सङ्गीतका तीन कविता

313 Hits

-सङ्गीत श्रोता-

  1. औंलाहरुको कोरस (कविता)
    =========

औंलाहरुले भने–
नयाँ गीत गाउनका लागि
हामी फेरि जुट्दै छौं

ओडारबाट निस्केर
हामीले घर बनायौं
घर–घरमा मन जोडेर
गाउँ–सहर बनायौं

जब तिर्खायो पृथ्वी यो
अञ्जुली बनेर हामीले पानी उघायौं
जब हुरीको बीचमा धिपधिप गरे दीपकहरु
हत्केला बनेर हामीले छेकारो लगायौं
फूलका बिरुवाहरुमा उकेरा लगायौं
बच्चाहरुका थिरथिरीलाई ताते गरायौं

आगोलाई डोर्‍याएर चुलामा पुर्‍यायौं
पानीलाई फकाएर घैंटामा बसायौं
माटोलाई अन्नका जराहरु उपहार दियौं
ढुंगामा मूर्तिका प्राणहरु भर्‍यौं

जब कागज निख्लै र रित्तै थियो
उसलाई हामीले अक्षरहरु दियौं
जब बतास सुनसान–सुनसान थियो
उसलाई मुरलीको सारेगम दियौँ
निवासहरुलाई एउटा ढोका दियौँ
सुवासहरुलाई धेरै झ्यालहरु दियौँ

औंलाहरुले भने–
र, फेरि गीत गाउनका लागि
हामी जुट्दै छौं

जब पृथ्वीको यो कलिलो घाँटीमा
कसैले दाँत गाड्न खोजिरहेछ
जब आकाशको यो अनुहार चिथोर्न
कसैले नङ्ग्रा फैलाइरहेछ
उसलाई भन्दिनुस्–
छैनौं, कतै छुटेका छैनौं
हामी मुठ्ठी बनेर फेरि उठ्दै छौं

औंलाहरुले भने–
गीत गाउनका लागि
हामी फेरि जुट्दै छौं

2. गीत
============
नसोध कस्तो रिस्ता यो, यही छ प्यार, प्यार झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ १

दुनियाँ दङ्ग–दङ्ग छ, छिमेकमा रस–रङ्ग छ
यो हाम्रो मयाँ–प्रीतिको, जसै नूतन प्रसङ्ग छ
त्यो विघ्न काँडेघारीमा, देख्यौ कि पुष्प–गार्ड झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ १

छ शून्य–शून्य मिर्मिरे, छ शान्त–शान्त दिन पूरै
यो आउने रात हाम्रै हो, भनुँ– यै हो सुदिन पूरै
जसै निदाउँछ काल यो, यसै हामी फरवार्ड झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ १

धडी–धोका त्यो के हो र, घडी–घडी म पर्खुंला
सुदूर दूर भइगए, मै फर्कुंला, मै पर्खुंला
नझस्कुँला, नतर्सुंला, होला कतै बमबार्ड झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ १

नसोध कस्तो रिस्ता यो, यही छ प्यार, प्यार झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ १

–सङ्गीत
(२०७४ माघ ५, शुक्रबार)

3. गीत
=============
थिति फेरौँ भन्थ्यौ, थर फेरेर गयौ
भर परेर बसेँ म, घर फेरेर गयौ १

उकालोमा तिमी बेलाबेला थाक्दा
उचालेर मैले गौंडा कटाएथेँ
खोला–खोल्सा बाटो, तिम्रा खुट्टा काँप्दा
हतेरेर मैले जँघार तराएथेँ

सँगै जाउँला भन्थ्यौ, छेल पारेर गयौ
पिना पार्यौ मलाई, तेल तारेर लग्यौ १

सपनाको अर्कै देश जाने बाटो–
यै हो भन्थ्यौ तिम्ले, जहाँ सँगै थियौँ
कैले पसिनाले, कैले आँसु जलले
नयाँ सानो धर्ती भिजाएकै थियौँ

भुइँको हुँ म भन्थ्यौ, भुइँ छाडेरै गयौ
अँधेरीमा कसको बुई चढेरै गयौ रु

दोबाटोमा हामी, त्यही दिन भेटिएथ्यौँ
जुन दिन जिन्दगीले, नयाँ साइनो पायो
चौबाटोमा फेरि, त्यही दिन छुटिएछौँ
जब जिन्दगीले, धेरै हण्डर खायो

होला भन्दाभन्दै डोला चढी गयौ
वारि छुटेछु म, खोला तरी गयौ १

थिति फेरौँ भन्थ्यौ, थर फेरेर गयौ
भर परेर बसेँ म, घर फेरेर गयौ १

–सङ्गीत
(२०७४ पुस १९, बुधबार)

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी