माधव नेपाल भन्छन् -कसैसँग विलय होइन, सम्मानजनक एकता हुन्छ

210 Hits

काठमाडौं, १० पुस ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्रबीच विलय नभई सम्मानजनक एकता गर्न लागेको बताएका छन् । पार्टी महासचिव लगायतले माओवादीलाई माइनस गरेर एकता गर्ने अभिव्यत्तिm दिइरहेका बेला नेता नेपालले माओवादीलाई माइनस गरेर एकता हुन नसक्ने बताए । अन्नपूर्ण पोष्टसँग कुरा गर्दै नेता नेपालले भने अहिले माओवादीलाई माइनस गरेर सरकार पनि बन्दैन, एकता पनि हुँदैन । उनले एमाले एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा गठनको पक्षमा जान नसक्ने स्पष्ट पारे ।

माओवादी छाडेर फोरमसँग सहकार्य प्रयास गर्दै हुनुहुन्छ भन्ने सुनियो । कुरो के हो ?

हामी माओवादी र फोरम मात्रै होइन, संसद्‍मा रहेका अरू दलसँग पनि मिलेर जान चाहन्छौं । वाम गठबन्धनलाई सुदृढ बनाउँदै दुवैको पारस्परिक सल्लाहबाट अरू पक्षलाई पनि समेटेर लैजान खोजिएको हो । तर वाम गठबन्धनबाहिरका दलसँग सहमति भइसकेको छैन । मैले उपेन्द्र यादवजीलाई केही दिन अगाडि बालुवाटारमा भेट्दा सरकार निर्माणबारे कुरा गरौं भनेको थिएँ । उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको हो तर औपचारिक छलफल भएको छैन ।

माओवादीलाई माइनस गरेर सरकार गठन हुन लागेको हो कि ?

माओवादीलाई माइनस गरेर सरकार गठन हुँदैन । पहिले दुई पार्टीबीचको सम्बन्ध बलियो बनाएर मात्रै तेस्रो पार्टीलाई ल्याउने हो ।

धेरै पार्टीको सरकार स्थिर हुन्छ ?

अरु पार्टीलाई सरकारमा ल्याउँदैमा अस्थिर हुने होइन । विचारमा सहमति पनि हुनु पर्‍यो । विचारमा सहमति भएपछि सरकारमा ल्याउन गाह्रो छैन । सबैलाई समेटेर सरकार गठन गर अनि शान्ति र समृद्धि देऊ भन्ने नै आमचाहना हो । हामी सरकार निर्माणका लागि प्रमुख प्रतिपक्ष कांग्रेसबाहेक संघीय समाजवादी, मजदुर किसान, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदसँग पनि कुरा गर्छौं ।

फोरमसँग पनि एकता प्रयास गर्ने ?

हामी बसेर छलफल गर्न तयार छौं तर अहिले नै एकताका लागि भने होइन । सरकार निर्माणका लागि । फोरम फरक विचार बोक्ने पार्टी हो । विचारमा सहमत भए मात्रै एकता सम्भव हुन्छ ।

मधेसकेन्द्रित दलले संविधान संशोधनको मुद्दा छाडेका छैनन् । अब एमाले पनि त्यसमा लचक हुन्छ ?

संविधान संशोधनको विषयमा उपेन्द्रजी आलोचनात्मक नै रहनुभयो । मधेसी जनताको भावना र चाहना के हो, सरकारले राम्रोसँग सुन्नुपर्छ । राष्ट्रियता र नेपाली जनताको हितमा हुने कुनै पनि कुरालाई एमालेले स्वीकार गर्छ ।

वाम एकतामा ढिलाइ हुनुको मुख्य कारण के हो ?

कार्यव्यस्तता प्रमुख कारण हो । अहिलेको सरकारले पनि सरकार गठनका लागि समस्या खडा गरिरहेको छ । जनादेशको कदर नगर्ने प्रवृत्ति देखियो । त्यसमा हाम्रो बढी ध्यानकेन्द्रित भएको छ । प्रधानमन्त्रीसँग हामीले राष्ट्रियसभासम्बन्धी अध्यादेशको विषयलाई लिएर अनावश्यक ढिलासुस्ती नगर्न आग्रह गरेका छौं । प्रतिनिधिसभामा बहुमतप्राप्त नेता प्रधानमन्त्री हुने कुरा संविधानमै उल्लेख छ । राष्ट्रियसभा गठन नभए पनि सरकार गठन गर्न कानुनी जटिलता छैन तर महिलाको कुरा उठाएर समस्या खडा गर्ने काम भइरहेको छ, त्यो गलत हो ।

अध्यादेशबाट सरकार पछि हट्नुपर्छ भन्ने एमालेको निचोड हो ?

एमाले एकल संक्रमणीय व्यवस्थामा जान सक्दैन । त्यो संविधानविपरीत हुन्छ । ०४७ सालको संविधानमा उल्लेख भएको व्यवस्था हामीले सहमतिमै हटाएका हांै । स्थानीय निर्वाचनमा हारिसकेपछि राष्ट्रियसभामा सिट बढाउनकै लागि यस्तो व्यवस्था अध्यादेशमा ल्याइनु गलत कार्य हो ।

अब राष्ट्रियसभा निर्वाचन कसले गर्ने त ?

एकल संक्रमणीय व्यवस्था हटाउनुपर्छ । अब बन्ने सरकारले संविधानबमोजिम नयाँ ऐन निर्माण गरेर राष्ट्रियसभा निर्वाचन गर्छ ।

चुनाव जितेपछि वाम गठबन्धनमा जटिलता देखियो नि रु पद नमिलेर हो ?

पदको बाँडफाँट गर्न जान्नु नेतृत्वको कला हो । हिजो सिटको बाँडफाँट गर्न पनि गाह्रो थियो । त्यो पार लगायौं र जित्यौं । त्यही कुरा कांग्रेसको गठबन्धनले गर्न सकेन । पद बाँडफाँटमा कुनै समस्या छैन, सम्मानजनक रूपमा त्यो काम हुन्छ ।

पार्टी अध्यक्ष, संसदीय दलको नेता र सरकारको नेतृत्व तीनैवटामा एमालेले दाबी गरिरहेकाले एकीकरणमा जटिलता देखिएको भनिन्छ नि

औपचारिक रूपमा पार्टीगत भूमिका र जिम्मेवारी बाँडफाँट भएकै छैन । यो बाहिरी प्रचार मात्रै हो । पदीय विवाद हुने गरी जानु हुँदैन । नेताहरूले देशको बारेमा सोचेर त्याग गर्न पनि सक्नुपर्छ ।

अहिले पार्टी एकता छायाँमा परेको हो ?

पार्टी एकीकरणका लागि जनादेशप्राप्त दुई पार्टी पछाडि फर्किए भने जनताले राम्रो मान्ने छैनन् । उनीहरू जनताको नजरमा गिर्छन् । हामीले कसैसँग विलय हुने गरी होइन, सम्मानजनक एकता गर्न लागेका हौं ।

वाम एकतालाई दिगो बनाउन चुनौती देख्नु हुन्न ?

चुनौती छ । विचार सिद्धान्त र भूमिकामा सहमति चाहिन्छ अनि दिगो हुन्छ । त्यसका लागि हामीले धेरै कुरामा त्याग गर्न पनि सक्नुपर्छ ।

माओवादीले उठाइरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा एमाले पनि जान तयार भएको हो ?

यो एउटा पार्टीको धारणा हो । हाम्रो त्यस्तो धारणा छैन । यसमा छलफल गरेर टुंगोमा पुग्न सकिन्छ ।

तपाईं अब सक्रिय राजनीतिमै रहने कि राष्ट्रपति बन्ने ?

देशमा विकास होस् र जनताले समृद्धि देख्न पाउन् भन्ने मेरो चाहना हो । पार्टीले दिएको भूमिका म निर्वाह गर्छु । पदका लागि पार्टीमा एक से एक नेता हुनुहुन्छ । आपसी सहमतिमा जस्तोसुकै भूमिका पनि निर्वाह गर्न सकिन्छ । राष्ट्रपतिको विषयमा दुई पार्टीबीच छलफल हुनुपर्छ । मेरो यसमा दाबी छैन ।

Loading...

Related News

देशको समस्या समाधान गर्न नेकपाले बाहेक अरुले सक्दैन : नेपाल

काठमाडौं, १४ असोज नेकपाका नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समस्या समाधान गर्न नेकपाले बाहेक अरुले नसक्ने दावी…

माधव र झलनाथलाई साक्षी राखेर के भने प्रचण्डले ?

काठमाडौँ, २१ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी