स्थिर सरकार, विकास र समृद्धिका लागि नयाँ जनादेश

236 Hits

लामो समयको राजनीतिक संक्रमणकालको अन्त्य गर्दै २०७४ साल मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली राजनीतिमा नयाँ अध्यायको शुरुवात गरेको छ । २००७ साल देखि हालसम्मका विभिन्न राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने नेपालमा राजनीतिक स्थिरता कायम हुन सकेको थिएन । पटक पटक भएका आन्दोलन पश्चात बनेका सरकारले पनि जनभावनालाई पूर्ण रुपमा समेट्न नसक्दा आन्दोलनबाट प्राप्त उपलब्धि न त संस्थागत हुन सक्यो न त त्यसले स्थात्व नै लिन सक्यो । जसका कारण आन्दोलनबाट प्राप्त उपलब्धिले पूर्णता पाउन सकेनन् । २००७ सालमै उठेको संविधानसभाको नाराले साकार रुप लिन २०६४ साल पर्खनु प¥यो भने संविधानसभाबाट संविधान बन्नका लागि २०७२ साल कुर्नु प¥यो । त्यसैको निरन्तरता स्वरुप बनेको संविधानको कार्यान्वयनको पाटो निक्कै जटिल थियो र अझै केही चुनौति बाँकी नै छन् । संविधानसभाको गठन देखी संविधान निर्माण सम्मको एउटा चरण थियो भने त्यसपछि संविधान कार्यान्वयनको पाटो अर्को महत्वपूर्ण चरण हो । विशेषत स्थानिय निकायको निर्वाचनबाट संविधान कार्यान्वयनको यात्रा शुरु भएपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले संघियताका लागि नयाँ सरकार र नयाँ संरचनाको कार्यान्वयन गर्ने हुँदा पनि यसलाई नेपाली राजनीतिको कोसेढुंगाका रुपमा लिइनेछ ।

संक्रमणकालको अन्त्य-
नेपाली राजनीतिमा पटक पटक ठुला ठुला आन्दोलनहरु भए तर ति आन्दोलनहरुले जनताका भावना समेट्न नसक्दा नेपाली राजनीतिमा स्थायित्व आउन सकेन । जसका कारण विभिन्न समयका आन्दोलनले रुपमा परिवर्तन दिएपनि सारमा नेपाली राजनीति अस्थिरतामा नै रह्यो । नेपाली राजनीतिको पछिल्ला दुई दशक मध्ये एक दशक युद्धको चपेटामा रहयो भने त्यसपछिको एक दशक युद्धपछिको शान्ति स्थापना , युद्धले उठाएका परिवर्तनका आवाजहरुको सम्बोधनमा समय व्यथित भयो । संभवत तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा शासन सत्ता हातमा नलिएको भए युद्धरत तत्कालिन नेकपा (माओवादी) र अन्य राजनीतिक पार्टी विच सहमति र सहकार्यका लागि वातावरण अवश्य पनि हुने थिएन । युद्धको भुमरिबाट भुमिगत पार्टीले लगाएको नारा र अन्य दलको भाषणमा मात्रै सिमित बनेको गणतन्त्रको नाराले कार्यान्वयनको रुप लिनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा जननिर्वाचित सरकारको अपदस्त गर्ने कदम नै दलहरुविचको मिलनविन्दु बनेको थियो । त्यसपछि गणतन्त्र , संविधानसभाको गठन र त्यसबाट निर्मित संविधान कार्यान्वयनको चरण सम्म नेपाली राजनीति निक्कै दाउपेच, चुनौतिपूर्ण यात्राबाट अगाडि बढ्यो । २०६४ सालबाट शुरु भएको संविधान निर्माणको यात्रा पुरा हुन ठिक एक दशकको समय लाग्यो । २०७४ साल मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली राजनीतिमा लामो समयदेखी रहेको संक्रमणकालको अन्त्य गरिदिएको छ । संक्रमणकालको यस विचमा राजनीतिक स्थिरता नहुँदा पटक पटक सरकार परिवर्तनको खेलबाट पनि नेपाल ग्रसित हुन पुगेको थियो ।

राजनीतिक स्थिरता-
नेपाली राजनीतिको पछिल्लो ७ दशकको अबधि विभिन्न खाल्का राजनीतिक उतारचढाबमा नै विते । पटक पटकका राजनीतिक आन्दोलनका मागहरुलाई सम्बोधन गर्न नसक्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन । राजनीतिक अस्थिरताका कारण मुलुकमा विकास र समृद्धिको यात्राले गति लिन सकेन । पछिल्लो ११ वर्ष (जसलाई नेपाली राजनीतिको संक्रमणकालको रुपमा लिइन्छ ) यतामात्र १०पटक सरकार परिवर्तन भएको थियो । यस्तो अस्थिर राजनीतिक वातावरणमा देशले कहिल्यै विकासको फड्को मार्न सक्दैन । नेपाली राजनीतिमा संक्रमणकालको अन्त्य भएसंगै अब राजनीतिक स्थिरता कायम हुनेमा विश्वास लिइएको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको शुरुवात तिन तहको निर्वाचन सम्पन्न भए पश्चात एक कदम अघि बढेको छ । आन्दोलनले उठाएका धेरै राजनीतिक मुद्धाहरुको सम्बोधन भैसकेको र बाँकी मुद्धाहरुको पनि सम्बोधन हुँदै जाने हुँदा यस निर्वाचन पश्चात मुलुकमा राजनीतिक स्थिरता कायम रहनेछ भन्नेमा आशा गर्न सकिन्छ । संसदमा यसअघि दर्जनौ पार्टीको अश्तित्व रहेको थियो तर अहिलेको निर्वाचनमा विशेषत दुई वटा गठवन्धन विच चुनावी प्रतिस्पर्धा भएको थियो र प्राप्त चुनावी परिणामलाई हेर्दा पनि ५÷६ वटा भन्दा धेरै पार्टीको अश्तित्व संसद भित्र रहने देखिदैन । निर्वाचनमा दुइवटा गठवन्धन बनाएर सहभागि भएका (एमाले र माओवादी )को वामगठबन्धन र (नेपाली कांग्रेस र राप्रपा सहितको) लोकतान्त्रिक गठवन्धन मध्ये वामगठवन्धनले अत्यधिक बहुमत प्राप्त गरेको छ । जनताको नयाँ जनादेशले पनि आगामी दिनमा स्थिर राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गरेको छ ।

विकास र समृद्धिको चाहाना-
लामो समय अघि देखीको अस्थिर राजनीतिक वातावरणका कारण जहिले पनि राजनीतिक मुद्धा नै प्रमुख बन्दा त्यसैका लागि सधै नेपाली राजनीति केन्द्रीत बन्न पुग्यो । कुनै पनि देशको विकास र समृद्धिका लागि ७ दशक भनेको प्रयाप्त समय हो । यहि विचमा कम विकसित भनिएका मुलुकहरु पनि निक्कै विकसित र समृद्ध बन्न सफल भएका छन् । तर करिब ७ दशक यता हाम्रो मुलुक भने राजनीतिक अस्थिरताकै भुमरिमा फस्न पुगेको थियो । जस्का कारण विकासका राम्रा योजनाहरु न त बन्न नै पाए न त बनेका योजनाहरु राम्रो संग सम्पन्न नै हुन पाए । देश झन् पछि झन् गरिवीको रेखामा धकेलियो । संक्रमणकालको फाइदा सिमित तप्का ठेकेदार ,कालाबजारी , व्यापारी , भ्रष्ट कर्मचारी , भ्रष्ट नेता लगायत समाजका अहितकारी तप्काले मात्रै फाइदा लिन सफल भए । अस्थिर राजनीतिका कारण देशमा न त नयाँ कलकारखाना प्रयाप्त मात्रामा थप्पिन सके न त विदेशी सहयोगमा खुलेका कलकारखाना टिक्न सके । देशमा व्याप्त बेरोजगारी समस्याका कारण लाखौं युवाशक्ति बाहिरियो , त्यो क्रम अहिले पनि जारी छ । देशमा विकासको लहर बढ्नु त कता हो कता झन् वातावरण विग्रिएको कारण जनता स्थिर राजनीति मार्फत देशमा विकास र समृद्धिले गति लेओस् भन्ने चाहन्थे । स्थिर सरकार , समृद्धि र विकासको नारा वामगठवन्धनले जनतामाझ लगेपछि यो नाराप्रति आशा र भरोसा राख्दै जनताले उनैलाई भारी जनमत दिएका छन् ।

नयाँ जनादेश-
नेपाली जनमत नेपाली राजनीतिक पार्टीले सोचे भन्दा बिल्कुल फरक छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै निर्वाचन मार्फत आफ्ना जनप्रतिनीधि चुन्नु हो । तर एकपटक जनमत प्राप्त गर्नु भनेको सदाका लागि जनादेश प्राप्त गर्नु होइन । कतिपय राजनीतिक दलका नेताहरु ठान्छन् ति क्षेत्र सधै आफ्नो खल्तिको हो तर जनमत कहिल्यै त्यस्तो हुदैन । कसैले डर , त्रास र प्रलोभनमा जनमत बनाउँछु भन्दा त्यसले क्षणिक रुपमा त काम गर्ला तर अन्तत जनमत लिनका लागि जनताको मन जित्नै पर्छ । हरेक निर्वाचनमा ह्याभि वेट भनिएका शिर्ष नेताहरु पनि सामान्य ठानिएका प्रतिस्पर्धी संग हार व्यहोर्नु परेका उदाहरण प्रशस्तै छन् । गणतन्त्र पछिका ३ वटा निर्वाचनले तिन खाल्को जनमत दिएको छ । २०६४ सालमा विद्रोहबाट आएको माओवादी शक्तिलाई अत्यधिक जनमत दिएर जनताले पहिलो पार्टी बनाइदिए , २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसलाई र २०७४ सालमा नेकपा (एमाले) सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको छ । अहिले एकल पार्टीको हिसाबले एमाले पहिलो पार्टी बने पनि अहिलेको मुख्य प्रतिस्पर्धा वामगठवन्धन र लोकतान्त्रिक गठवन्धन विचको थियो । देशमा स्थिर राजनीतिक वातावरणका लागि पनि धेरै पार्टी विच भन्दा पनि दुइ शक्ति विच प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्दै समान विचार बोक्ने पार्टीहरु विच चुनावी तालमेल र एकता निर्वाचन अघि भएको थियो । वामगठबन्धनले राखेको स्थिर सरकार , विकास र समृद्धिको नारालाई यस निर्वाचनमा अत्यधिक जनमत प्राप्त भएको छ ।

स्थानिय निर्वाचनमा फुटेर लडेका मधेश केन्द्रीत दलले पनि २ नं. प्रदेशमा तालमेल गरेका छन् यस क्षेत्रमा मधेश केन्द्रीत दलको जनमत बलियो देखिएको छ । यो निर्वाचनमा पनि ३÷४ पटक त्यहि क्षेत्रबाट जित हासिल गरेका ह्याभि वेटका नेताहरुले हार व्योहोर्नु परेको छ । २०७० सालको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले यसपटकको निर्वाचनमा प्रत्यक्ष तर्फ तेस्रो स्थानमा ओर्लनु परेको छ भने २०६४ मा तेस्रो र २०७० मा दोस्रो बनेको नेकपा (एमाले)ले पहिलो पार्टी बन्ने निश्चित भएको छ । त्यसैगरी २०६४ सालमा पहिलो र ०७० मा तेस्रो पार्टी बनेको नेकपा माओवादी (केन्द्र)ले अहिले प्रत्यक्ष तर्फ दोस्रो स्थान हासिल गरेको छ । निर्वाचनबबाट प्राप्त जनमतबाट न त अत्यधिक मत प्राप्त गर्ने शक्ति मात्तिनु ठिक हुन्छ न त कम जनमत प्राप्त शक्ति आत्तिनु नै । जनताले ५ वर्षका लागि विश्वास गरेर मत दिएका हुन् । यो मतको कदर गरेर वामगठबन्धनले काम गर्न सके , समृद्धिको सपनालाई साकार गर्न सके फेरी तिनैले जनमत पाउलान् । प्रतिपक्षमा बसेर पनि जनताका लागि अहोरात्र खटे भने अहिले हारेकाले पनि अर्को पटक जनमत पाउलान् । यसर्थ हार्ने र जित्ने दुबै पक्षका लागि जनताको मन जितिरहनका लागि अबको ५ वर्ष मैदान हो ।
विष्वले अत्याधुनिक विकासको फड्को मारिसक्दा पनि हामी अविकसित राष्ट्रको रुपमा रहनु परेको दुर्दिन हटाउन अब राष्ट्रको एक मात्र एजेण्डा विकास र समृद्धि बन्न सकोस् । जनमत मार्फत जनताले दिएको नयाँ जनादेशको सम्मान गर्दै देशको यात्रा अघि बढ्न सकोस् । जनताको नयाँ जनादेश यसैमा नीहित रहेको छ ।
– नागरिक दैनिकबाट साभार

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी