अंगदान कार्यक्रम बन्द हुने अवस्थामा, १४ महिनामा ४ प्रत्यारोपण

151 Hits

काठमाडौं, १४ माघ ।

मानवशरीरको मस्तिष्क (ब्रेन डेथ) मृत्यु भएपछि अंगदान गर्न नियमावली बनेको १४ महिना पूरा भएको छ । १४ महिनामा २ जनाले कलेजो प्रत्यारोपण र ब्रेन डेथ भएका एक व्यक्तिबाट २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

अाजकाे नयाँ पत्रिका मा खबर छ-त्यसबाहेक हालसम्म केन्द्रले ब्रेन डेथ भएका व्यक्तिको कुनै अंग फेलापार्न सकेको छैन । मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अंग प्रत्यारोपणको पहिलो प्राथमिकता ब्रेन डेथ भएकाहरूको अंग लिएर फरक व्यक्तिमा प्रत्यारोपण गर्नु रहेको बताए ।

‘मानव शरीरको अंग प्रत्यारोपण नियमावली बनेको १४ महिनामा एउटा मात्रै ब्रेन डेथबाट अंग लिन पाएका छौँ । यो कुनै प्रगति हैन, यसले प्रत्यारोपणमा प्रश्न चिह्न खडा भएको छ ।’ सडक दुर्घटनामा परेर वा कुनै कारणवश मस्तिष्क मृत्यु भएकाहरूको अंगदान गर्न सरकारले मानवशरीरको अंग प्रत्यारोपण नियमावली २०७३ गत १६ मंसिरमा ल्याएको थियो ।

केन्द्रले गरेको सफल प्रत्यारोपणपछि बिरामीहरूको भिड लाग्ने गरेको छ । तर, अस्पतालहरूले ब्रेन डेथ भएको अवस्थामा केन्द्रलाई खबर नगर्दा सरकारले सुरु गरेको अंगदान प्रक्रिया अगाडि नबढ्ने खतरा बढेको निर्देशक श्रेष्ठ दुखेसो गर्छन् । श्रेष्ठले गरिब विपन्न नागरिकले सस्तो र सुलभ रूपमा सेवा पाउने भएकाले सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।

पीडितलाई एकलाख अस्पताललाई ५० हजार
केन्द्रले मस्तिष्क मृत्युपछि हुने अंग प्रत्यारोपण बन्द हुन नदिन पीडितलाई एकलाख र अस्पताललाई ५० हजार रुपैयाँ दिने भएको छ । निर्देशक श्रेष्ठले भने, ‘अस्पतालमा उपचार गराउँदा परिवारको खर्च हुने भएकाले केही राहत मिलोस् भनेर एकलाख दिने निर्णय गरेका हौँ । यति हुँदा पनि मस्तिष्क मृत्युपछिको अंगदान अगाडि बढ्न सकेको छैन ।’

निर्देशक श्रेष्ठले विद्यालय पाठ्यक्रममा मस्तिष्क मृत्यु र त्यसपछि गरिने अंगदानबारे समावेश गराउन सके प्रभावकारी बन्ने पनि बताए ।नेपालमा मिर्गौला प्रत्यारोपण गर्दा ४ लाख ५० हजार रुपैयाँ लाग्छ । कलेजो प्रत्यारोपण गर्दा भने १५ लाख लाग्छ । चिकित्सकहरूका अनुसार मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट विकसित मुलुकमा ८० प्रतिशत प्रत्यारोपण हुन्छ । एउटा व्यक्तिको खेरजाने अंगले आठजना व्यक्ति बचाउन सकिने भएकाले सरकार पनि सकारात्मक हुनुपर्ने चिकित्सक बताउँछन् ।

१६ वर्षभन्दा कम उमेर भएकाहरूबाट लिएको कलेजो पहिलो चरणमा नाबालक बिरामीले पाउनेछन् । कुनै नाबालक बिरामीलाई योग्य नपाइएमा सो कलेजो वयस्क बिरामीलाई दिइनेछ । रक्तसमूह ‘ओ’ बाट प्राप्त भएको कलेजो रक्तसमूह ‘ओ’ भएकै ग्रहणकर्तामा जानेछ । त्यसपछि मात्र अन्य कुनै रक्तसमूह भएका बिरामीलाई दिइनेछ । रक्तसमूह ‘ओ’भन्दा बाहिरका समूह ‘ए’ ‘बी’ र ‘एबी’ भएका समूहहरू उस्तैखालको रक्तसमूह भएकाहरूलाई दिइनेछ । सो नभएको खण्डमा ‘एबी’ समूहलाई दिइनेछ ।

मस्तिष्क मृत्युबारे खबरै गर्दैनन् अस्पताल
केन्द्रका अनुसार प्रतिवर्ष उपत्यकामा मात्रै एक हजारजनाको विभिन्न कारणले मस्तिष्क मृत्यु हुने गरेको छ । ‘धेरैको संख्यामा मस्तिष्क मृत्यु हुँदासमेत निजी अस्पतालले केन्द्रमा खबर गर्दैनन् । हालसम्म १८ जनामा भएको मस्तिष्क मृत्युबारे मात्रै केन्द्रले खबर पाएको छ’ निर्देशक श्रेष्ठले भने ।

१८ जनाको खबर पाए पनि १२ जनाले अंग दिन अस्वीकार गरेका थिए भने पाँचजनाको अंगको गुणस्तर खस्किएको थियो । एक व्यक्तिको कुनै अंगमा समस्या नभएकाले उनीबाट सफलतापूर्वक दुईजनाको मिर्गौला प्रत्यारोपण गरिएकोे थियो । डा. श्रेष्ठले जनचेतनाको कमीकै कारण मस्तिष्क मृत्युपछि हुने अंगदान कार्यक्रम बन्द हुने अवस्थामा पुगेको तर्क गरे ।

हाल नेपालमा अंग लिनेहरूको हानाथाप हुने गरेको छ । विज्ञहरूका अनुसार सरकारी सेवालाई अक्षम बनाउने र सेवा नै बन्द गराएर निजी अस्पतालमा बिरामी पठाउने उद्देश्यले निजी अस्पतालहरूले केन्द्रलाई मस्तिष्क मृत्युबारे खबर गर्दैनन् ।-नयाँ पत्रिकाबाट

Loading...

Related News

अस्पतालमै यस्ताे छ हालत अन्यत्र के हाेला ?

काठमाडौँ, कात्तिक  । काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण…

जमरा जुसबारे नयाँ तथ्य : कसले खाने कसले नखाने ?

काठमाडौं, २६ कात्तिक । जमराको जुस स्वास्थ्यको लािग अत्यन्तै लाभदायक भनेर धेरै प्रचार र प्रसार भएका छन् र यसको व्यवसायीक…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी