काबुलमा आत्मघाती हमला, कम्तीमा ९५ जनाको मृत्यु, १ सय ५१ घाइते (फोटोफिचर)

341 Hits

काबुल-

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो मध्य काबुलमा भएको हमलामा एक सय ५१ घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

विस्फोटक पदार्थ भरिएको एम्बुलेन्स चढेर आएका आक्रमणकारीहरूले प्रहरी चौकीनजिकै आत्मघाती हमला गरेका थिए । विस्फोट गराइएको स्थानमा सरकारी कर्मचारीलाई मात्र आवतजावत गर्न अनुमति थियो । स्थानीय समयअनुसार शनिबार दिउँसो सवा १२ बजे मानिसको भिडभाड बढेको समयमा सो विस्फोट गराइएको थियो ।

विस्फोटपछि केही समय मध्यराजधानीको आकाश धुवाँको मुस्लोले ढाकेको थियो । तालिवानले सो आक्रमणको जिम्मा लिएको छ । विस्फोट गरिएको स्थानबाट केही मिटरको दूरीमा गृह मन्त्रालय र युरोपेली युनियन, उच्च शान्ति परिषद्को कार्यालय, विदेशी दूतावास र सिटी प्रहरीको मुख्यालय छन् । शनिबारको हमला पछिल्ला महिनाहरूमा भएका हमलामध्येकै भीषण बताइएको छ । एक साताअघि मात्र तालिवान लडाकुले एउटा सुविधासम्पन्न होटेलमा आक्रमण गरेका थिए ।

पछिल्ला समयमा तालिवानहरूले सर्वसाधारणविरुद्धको हमलालाई तीव्र पारेका छन् । अक्टोबरमा एक सातामा भएका तालिवान हमलामा एक सय ७६ मानिसको मृत्यु भएको थियो । त्यस्तै, मे महिनामा काबुलमा भएको आत्मघाती हमलामा एक सय ५० जनाको मृत्यु भएको थियो । तर, सो हमलामा आफ्नो संलग्नता नभएको तालिवानले बताएको थियो ।

पाकिस्तानको सहयोगमा हक्कानी समूहले सो हमला गरेको जनाइएको थियो । अफगानिस्तानमा भएका हमलामा लडाकुहरूलाई कुनै समर्थन नगरेको पाकिस्तानले बताउँदै आएको छ । यसैबीच, अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टरकन्टिनेन्टल होटेलमा गत शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । आक्रमणमा मारिनेमध्ये अधिकांश विदेशी छन् ।

होटेल आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले बताए । यस आक्रमणको जिम्मा तालिवान अतिवादीले लिएको थियो । पाँचजनाको समूहमा आएका अतिवादीले होटेलभित्र प्रवेश गरी अफगान र विदेशी अधिकारीलक्षित आक्रमण गरेका थिए । लडाकुहरूले केही विदेशीलाई बन्धकसमेत बनाएका थिए । अफगान सेनाले होटेलमा रहेका एक सय ६० जनाको उद्धार गरेको थियो । आक्रमणकारी ६ तले होटेलमा शनिबार राति ९ बजे प्रवेश गरेका थिए ।-नयाँ पत्रिकाबाट

तस्विर :  विविसी, तथा सर्च इन्जीन

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी