी विज्ञानको विरोध गर्न थाल्यो ।

यतिबेला विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरु बिना कुनै राजनीतिक दबाब इतिहासका अनुभवहरुको सार खिच्न स्वतन्त्र छन् र उनीहरुको काँधमा त्यो गहन जिम्मेवारी आएको छ, जसलाई पूरा गर्न विशेष मेहनत गर्नैपर्छ ।

जतिबेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महाविवाद चलिरहेको थियो र आधुनिक संशोधनवादको नाइके ख्रुस्चोभले कमरेड स्टालिनमाथि प्रतिक्रान्तिकारी कोणबाट साम्राज्यवादको स्वरमा स्वर मिलाउँदै गालीगलौज र हिलो छ्याप्ने काम गरिरहेको थियो, त्यतिबेला निश्चित रुपमा कमरेड स्टालिनको मूल सकरात्मक पक्षमा विशेष जोड दिई त्यसको रक्षा गर्न पूरै शक्ति लगाउन आवश्यक थियो । वस्तुतः त्यसो गर्नुको अर्थ कमरेड स्टालिनको रक्षासँग मात्र सम्बन्धित नभएर सिङ्गो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, सर्वहारावर्गको अधिनायकत्व तथा समाजवादका सकरात्मक अनुभव र स्वयं माक्र्सवाद–लेनिनवादको रक्षा गर्नु थियो । तर, आज स्थितिमा ठूलो परिवर्तन आएको छ । ख्रुस्चोभी संशोधनवाद सामाजिक साम्राज्यवाद हुँदै कथित सोभियत सङ्घको विघटनसँगै पूर्णत पतन भएको छ । चीनमा कमरेड माओको निधनपश्चात् चिनियाँ ख्रुस्चेभहरुले प्रतिक्रान्तिकारी षड्यन्त्रद्वारा सत्ता हत्याएर पुँजीवादको पुनर्स्थपना गरेका छन् । आज दुनियाँमा एउटा पनि समाजवादी सत्ता बाँकी रहन गएको छैन ।

यतिबेला विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरु बिना कुनै राजनीतिक दबाब इतिहासका अनुभवहरुको सार खिच्न स्वतन्त्र छन् र उनीहरुको काँधमा त्यो गहन जिम्मेवारी आएको छ, जसलाई पूरा गर्न विशेष मेहनत गर्नैपर्छ । यस सन्दर्भमा कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुस्चोभी संशोधनवादका विरुद्ध छेडेको महाविवादका क्रममा स्टालिनको प्रश्नको सुरुमै उल्लेख गरिएको निम्न कुरामा गहिरिन आवश्यक छ । त्यसमा भनिएको छ, “स्टालिनको प्रश्न एउटा विश्वव्यापी महत्वको प्रश्न हो, जसको प्रभाव संसारको सबै देशमा सबै वर्गमा परेको छ र जुन आज पनि काफी विवादको विषय छ, जसप्रति विभिन्न वर्ग तथा तिनीहरुका राजनीतिक पार्टी र समूहहरुले अलग–अलग दृष्टिकोण राखेका छन् । यो धेरै सम्भव छ कि यो प्रश्नमा कुनै अन्तिम निर्णयमा यो शताव्दीभरिमै पुग्न सकिन्न ।” क. माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले बताएको त्यो शताव्दी समाप्त भएको छ र २१औं शताव्दीको प्रारम्भ भइसकेको छ । स्टालिनका ७० प्रतिशत सकरात्मक योगदानको रक्षा गर्दै ३० प्रतिशत कमजोरीबाट ऐतिहासिक शिक्षा लिने कुरामा हामीले ध्यान केन्द्रित गर्नैपर्छ ताकि सोही पत्रमा भनेझैँ “स्टालिनका जुन गौण भूलहरु थिए, तिनलाई ऐतिहासिक शिक्षाका रुपमा लिई कम्युनिस्टहरुले यसबाट चेतावनी लिने र त्यसप्रकारका भूलहरु दोहोरिनबाट बच्न या भूललाई कम गर्न सकेमा त्यो लाभदायक हुन्छ ।”

यहाँ ध्यान दिनुपर्ने अर्को कुरा के छ भने कमरेड स्टालिनका भूलहरुका दुई वटा पक्ष छन् । एउटा, सर्वहारावर्गको अधिनायकत्वको पूर्वअनुभवको अभावको पृष्ठभूमिमा अनिवार्य रुपमा हुन जाने कमजोरी तथा दोस्रो, सैद्धान्तिक गल्तीका कारण हुन गएका कमजोरीहरु । पहिलो प्रकारको स्थितिबाट उत्पन्न कमजोरी रोक्न सम्भव थिएन तर दोस्रो प्रकारको कारण उत्पन्न कमजोरी रोक्न सकिने थियो ।

कमरेड स्टालिनका कमजोरीहरुलाई सूत्रवद्ध गर्दै महाविवादको सोही पत्रमा भनिएको छ – “आफ्नो सोच विचारको तरीकामा स्टालिन द्वन्द्वात्मक भौतिकवादबाट कतिपय प्रश्नमा विचलित हुनुभयो र अधिभूतवाद र मनोगतवादमा फस्नुभयो । यसको फलस्वरुप कतिपय अवस्थामा वास्तविकता र जनसमुदायबाट अलग्गिनुभयो । पार्टीभित्र र बाहिरको सङ्घर्षमा कतिपय अबसर र कतिपय प्रश्नहरुमा हाम्रा र दुश्मनहरुको बीचको तथा जनताकै बीचको दुई भिन्न प्रकृतिका अन्तरविरोधहरुबारे भ्रमको शिकार हुनुभयो । तिनको समाधानको लागि आवश्यक भिन्न–भिन्न तरिकाबारे पनि वहाँ भ्रमित हुनुभयो । प्रतिक्रान्तिकारीहरुको दमनको नेतृत्वको क्रममा धेरैजसो दण्डका लायहरु ठीक ढङ्गले दण्डित गरिए तर यसका साथै कतिपय निर्दोष व्यक्तिहरु पनि गलत ढङ्गले दण्डित गरिए । सन् १९३६/३८ मा प्रतिक्रान्तिकारीहरुको दमनको मात्रा बढाउने भूल भयो ।

पार्टी र सरकारको सङ्गठनका विषयमा वहाँले सर्वहारा जनवादी केन्द्रीयतालाई ठीक ढङ्गले लागु गर्नु भएन । एक हदसम्म वहाँले तिनको उल्लङ्घन गर्नुभयो । भाइचारा पार्टीहरु र देशहरुसँगको सम्बन्धको सञ्चालनमा वहाँले केही गल्तीहरु गर्नुभयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा वहाँले केही गलत सल्लाहसमेत दिनुभयो । यी गल्तीहरुले सोभियत सङ्घ र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले पनि केही क्षति व्यहोर्नुपर्यो ।”

सर्वहारावर्गले राजनीतिक सत्ता कब्जा गरिसकेपछि निरन्तर क्रान्तिको प्रक्रियाद्वारा पुँजीवादलाई नियन्त्रण गर्दै साम्यवादतिर अगाडि बढ्न सकिने वैज्ञानिक सत्यलाई माओले सटिक ढङ्गले प्रस्तुत गर्नुभयो ।

आज महान् सर्वहारा साँस्कृतिक क्रान्तिको अनुभव, माओवादको प्रकाश एवम् समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसमेतको अनुभवका आधारमा कुन कुरा स्पष्ट छ भने कमरेड स्टालिन एक महान् माक्र्सवादी–लेनिनवादी हुँदाहुँदै पनि वहाँका केही सैद्धान्तिक कमीकमजोरीबाट विश्व कम्युनिस्ट आन्दोलन आत्मगतरुपले काफी प्रभावित भएको छ । ठोस रुपमा भन्नुपर्दा द्वन्द्ववादको आधारभूत नियम विपरीतहरुको एकता र सङ्घर्षलाई बुझ्ने र सञ्चालन गर्ने गुदी कुरामा नै कमरेड स्टालिनहरुका चिन्तनमा केही कमजोरी थिए । कम्युनिस्ट पार्टीलाई विपरीतहरुको एकत्वको रुपमा हैन, एकमना एकताका अर्थमा ग्रहण गर्नुले वर्गसङ्घर्ष र पार्टीभित्र दुइ लाइन सङ्घर्षको प्रकृति, सम्बन्ध र सञ्चालनको विधिमा गल्तीहरु हुन गए । यसकै परिणाम व्यक्तिगत स्वामित्वको उन्मूलन, सामूहिक खेती र औद्योगिकीकरण आदिबाट हुन गएको तीब्र आर्थिक विकासकै आधारमा सोभियत समाजमा शत्रुतापूर्ण वर्गअन्तरविरोध नरहेको घोषणा गरियो ।

यो घोषणा आफैले समाजवादी समाजबारे मार्क्सवाद–लेनिनवादका आधारभूत मान्यताकै एक हदसम्म उल्लङ्घन गर्न पुगेको छ । यसप्रकारको विश्लेषणले कमरेड स्टालिनलाई सोभियत समाजमाथि खतरा केवल बाह्य हस्तक्षेत्रप र षड्यन्त्रबाट मात्र हुने भन्ने एक पक्षीय सोचाइतिर डोर्यायो । समाजवादी समाजमा स्वयं कम्युनिस्ट पार्टीभित्रैबाट नयाँ पुँजीवादको जन्म कसरी हुन्छ र त्यसलाई कसरी रोक्ने भन्ने विषयमा पर्याप्त ध्यान दिनुको सट्टा बाह्य षड्यन्त्र र हस्तक्षेपको खतरालाई मात्र प्रतिक्रान्तिको सम्भावनामा जोड दिनुले एउटा देशमा समाजवादको निर्माण र विश्वक्रान्तिको विकासका बीचको सम्बन्धबारे कोमिन्टर्न गठनको प्रारम्भिक चरणका लेनिनका आधारभूत प्रस्तावनाहरुको समेत कतिपय अवस्थाहरुमा उल्लङ्घन हुन गयो । नियत नराम्रो नहुँदानहुँदै पनि यसबाट सोभियत समाजलाई बाह्य खतराबाट रोक्ने बढी जोडले वस्तुतः सर्वहारा अन्तर्राष्ट्रियको अवमूल्यन र रुसी राष्ट्रवादको प्रवलता देखिन गयो । यसबाट विश्वक्रान्तिलाई बुझ्ने, त्यसलाई अगाडि बढाउने तथा कोमिन्टर्न सञ्चालन गर्ने प्रक्रियामा कतिपय अन्यौलहरु उत्पन्न भए । स्मरणीय छ कि लेनिनले कोमिन्टर्न गठन गर्दा विश्वक्रान्ति र विश्वकम्युनिस्ट पार्टीको अवधारणामा जोड दिनुभएको थियो र सबै त्यसको हितको अधिनमा हुनुपर्ने कुरामा स्पष्ट धारणा राख्नुभएको थियो । तर, स्टालिनको नेतृत्वअन्तर्गत कतिपय अवस्थामा विश्वक्रान्तिको अङ्गको रुपमा सोभियत समाजलाई हेर्नुभन्दा सोभियत समाजको अङ्गको रुपमा विश्वक्रान्तिलाई हेर्ने जस्ता भूलहरु हुन गए । यसैलाई माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा स्टालितले गलत सुझाबहरु दिनुभएको थियो भनेर उल्लेख गर्नुभएको हो ।

आर्थिक क्षेत्रमा सामूहिक खेती र औद्योगीकरण र केन्द्रीकृत योजनाबाट उत्पादन र उत्पादक शक्तिको विकास तीव्र भएकै कारण स्टालिनले त्यसलाई नै समाजवादको सफलताको ‘ग्यारेन्टी’का रुपमा एकोहोरो जोड दिनुभयो । यसले समाजमा विद्यमान विभिन्न प्रकारका अन्तरहरु मेट्ने तथा उत्पादनसम्बन्धलाई क्रान्तीकरण गर्ने कुराको महत्व निकै गौण हुन गयो । ठीक यसै स्थानमा नयाँ पुँजीपति वर्गको विकास हुँदै गयो र कम्युनिस्ट पार्टीभित्रैबाट प्रतिक्रान्तिकारी ख्रुस्चोभी गुटले तयस वर्गको प्रतिनिधित्व सर्वहारा अधिनायकत्वलाई उल्टाएर पुँजीपतिवर्गको अधिनायकत्व स्थापना गर्न पुग्यो ।

कतिपय ऐतिहासिक सीमाका कारण तथा कतिपय चिन्तनगत कमजोरीका कारण स्टालिनको नेतृत्वमा हुन गएका उपर्युक्त प्रकारका कमजोरीहरुबाट शिक्षा लिएर नै माओले समाजवादी समाजमा वर्गसङ्घर्षसम्बन्धी माक्र्सवादी–लेनिनवादी मान्यतालाई नितान्त नयाँ उचाइमा उठाई पुँजीवादको पुनर्स्थापना रोक्न आर्थिक नीतिको गम्भीर अध्ययन गरी त्यसका सकरात्मक र नकरात्मक पहल ठम्याउँदै लाल र दक्ष (Red and Expert) दुई खुट्टाले चल्नुपर्ने समाजवादी अर्थनीतिको नयाँ खाका प्रस्तुत गर्नुभयो । उच्पादनमाथि सामूहिक स्वामित्व कायम गरिँदैमा समाजवादको सफलताको ग्यारेन्टी हुँदैन । किनकि, यहाँ अझै पनि मानसिक र शारीरिक श्रम, शहर र गाउँ रहिरहने र तलबमानमा भिन्नता र माल उत्पादनको पुँजीवादी अवस्था आदि रहिरहेका हुन्छन्, जसले नयाँ पुँजीपतिवर्गको विकासका लागि भौतिक आधारको काम गरिरहेको हुन्छ । त्यसैले माओले समाजवादमा साम्यवाद र पुँजीवाद दुवैका अंशहरु हुने र त्यसबाट पुँजीवाद पुनर्स्थापनाको खतारा रहने कुरा स्पष्ट गर्नुभयो । सर्वहारावर्गले राजनीतिक सत्ता कब्जा गरिसकेपछि निरन्तर क्रान्तिको प्रक्रियाद्वारा पुँजीवादलाई नियन्त्रण गर्दै साम्यवादतिर अगाडि बढ्न सकिने वैज्ञानिक सत्यलाई माओले सटिक ढङ्गले प्रस्तुत गर्नुभयो ।

‘धनी बन्नु राम्रो हो’ भन्दै उत्पादक शक्तिको ख्रुस्चोभी लाइनको वकालत गर्ने पार्टीभित्रका पुँजीवादपन्थीहरुका विरुद्ध नयाँ सिद्धान्तका आधारमा जनतालाई विद्रोहको अधिकार प्रयोग गर्न माओले नेतृत्व दिनुभयो । माओले ‘मार्क्सवाद लागू गर, संशोधनवाद हैन’, ‘एकजुट होऔँ, नफुट’, ‘खुला र स्पष्ट बन, जालझेल र षड्यन्त्र नगर’ भन्ने ‘तीन गर र तीन नगर’को मान्यताद्वारा माक्र्सवादी क्रान्तिकारी र संशोधनवादीहरुको बीचमा स्पष्ट विभाजन रेखा खिच्नुभयो ।

“Bombard the Bourgeoise Headquarter” को नारा दिएर माओले संशोधनवादको गढमा हमला गर्न आव्हान गर्नुभयो । महान् सर्वहारा साँस्कृतिक क्रान्तिको क्रममा गद्दार ल्यु साओ ची, लिन पियाओ र देङ स्याओ पिङका विरुद्ध सङ्घर्षका बीचबाट माओले पार्टीलाई एकता–सङ्घर्ष–रुपान्तरको विधिद्वारा नयाँ आधारमा नयाँ एकता कायम गर्ने द्वन्द्वात्मक पद्धतिलाई अझै विकसित तुल्याउनुभयो । पार्टीमा निरन्तर नयाँ रक्तसञ्चार गराउन वृद्ध, प्रौढ र युवाहरुसहित एकमा तीनको सिद्धान्तअनुसार पार्टी कमिटीहरु बनाउने कुरामा जोड दिनुभयो । यद्यपि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका कतिपय नकरात्मक प्रभाव, वर्गसङ्घर्षका ऐतिहासिक सीमा तथा पार्टी र सरकारका उच्च ओहोदामा पुग्न सफल दक्षिणपन्थीहरुलाई नङ्ग्याउने प्रक्रिया वस्तुतः केही ढिलो भइसकेकोले पूरै बढार्न सम्भव भएन । तर, यसले विकसित सिद्धान्तको महत्वलाई झनै बढाएको छ । कतिपय मानिसहरुले साँस्कृतिक क्रान्तिकालको जटिलतालाई राम्रोसँग आत्मसात नगरी माओले पछिल्लो कालमा अनावश्यक सम्झौता गरेको दोषारोपण गर्छन् । त्यो विलकूल गलत हो । माओले क्रमशः पार्टीमा क्रान्तिकारी ‘कोर’का रुपमा च्याङ चिङ, च्याङ चुन चाओ लगायतका क्रान्तिकारीहरुको विकासमा जोड गरिरहनुभएको थियो । माओले नै कथित ‘चार जनाको गुट’को नेतृत्व गरिरहनुभएको थियो र वहाँ नै सबभन्दा दूरद्रष्टा हुनुहुन्थ्यो ।

यसै सन्दर्भमा ध्यान दिनुपर्ने अर्को कुरा के छ भने माओले ख्रुस्चोभी संशोधनवादका विरुद्धको ऐतिहासिक सङ्घर्ष एवं महान् सर्वहारा साँस्कृतिक क्रान्तिको अनुभवसमेतका आधारमा नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय गठनको पहल किन गर्नुभएन ? विशेषतः यसमा कोमिन्टर्नको पछिल्लो कालमा कतिपय नकरात्मक अनुभवहरुले काम गरेको हुन सक्ने सम्भावना भए पनि त्यो प्रमुख कारण हुन सक्दैन । वस्तुतः माओले ख्रुस्चोभी संशोधनवादका विरुद्ध सङ्घर्ष छेडेर महान् सर्वहारा साँस्कृतिक क्रान्तिको नेतृत्व गर्दै तथा संसारभरका राष्ट्रिय मुक्ति, नयाँ जनवादी र समाजवादी अन्दोलनलाई सहयोग, समर्थन र प्रचार गरी वैचारिक रुपले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहनुभएको थियो । त्यसलाई सङ्गठित रुप दिन वस्तुगत रुपले तत्कालिन अवस्थामा गम्भीर व्यावहारिक अफ्ठ्याराहरु थिए, जसले मार्क्सवाद–लेनिनवादको विकासमा माओको सार्वभौम योगदानलाई अस्विकार गर्थे । तत्कालिन अवस्थामा ती सबैलाई बेवास्ता गरेर अन्तर्राष्ट्रियको निर्माण सम्भव थिएन ।

तर आज स्थितिमा काफी परिवर्तन आएको छ । संसारमा एउटा पनि समाजवादी सत्ता बाँकी रहेको छैन । संसारमा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले माओवादलाई मार्क्सवाद–लेनिनवादको उच्च चरणका रुपमा स्वीकार गरिरहेका छन् । विश्वक्रान्तिको नयाँ लहर क्षितिजमा देखिन थालिसकेको छ । वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षका बीचबाट सिर्जनात्मक ढङ्गले त्यसलाई सङ्गठित रुप दिन सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरु गम्भीरतापूर्वक अघि बढ्न आवश्यक छ । आज यसको भ्रुणका रुपमा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (RIM) को जन्म भइसकेको छ । यसलाई अझै परिमार्जित र विकसित तुल्याउन सबैले जोड लगाउनु आवश्यक छ । यस सन्दर्भमा रिमबाहिर रहेका कैयौं क्रान्तिकारी पार्टीहरुसँग आवश्यक बहस र अन्तरक्रियाका माध्यमले आन्दोलनमा गोलबन्द गर्न विशेष ध्यान दिनु आवश्यक छ ।

नयाँ अन्तर्राष्ट्रिय गठनको दिशामा अघि बढ्ने क्रममा सामान्यतः समग्र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विशेषतः कोमिन्टर्न कालका अनुभवहरुको अझै गम्भीर छानविन गर्न जरुरी छ । आजका कम्युनिस्ट क्रान्तिकारीहरुले निम्न प्रश्नहरुबारे अझ गम्भीर अनुसन्धान गर्न ध्यान दिनैपर्छ ।

कोमिन्टर्नको सातौं महाधिवेशनको मूल्याङ्कन कसरी गर्ने, दोस्रो विश्वयुद्ध र कोमिन्टर्नको विघटनलाई कसरी व्याख्या गर्ने ? कतिपय देशका कम्युनिस्ट पार्टीलाई फासिवाविरोधी बुर्जुवासँग मिलेर सरकार बनाउन दिइएको सल्लाह र लेनिनको मिलेराँवादको विरोधलाई कसरी बुझ्ने ? ग्रिस, इटाली, फ्रेन्च, भारत, चीनलगायतका देशका पार्टीहरुको तत्कालिन स्थिति र स्टालिनको भूमिकालाई कसरी व्याख्या गर्ने ? यी यस्ता प्रश्नहरु हुन्, जसको गम्भीर छानविन गरी सही निस्कर्षमा पुग्ने चुनौती आजको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गरिसकेको छ । अतः माओवादको प्रयोगद्वारा विगतका अनुभवहरुबाट सकरात्मक र नकारात्मक शिक्षा लिन संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुले आफ्नो पहल बढाउन आवश्यक छ । -लेफ्ट रिभ्युबाट

(प्रस्तुत आलेख २०५७ सालमा सम्पन्न तत्कालीन नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्ष क. प्रचण्डद्वारा प्रस्तुत भई पारित भएको दस्तावेजको अंश हो । अक्टोबर क्रान्ति, बाम एकता र क्रान्तिकारी पार्टी निर्माणको बहस चलेको वर्तमान सन्दर्भमा प्रस्तुत सामग्री महत्त्वपूर्ण हुने महशुस गरी प्रकाशित गरिएको छ – सं ।)

Loading...

Related News

बिप्लवकाे महापतनमा के छ ?

-डा. ऋषिराज बराल-  विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक…

फेरि पनि प्रदेशकाे नाम र राजधानीकै कुरा

– रामनारायण बिडारी – प्रदेशको राजधानी र प्रदेशको नाम प्रदेशसभाबाट तोक्ने गरी सहमति भएर संविधानमा नै प्रदेशसभाको दुई तिहाइ सदस्यको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी