सरकारले गर्यो मन्त्रालय बढाउने तयारी, २१ सम्म पुर्याउने

144 Hits

काठमाडौं, १६ पुस ।
सरकारले मन्त्रालयको प्रस्तावित संख्या १५ बाट बढाएर १८ वटा पुर्याउन गृहकार्य थालेको छ । सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समिति र संसद्को राज्य व्यवस्था समितिले मन्त्रिपरिषद्मा बुझाएको प्रस्तावित १५ मन्त्रालयबाट अन्य तीन मन्त्रालय थपेर १८ सम्म पुर्याउने तयारी भएको स्रोतको भनाइ छ ।

अब बस्ने मन्त्रिपरिषद्को प्रशासन समितिको बैठकमा यसबारे छलफल हुने सिँचाइमन्त्री तथा मन्त्रिपरिषद्को प्रशासन समितिका सदस्य सञ्जय गौतमले बताए । उनले भने, ‘मन्त्रालयको संख्या १५ बाट बढाएर १८ सम्म पुर्याउने बारेमा सामान्य छलफल भएको हो । यसबारे अब बस्ने मन्त्रिपरिषद्को प्रशासन समितिको बैठकमा छलफल हुने भएको छ ।’
प्रशासन समितिले छलफल गरी यस विषयलाई टुंगो लगाउने तयारी गरेको उनले बताए । प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा रहेका छन् भने सदस्यमा रक्षामन्त्री भीमसेनदास प्रधानलगायतका मन्त्री रहेका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरि पन्थीले पनि प्रस्तावित मन्त्रालयको संख्या १५ बाट बढाएर १८ सम्म पुर्याउन प्रारम्भिक गृहकार्य भएको बताए । उनले भने, ‘जोडिएका मन्त्रालय र प्राविधिक मन्त्रालय थप गरी मन्त्रालयको सख्या १८ सम्म् पुर्याउन प्रारम्भिक गृहकार्य र छलफल भएको छ । अन्तिम निर्णय भएको छैन ।’

संसद्को राज्य व्यवस्था समितिले गत मंसिर २८ गते मन्त्रिपरिषद्मा मन्त्रालयको संख्या १५ राख्न प्रस्ताव पठाएको थियो । यसैगरी सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समिति र काशीराज दाहालको संयोजकत्वमा गठित अधिकार सम्पन्न संघीय प्रशासन पुनर्संचरना कार्यान्वयन समितिले पनि मन्त्रालयको संख्या १५ राख्न प्रस्ताव प्रधानमन्त्रीको कार्यालयमा पठाएको थियो ।

तत्कालीन सामान्य प्रशासनमन्त्री तथा हाल बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले मन्त्रालयको संख्या १५ बाट बढाएर १८पुर्याउन सकिने बताए । उनले भने, मन्त्रालयको संख्या बढाउने तयारी हुँदैछ भनेर मैले पनि सुनेको छु । संविधानमै २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने प्रावधान छ ।’ आवश्यकता हेरेर मन्त्रालयको संख्या बढाई १८ देखि २१ सम्म पुर्याउन सकिने उनको भनाइ छ । ‘आवश्यकता हेरेर मन्त्रालयको सख्या बढ्न सक्छ,’ उनले भने ।
यसअघि सरकारलाई बुझाइएको मन्त्रालयको संख्या १५ राख्ने प्रस्तावमा तत्कालीन सामान्य प्रशासनमन्त्रीको हैसियतमा उनले हस्ताक्षर गरेका थिए ।

अधिकार सम्पन्न संघीय प्रशासन पुनर्संरचना कार्यान्वयन समितिका संयोजक दाहालले भने मन्त्रालयको संख्या १५ बाट बढाउनै नहुने तर्क राखेका छन् । केन्द्रले गर्ने काम प्रदेश र स्थानीय तहमा गएकाले केन्द्रमा मन्त्रालयको संख्या बढीमा १५ हुने पर्ने उनको तर्क छ । उनले भने, ‘केन्द्रले गर्ने काम अब प्रदेश र स्थानीय तहले गर्ने भएका छन् । केन्द्रमा मन्त्रालयको संख्या किन बढाउनुप¥यो रु’ विभिन्न देशको अध्ययन गरेरै आफूले नेपालमा मन्त्रालयको संख्या बढीमा १५ राख्न उपयुक्त हुने सुझाव दिएको दाहालले बताए । उनले भने, ‘भागबन्डा पुर्याउन मन्त्रालयको संख्या बढाउन लागिएको हुन सक्छ । तर मन्त्रालयको संख्या बढाउन आवश्यक छैन ।’

मन्त्रालयको संख्या बढाउने अन्तिम अधिकार मन्त्रिपरिषद्लाई हुने उनले बताए । ‘हामीले प्रस्ताव मात्र पठाएका हौं । मन्त्रालयको संख्या बढाउने अन्तिम अधिकार मन्त्रिपरिषद्लाई छ ’, उनले भने ।
हाल मन्त्रालयको संख्या ३१ छ । विगतमा प्रायः सबै प्रधानमन्त्रीले मन्त्रालयको संख्या बढाउँदै आएका छन् । संविधानले मन्त्रिपरिषद्को संख्या बढीमा २५ राख्न सकिने प्रावधान राखेको छ । संविधान कार्यान्वयन गर्न अब मन्त्रालयको संख्या बढीमा २५ राख्नुपर्ने बाध्यता सरकारलाई छ । मन्त्रालयको संख्या ३१ बाट १५ मा झार्दा प्रस्तावित १५ मन्त्रालयमा एकआपसमा जोडिएका मन्त्रालयबाट अरू तीनवटा मन्त्रालय थप्ने तयारी भएको स्रोतको भनाइ छ । -नागरिक दैनिकबाट साभार

प्रस्तावित १५ मन्त्रालय
-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
-अर्थ तथा योजना मन्त्रालय
-वन, विज्ञान तथा वातावरण मन्त्रालय,
-कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय,
-उद्योग, वाणिज्य, श्रम तथा आपूर्ति, कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय
-गृह मन्त्रालय
-जलस्रोत तथा ऊर्जा मन्त्रालय
-परराष्ट्र मन्त्रालय
-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
-रक्षा मन्त्रालय
-शिक्षा तथा सञ्चार मन्त्रालय
-महिला तथा सामाजिक न्याय मन्त्रालय
-संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी