जेलमा यातना दिएर मारिएका पितालाइ सम्झँदै छोराले लेखे यस्तो पत्र…

175 Hits

समतामूलक समाजको स्थापनार्थ नेपालमा २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म चलेको शसस्त्र जनयुद्धका क्रममा १७ हजार वढिले ज्यान गुमाए । हजारौं बेपत्ता परिए, हजारौं अंग भंग र घरबारविहिन भए । राज्यका तर्फबाट मात्रै १३ हजार मारिए भने १३ सय भन वढि वेपत्ता पारिए । राज्यका तर्फबाट गैरकानुनी ढंगबाट पक्राउ गरी अमानविय यातनाका कारण लमजुङ्ग कारागारमा ज्यान गुमाउन बाध्य एक स्वाभिमानी शिक्षक बासुदेव शर्मा अधिकारीको स्मृतिमा उहाँकै छोरा रामहरी अधिकारीले लेख्नुभएको यो सानो अनुभुतिजन्य स्मृतिपत्र जस्ताको तस्तै प्रस्तुत गरिएको छ । अधिकारीले लेख्नुभएको सामग्री अत्यन्तै मर्मस्पर्शि र पठनीय ठानेर आदरणीय शिक्षक बासुदेव सर्माप्रति सम्मान प्रकट गर्दै प्रस्तुत गरिएको हो । (सं)

प्रस्तुत छ उक्त सामग्री
आज भन्दा ठिक १६ वर्ष अगाडी २०५८ सालमा यसै बेला देशमा संकटकाल थियो र ”माओबादीलाइ समर्थन गरेको”अभियोगमा तत्कालिन शाही सेनाद्वारा पुस एक गते पक्डाउ परी १२ दिन बेपत्ता बनाइए पछि लममजुङ्ग बेशिशहरको जेलमा चलान गरि दिएको अत्यन्त अमानबिय यातनाको कारण मेरा पिताजीले मृत्यु बरण गर्नु भएको थियो । देशमा युद्ध हुनु नराम्रो हो किन भने त्यसमा मान्छे मर्छन र दुख पाउँछन । जति सुकै अप्रिय भए पनि युद्दमा संलग्न मान्छेहरु मारिनु धेरै अनौठो भएन तर प्रजातान्त्रिक देशमा कुनै राजनीतिक दर्शनलाइ समर्थन गरेकै कारण कुनै ६० बर्षको निहथ्था शिक्षकलाइ बिद्यालयमा पढाइ रहेका बखत सूर्योदय माबि भारते लम्जुंगको कक्षा १० मा पहिलो घन्टी अंग्रेजी पढाउँदै गर्दा ० लगेर यातना दिई दिई मार्नुलाई कुनै पनि हालतमा उचित मान्न सकिन्न । त्यो राज्य पक्ष र बिद्रोही बीच भएको सशस्त्र द्वन्दको क्रममा सैनिक र गैह्र सैनिक गरेर हजारौं व्यक्तिहरुको ज्यान गयो, दुवै पक्षका गरि मेरा पिताजी लगायत हजारौं निहथ्था व्यक्तिहरु पनि मारिनु पर्यो ।

तर यति दुखद घटना भए पछि पनि शान्ति कालमा हामीले कुनै प्रतिशोध पूर्ण प्रतिक्रिया ब्यक्त गरेनौ र सो हत्यामा संलग्न भनेर प्रस्ट चिनिएकाहरु कसैको बिरुद्द उजुरी नगरी सबैलाई माफी दिने काम गर्यौं । हामीलाई थाहा छ, ”प्रतिशोध पूर्ण भावले कसैको कल्याण हुँदैन र मरेको व्यक्ति फर्केर पनि आउँदैन ।” हामि जो जो जीवित छौं, सबै मिलेर शान्तिपूर्ण सम्मुन्नत समाज बनाउनु छ र भबिष्यमा फेरि लडाई पर्ने र कुनै पनि नेपाल आमाका छोरा छोरीहरुको ज्यान जाने अबस्था आउन दिनु हुँदैन ।

कार्तिक २०६२ मा सात राजनीतिक दल र बिद्रोही माओबादीकाबीच भएको १२ बुदे बिस्तृत शान्ति सम्झ्यौता अनुरुप युद्दका क्रममा मृत्यु भएका दुवै पक्षका सैनिक, गैह्र सैनिक सबैलाई राज्यका सम्पत्ति मानेको र पछि राज्यले त्यसलाई बैधानिकता दिएर उनीहरुलाइ देशका लागि प्राणत्याग गरेका शहीदको दर्जा दिएको छ । तसर्थ जुन सुकै पक्ष्यका भए पनि युद्दको चपेटामा परेका मृतक, घाइते र उनीहरुप्रति आश्रित परिवारहरुहरु प्रति राज्यको दायित्व रहेको छ । तर दुखको कुरा शहीदको मामिलामा पनि टाठा बाठाहरुको हालीमुहाली भएको छ र शहीद भन्ने शब्दको उचित मुल्यांकन हुने र उनीहरुका सपना सकार पार्ने भन्ने कुरा परको कुरा भएको छ । ।कोहि शहीद शब्दलाइ सत्ताको खुड्किलो उक्लिन प्रयोग गर्दै छन् भने कोहि शहीदको परिवार भन्दै राज्यको सम्पत्ति दोहन गर्ने खेलमा लागेका छन् । तर म गर्ब साथ भन्छु ,आज सम्म मैले शहीद शब्दको ब्यापार गरेको छैन , र सोहि डोरी समातेर अवसर र मौका छोप्ने काम गरेको पनि छैन ।
मेरा पिताजीले हामीलाई कुनै सम्पत्ति दिनु छोडेर जानु भएन , तर उहाले दिएको शिक्षा र संस्कार प्रति म गौरवान्वित छु र आज म कसैको चाकडी नगरी आफ्नो खुट्टामा स्वाभिमान पूर्बक बाँच्न सक्ने भएको छु , यसैमा खुशी छु ।

मेरा पिताजी साच्चै सादगिका प्रतिक हुनु हुन्थ्यो । आज भन्दा ५० वर्ष अगाडी कलकत्तामा बाल श्रमिकको रुपमा भाडा माझ्दै पढेर अंग्रेजीमा बिए पास गरेर हाइस्कुलको हेड मास्टर सम्म भएका उहाँ बिज्ञान, गणित, अंग्रेजी, संस्कृत, भूगोल, अर्थशास्त्र सबै पढाउनु हुन्थ्यो । बेद पुराणका ऋचाहरु उहालाई कण्ठस्थ थिए । साहित्यमा बेजोडको पकड थियो उहाको । उहासंग बौद्दिक बहस गर्न जो कोहि हिम्मत गर्दैनथे। उहाले जीबन भर जुत्ता लगाएको मैले देखिन । सधै चप्पल लगाएर काठमान्डू पुग्नु हुन्थ्यो। उहाले पैसा राख्नको लागि पर्स बोकेको , बैंकमा खाता खोलेको र बाकसमा पैसा राखेको वा कुनै जिन्सी वा अचल सम्पत्ति जोडेको मैले कहिल्यै थाहा पाइन । तलब बुझेर घर ल्याउँदा ल्याउँदै बाटोमै सापट माग्न आउनेलाइ बाडेर पैसा सक्नु हुन्थ्यो र उनिहरुसंग कहिल्यै पैसा उठाउन जानु हुन्नथ्यो । हामीलाई ”हामीले पैसा हुने मान्छे ठुलो हुने र नहुने गरिब हरु सानो हुने यो नराम्रो चलनको अन्त्य गरि सबै एक समान हुने राज्य ब्यबस्था ल्याउन पर्छ ” भन्नु हुन्थ्यो । आज उहाको बार्षिकीको दिन यसैकुरा सम्झेर मै जस्ता परिवारको तर्फबाट म नेताहरुलाई सबै मिलेर देश राम्रो संग चलाउन आग्रह गर्दछु र बिगतको युद्दको चपेटामा परेका सम्पूर्ण जनतालाई पनि भोलिको नेपालको सुनौलो भबिश्य निर्माणको लागि आपसी बैरभाब त्यागेर बुद्दको भुमि नेपाललाई विश्वकै नमुना शान्तिको भुमि र बिकासको नमुनायुक्त देश बनाउने अभियानमा लाग्न आग्रह गर्दछु । गृहयुद्दको कारण सय दिनमै १० लाख मानिस मारिएको रुवान्डाले आज नेताको प्रतिबद्दता र संकल्प अनि जनताको एकताले गर्दा चमत्कारिक बिकास गरेको छ भने हामि पनि देशमा दिगो शान्ति ल्याएर बिकासको नमुना खडा गर्न सक्छौ ।

आज उहालाई श्रदान्जली दिनु पर्ने दिन, अरु शहीदहरुका बाठा सन्तानहरुले शहीदहरुको शहादत बेचेर घर ठड्याएका छन् , गाडी चढेका छन् । ठुला ठुला जागिर खाएका छन् , तर मसंग मेरा पिताजीको एउटा राम्रो फोटो समेत छैन। त्यसैले उहाले लेखेका धेरै कुराहरु मध्ये केहि सामग्री जेलबाट फिर्ता ल्याएर हामीले छपाएको र प्रकाशन गरेको किताबको अन्तिम पृष्ठको चित्रमानै श्रदान्जली अर्पण गरेको छु । आज मेरा पिताजी जस्तै हजारौं व्यक्तिको बलिदानीबाट देशमा गणतन्त्र आएको छ, संघियता प्राप्त भएको छ , समाबेशिता र सहभागिताका कुराहरु संबिधानमा सुनिस्चित भएका छन् । उनीहरुकै कारण देशमा प्रगति र परिवर्तनको लागि बाटो खुलेको छ । यस अर्थमा देश र समाजको लागि रगत बगाउने र जीबन दिने मेरा पिताजी लगायत सम्पूर्णमा श्रदान्जली ब्यक्त गर्दछु । पिताजीलाईश्रदान्जली !

Loading...

Related News

बाबुमाथि हत्या आरोप, छोराको प्रस्तावमा शहीद घोषणा, यी हुन शहीदहरु

काठमाडौं, २९ पुस । सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै…

जेलमा यातना दिएर मारिएका बाबाको सम्झनामा छोराले लेखे यस्तो…

समतामूलक समाजको स्थापनार्थ नेपालमा २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म चलेको शसस्त्र जनयुद्धका क्रममा १७ हजार  वढिले ज्यान…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी