कृष्णबहादुर महराको खुलासा : यसरी हुदैछ बाम एकता

300 Hits

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता जनअनुमोदित भइसकेको बताउँछन् माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा। अब चाहेर पनि दुवै पार्टी एकताबाट पछि हट्न नसक्ने उनको दाबी छ। पार्टी एकता प्रक्रिया र नयाँ सरकार गठनबारे महरासँग अन्नपूर्ण पोष्टका लागि रामकृष्ण अधिकारीले गरेको कुराकानी –

तपाईंहरूको पार्टी जीवनमा निकै उतारचढावपूर्ण देखिँदै छ नि ?

उतारचढाव तपाईंले भनेजस्तो अवस्थाको होइन। पार्टी एकतासँग सम्बन्धित विषयमा कसरी हुन्छ, के हुन्छ भन्ने जिज्ञासा, चिन्ता, प्रश्न उठ्नु स्वाभाविक हो। यसलाई अन्यथा लिनु हुँदैन। पार्टी नयाँ धुव्रीकरणमा जाँदैछ। जनतामा यस विषयमा राम्रो उभार र उत्साह आएको छ। यस्तो बेलामा पार्टी एकताको व्यवस्थापनका विषयमा नेतृत्व पंक्तिमा बहस उठ्नुलाई उतारचढावपूर्ण भन्ने अर्थमा लिनु हुँदैन।

जनयुद्ध, शान्तिप्रक्रिया र अहिलेको चरणलाई माओवादीको पार्टी जीवनसँग जोडेर उतारचढावपूर्ण भन्न खोज्नुभएको हो ?

यसलाई उतारचढाव भन्न मिल्दैन। मानिसको जीवन र समाजको जीवन एउटै हुँदैन। आजभन्दा २० वर्षअघिको समाज अर्को थियो र २० वर्षपछाडिको समाज अर्के खालको हुन्छ। यो विकास क्रमसँगै विकसित हुने हो। हाम्रो पार्टी जीवनलाई पनि त्यसको गतिसँग हेर्नुपर्छ। स्थिरतामा हेर्‍यो भने स्थिर पार्टी जस्तो देखिन्छ। गतिमा हेर्‍यो भने गतिकै विकासमा देखिन्छ। सुरुमा म आफैं नेकपा मशालमा थिएँ, त्यसपछि एकताकेन्द्र, माओवादी, एकीकृत माओवादी हुँदै माओवादी केन्द्र बनेको छ। समाजको विकाससँगै नयाँ हुन तयार हुनुपर्छ। हामी माओवादीले त्यही गर्दै आएका छौं।

जमेर उही ठाउँमा बस्ने कुरा विकासविरोधी हो। स्थिरता भनेको विकासविरोधी र गति भनेको विकासको पक्षधरता हो। त्यसकारण यसलाई उतारचढावभन्दा पनि विकसित भएको अर्थमा लिनुपर्छ। अहिले पार्टी एकता सुरु हुन लागेको छ। यो पनि विकसित घटनाक्रमले र समाज परिवर्तनले ल्याएको विकसित रूपमा बुझ्नुपर्छ। यसका निम्ति हामी तयार हुनुपर्छ। पुरानो सम्बन्ध भत्काउने र नयाँ सम्बन्ध बनाउने गरी गयो भने मात्रै हामी माथि पुग्न सक्छौं।

कहाँ पुग्यो पार्टी एकता प्रक्रिया ?

छलफल चलिरहेको छ। अहिले सबै विषयमा टुंगो लागिसक्यो भन्ने बेला भएको छैन। दुईथरीका पार्टी, दुई धारले चलेका पार्टीबीच एकता हुँदैछ। एकता गर्दाको हाम्रो सोच भनेको दुवैको यथास्थितिको संरचना भंग गर्ने, पुरानोलाई भंग गरेर नयाँ अर्थमा खोज्ने खालको छ। एकअर्कामा विलयको अर्थमा होइन, एकअर्कालाई रूपान्तरण गरेर नयाँ चिजमा जाने, नयाँ उचाइमा उठाउने हाम्रो सैद्धान्तिक सहमति छ। यसमा छलफल चलिरहेको छ। बजारमा आएको हल्ला सत्यमा आधारित छैनन्।

सत्य के हो त ?

सत्य त्यही हो कि पार्टी एकताका लागि अहिले आन्तरिक रूपले नेताहरू र खासगरी कमरेड केपी ओली र कमरेड प्रचण्ड बसिरहनुभएको छ। देशको आवश्यकता, जनताको आवश्यकता र आकांक्षा प्रतिबिम्बत हुने गरी पार्टी एकता हुन्छ।

पार्टी एकतामा वैचारिक–राजनीतिक प्रधान पक्ष प्रधान छायामा परेको र पदीय व्यवस्थापनका विषय मात्र छलफलकेन्द्रित भएजस्तो देखिन्छ नि ?

मैले भनें, विचार पनि विकास भइरहन्छ। दुई पार्टी भंग गरेर नयाँ पार्टी बनाउनु विचारले पनि हो। राजनीति र संगठन सबै विषयले हो। नयाँ ठाउँमा उठ्ने, विचार राजनीतिलगायतका मुख्य विषयमा हामी छलफलमै छौं। कतिपय ठूला–ठूला विषय महाधिवशेनवाट टुंगो लाग्छ। कतिपय प्राविधिक विषय टुंगो लगाएर जान सकिन्छ। एकता संयोजन समिति बनिसकेको छ। पार्टी एकताबाट अब पछाडि हट्ने स्थिति नै छैन, अगाडि बढ्छ। दुवै पक्षका हिजोका मूल्य–मान्यतामा रहिरहँदा एकता हुँदैन। त्यसकारण त्यो सबै भत्काउन तयार भएपछि मात्र एकता हुन्छ।

तपाईंहरू पहिले एमालेलाई संशोधनवादी धाराको नेतृत्व गर्छ, हामी क्रान्तिकारी धारको भन्नुहुन्थ्यो।, तपाईंहरूका आआफ्नै मान्यता छन्, एक्काईसौं शताब्दीको जनवाद र बहुदलीय जनवाद जस्ता।।।। अनि मिलन बिन्दु कहाँ फेला पर्‍यो पार्टी एकताको ?

एकजना साथीले भनेको सुनें– अब जबज पनि हट्छ, एक्काईसौं शताब्दीको जनवाद पनि हट्छ र नयाँ हुन्छ भनेर। पार्टी एकतापछि हुने त्यही हो। उहाँहरू ९एमाले० ले हामीलाई आरोप लगाउँदा भन्नुहुन्थ्यो– जनयुद्ध अपराध हो, सैद्धान्तिक भूल हो। हामीले पनि उहाँहरूलाई संशोधनवादी भनेकै थियौं, अब चिज त्यसरी रहँदैन, विषय माथि उठ्छ। एकले अर्कोलाई आरोप लगाएर मात्र हुँदैन।

पार्टी एकता गर्ने विषय कम्तीमा आधारभूत राजनीतिक विषय जस्तो विगतलाई मूंल्याकन गर्ने सन्दर्भमा पनि एकरूपताको खोजी त गर्नुपर्ला, यसमा तपाईंहरूमा अन्तर अझै देखिन्छन् ?

दुवै कम्युनिस्ट पार्टी भएकाले उत्पीडित वर्गको अधिकारका विषयमा एमाले–माओवादी दुवैका समान धारणा छन्। पहिचानसहितको अधिकारका विषयमा एमाले पनि सकारात्मक नै छ। कम्युनिस्ट पार्टीको ‘आइडोलोजी’ त्यही हो। त्यसमा मतभेद भइराख्दैन। जहाँसम्म जनयुद्धलाई हेर्ने दृष्टिकोण र हामीले एमालेलाई हेर्ने दृष्टिकोणका विषयमा गम्भीरतापूर्वक नै एउटा भावना पलाउँछ, एउटा साझा धारणा बनाउँछौं र दुवै पार्टीले सम्मान पाएको ढंगले नै पार्टी एकता हुन्छ। त्यो खोजीमा नेताहरू लाग्नुभएको छ।

पार्टी एकताका प्रसंग चलिरहँदा अन्तरपार्टी वैचारिक बहस भएको देखिँदैन, मूल नेतृत्वले जे भन्यो त्यही मान्ने, विचारशून्यताको संस्कार दुवै पार्टीमा विकास भएर गएको होर ?

प्रदेशसभा सदस्यहरूले शपथ खाएपछि राष्ट्रियसभा चुनाव हुन्छ। संघीय संसद्ले पूर्णता पाउँछ। त्यसपछि बल्ल सरकार गठन प्रक्रिया अगाडि बढ्छ। अबको करिब एक महिना नयाँ सरकार निर्माणका लागि लाग्ला।

बहस नचलेको होइन, चलि नै रहेको छ। बहस दीर्घकालीन प्रकृतिका हुन्छन्, त्यस्तो गरी अहिले भएका छैनन्, हुन्छन्। तर नेपालमा कम्युनिस्टहरूको एकीकरण ‘सेन्सेटिभ’ छ। हामीलाई एकताबद्ध हुन नदिने, टुटोस्, असफल होस् भन्ने शक्ति पनि उत्तिकै सक्रिय भएर लागेको छ। त्यस्तो शक्ति र धार पनि छ, त्यो धारलाई सहयोग पुग्ने गरी छलफल गरिरहनुपर्छ भन्ने आवश्यक छैन। हामी त्यसको संवेदनशीलता र गम्भीरता दुवैलाई ख्याल गरेरै छलफल चलाइरहेका छौं।

पार्टी एकताका लागि तत्काल टुंग्याउनुपर्ने विषय के–के हुन् ?

कतिपय वैचारिक पक्ष महाधिवशेनबाट समाधान हुँदै जाला। तर पनि राजनीतिक पक्षमा हामी विमतिमा छौं जस्तो लाग्दैन। हामी दुवैले समाजवादलाई लक्ष्य बनाएका छौं। समाजवादको निम्ति संसदीय व्यवस्था प्रयोग गर्ने भनेर संयुक्त तालमेल गरेर चुनावमा पनि भाग लिइसक्यौं। देशलाई समृद्धिको दिशामा लैजाने जस्ता विषयमा हाम्रो एकमत छ। चुनावका बेला बनाएको साझा घोषणापत्र हाम्रो साझा धारणा हो। तत्कालको हाम्रो धारणा त्यही हुन्छ। त्यसपछि मात्र सांगठनिक कुरा हो। संगठनमा अहिले को–कसरी कहाँ भन्ने कामको विभाजन गर्नुपर्छ तत्कालै। यो पनि ठूलो र अप्ठ्यारो भएर बस्दैन। किनभने एकता गर्ने भनेपछि गर्नैपर्ने हुन्छ।

पार्टी एकताको कुरा निर्वाचनअगाडि उत्साहजनकरूपमा र पछिल्लो चरण शंका–आशंकाका रूपमा हेर्नुपर्ने गरी आइरहेको देखिँदैछ नि ?

मैले त्यस्तो देखेको छैन। धेरै आशंका बढ्यो भन्ने होइन। बरु त्यसलाई द्वन्द्वात्मक वैज्ञानिक ढंगले देख्ने, हेर्ने र त्यसका सकारात्मक र नकारात्मक पक्ष के हो भनेर हेर्न र बुझ्न सक्नुपर्छ। तर त्यसलाई शंकाको स्तरसम्म गइसक्यो भन्ने होइन।

वाम गठबन्धन निर्माण, पार्टी एकता गर्नेदेखि सरकार गठनसम्म उत्तरको हात रहेको आरोप दक्षिणले लगाएको छ नि ?

हामी दुई कम्युनिस्ट पार्टीबीच हुन लागेको एकतामा कसैको उत्साह, कसैको अनिच्छा होला, त्यो एउटा पाटो हो। तर पार्टी एकता गर्ने कुरा दुई पार्टीका दुई शीर्ष नेता बसेर आन्तरिक रूपमा गरेको विषय हो। यसमा वैदेशिक शक्ति केन्द्रहरूको हात छैन। यो हाम्रो आफ्नो मामिला भएकाले दुइटै पार्टीका नेताहरू बसेर गरेको फैसलालाई नितान्त कसैबाट निर्देशित, हस्तक्षेपकारी भूमिकाबाट भएको भन्ने आरोप सत्य होइन।

नेपालका लागि भारतीय पूर्व राजदूतहरूले त्यहाँका मिडियामा अन्तर्वार्ता दिँदा वा लेख नै लेखेर उत्तरको हात रहेको बताइरहेका छन् त, त्यसलाई कसरी असत्य भन्ने ?

उहाँहरूले के कसरी वा कुन आधारमा त्यस्तो टिप्पणी गरिरहनुभएको छ, थाहा छैन। त्यो सत्यमा आधारित छैन। उहाँहरूले आफैंले बोलिरहेका त्यस्ता अभिव्यक्तिको पुष्टि उहाँहरूले आफैंले पनि गर्न सक्नु हुन्न।

पार्टी एकतामा भारतीय र चिनियाँ चलखेल छैन भने पार्टी एकताको गाँठो किन फुस्किन सकेको छैन त ?

हाम्रै आन्तरिक र सैद्धान्तिक राजनीतिक घटनाक्रमका कारण अड्किएको हो। केही संगठनात्मक विषयमै छलफल चलिरहेको छ। भारत वा चीनको कारणले अड्किएको होइन। पार्टी एकता कसैको चाहनामा हुने र नहुने भन्ने विषय होइन। अहिले बाहिर हेर्दा जस्तो जटिलता भएजस्तो देखिएको छ, भित्रबाट हेर्दा त्यस्तो छैन। नेताहरू छलफलमा हुनुहुन्छ। अब छिटै एउटा निष्कर्षसहित पार्टी एकता हुन्छ।

प्रक्रिया कसरी जान्छ  ?

अहिले दुई नेताहरू बसिरहनुभएको छ। संयोजन समिति बस्छ। संयोजन समिति बसेपछि कतिपय प्राविधिक विषय कसरी मिलाउने रु छलफल हुन्छ। यो टुंगो लाग्छ। कतिपय विषय बाँकी रहन्छन्, त्यसमा नेताहरूका बीचमा छलफल हुँदै संयुक्त महाधिवशेनसम्म पनि जान्छ।

त्यसो भए कहिलेसम्म हुन्छ पार्टी एकता ?

छिटै हुन्छ। सरकार बन्ने प्रक्रियामा हिजो ९शुक्रबार० अध्यादेश जारी भएपछि अगाडि गएको छ। यो सँगसँगै अब पार्टी एकता प्रक्रिया पनि अगाडि बढ्छ।

नयाँ सरकार गठनमा गृहकार्य भइरहेको होला नि ?

अहिले यो विषयमा अझै सबै क्लियर भएको छैन। पहिले राष्ट्रियसभा गठनसम्बन्धी विषयमा केन्द्रित भएकोले अध्यादेश जारी भयो। अब त्यसको गठनका लागि समय, निर्वाचन आयोगले मिति तोक्ला, कार्यक्रम घोषणा गर्ला, प्रदेश प्रमुख र अस्थायी प्रदेशका राजधानीहरू तोक्ने कुरा होलान्। त्यसपछि प्रदेशसभा सदस्यहरूले शपथ खाएपछि राष्ट्रियसभा चुनाव हुन्छ। संघीय संसद्ले पूर्णता पाउँछ। त्यसपछि बल्ल सरकार गठन प्रक्रिया अगाडि बढ्छ। अबको करिब एक महिना नयाँ सरकार निर्माणका लागि लाग्ला।

नयाँ सरकार एमाले–माओवादीको मात्रै बन्छ कि मधेसकेन्द्रित दल पनि सहभागी हुन्छन्  ?

पार्टीगत एकता भयो भने एमाले र माओवादीको पहिला बन्छ। त्यसपछि अरू बाँकी दलहरूलाई पनि नजिक ल्याउने र संयुक्त मोर्चा बनाउने गरी जान सकिन्छ। यो विषयमा एकता संयोजन समितिको सुरुमा पनि हामीले छलफल गरेका थियौं। अब पनि संयोजन समितिमा छलफल हुन्छ। को आउँछन्, आउँदैनन् भन्ने कुरा अहिल्यै भन्न सकिँदैन।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी