कांग्रेसभित्र बहस- देउवापछि पार्टी सभापति कसले चलाउने ?

131 Hits

झापा, पुस २ ।  वाम गठबन्धनसँग शर्मनाक हार व्यहोरेको मुलुककै पूरानो दल नेपाली कांग्रेसभित्र पुनर्संरचनाको बहस शुरु भएको छ । शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अावाज उठ्न थालेको छ । तर, देउवाले राजीनामा दिएपछि पार्टी सभापति कसले चलाउने ? यसबारे कांग्रेसकै नेताहरु स्पष्ट छैनन् । कतिपय यस्ता नेता पनि देखिएका छन्, जो कांग्रेसको अहिलेको दुर्गतिका मुख्य खलनायक गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालाई मान्छन् ।

अहिले शेरबहादुर देउवालाई पनि त्यस्तै खलनायकका रुपमा विश्लेषण गर्न थालिएको छ । गिरिजाप्रसाद कोइरालाले मुलुकलाई गणतन्त्रको कोर्समा प्रवेश गराएको, आसन्न संवैधानिक संकट टार्न देउवाले आफ्नै पार्टी हार्दै गर्दा तीन तहको निर्वाचन गराएको र सिटौलाले माओवादीलाई जंगलबाट शान्ति प्रक्रियामा ल्याएर गल्ती गरेको बताउनेहरु कांग्रेसभित्र प्रशस्त छन् । कांग्रेसका कतिपय नेताहरु तत्काल पार्टी सभापति देउवाको राजीनामा चाहन्छन् ।

र, दोस्रो पुस्ताका नेतामा नेतृत्व हस्तान्तरण हुनुपर्ने ठान्छन् । तर, गम्भीर प्रश्न के छ भने देउवाले राजिना दिएपछि उनको विकल्प को ?

पूरानो पुस्ताका यी नेता

शेरबहादुर देउवा– पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा देउवाले संवैधानिक संकटको संघारमा मुलुकलाई निकास दिए । देशभर पार्टी नेताहरु हारिरहँदा उनले डडेलधुरामा आफ्नो विजय सुनिश्चित गरे । तर, आफ्नै पार्टी पाँच वर्षका लागि फराकिलो अन्तरसाथ प्रतिपक्षमा पुग्नुपर्ने नियतिबाट जोगाउन सकेनन् ।

नैतिक संकटमा जेलिएका देउवाबाट पार्टीको पुनर्संरचना गर्दै फेरि पुरानो विरासत फर्काउन सम्भव छ त ? पार्टीभित्र संशय झल्किन्छ । उनको विगतले पनि पार्टी पुनर्संरचनाको ‘कोर्स’को नेतृत्व लिन देउवा सक्षम रहेकोमा शंका छ । संसदीय व्यवस्थामा प्राडो, पजेरो, सांसद किनबेच, सुरा र सुन्दरीको प्रवेशका मुख्य कारक मानिन्छन्, उनी । जम्बो मन्त्रिपरिषद्को आफ्नै इतिहास ‘ब्रेक’ गर्दै अहिले प्रधानमन्त्री छन्, उनी । कांग्रेसको १३औं महाधिवेशनमा विपक्षी अर्थात् रामचन्द्र पौडेल नेतृत्वको समूहलाई फराकिलो अन्तरसाथ हराउँदै गर्दा देउवाको नेतृत्वमा पार्टीले नयाँ उचाइ प्राप्त गर्ने आशा देखिन्थ्यो, नेता/कार्यकर्तामा ।

भइदियो उल्टो, उनी तत्कालीन सुदूरपश्चिमको साँघुरो घेरामा रमाएको देखियो । र, राज्य सञ्चालनको पाटोमा विवादै विवादको चक्रमा पिल्सिँदै गर्दा देशव्यापी रुपमा कांग्रेस अलोकप्रिय बन्न पुग्यो । त्यसैले सभापति देउवाको नेतृत्वमा कांग्रेसको पुनप्र्राप्ति सम्भव देखिँदैन । ७२ वसन्त पार गरिसकेका देउवाबाट अब नयाँ सोच र नेतृत्वभन्दा अवकाशको जीवनको मात्र अपेक्षा गर्न सकिन्छ ।

रामचन्द्र पौडेल– सिद्धान्तका हिसाबले कांग्रेसमा अहिले सबैभन्दा नैतिकवान नेता हुन्, पौडेल । तर, अनुयायीको पाटोबाट नि ? आफूबाहेकका उनका सिद्धान्तका अनुयायी देखा पर्न सकेनन् । सिद्धान्त नै नबिकेका नेताबाट कांग्रेसको व्यवहारिक सुधार सम्भव छ त ? पौडेलका हकमा पनि हरियो नभई रातो झण्डा देखापर्छ, परिदृष्यमा । अझ, आफैंले चुनाव हारेको नैतिक बलबाट पौडेलको नेतृत्वले कांग्रेसको ‘ओभर हल’ सम्भव देखिँदैन । उनलाई साँघुरो मनका धनी व्यक्तित्वको आरोप पार्टीभित्रैबाट लाग्ने गरेको नयाँ विषय होइन । नेता हुन र नेतृत्व गर्नका लागि फराकिलो छाति अनिवार्य शर्त हो । ७३ औं वसन्त पूरा गरिसकेका पौडेलमा त्यस्तो फराकिलो छाति विकास हुने आशा न्यून देखिन्छ ।

शशांक कोइराला– कांग्रेसका संस्थापक, विचार र व्यवहारका पथद्रष्टा बीपी कोइरालाका कान्छा पुत्रका रुपमा शशांकप्रति पार्टीभित्र ज्यादा आशा र भरोसा पाइन्छ, कांग्रेसका नेता/कार्यकर्तामा । कांग्रेस राजनीतिमा लागेको कोइराला परिवारको दोस्रो पुस्ताका सबैभन्दा कान्छा सदस्य हुन्, शशांक । पार्टीको १२ औं र १३औं महाधिवेशनमा उनले कार्यकर्ताको लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ०६४ र ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा उनी तत्कालीन नवलपरासी–१ बाट फराकिलो अन्तरसाथ विजयी बनेका थिए । अहिले पनि फराकिलो अन्तरसाथ अगाडि छन् । पेसाले शशांक नेत्ररोग विशेषज्ञ थिए ।

‘टेक्नोक्र्याट’को पृष्ठभूमिबाट राजनीतिमा पदार्पण सहज विषय होइन । कांग्रेसको महामन्त्री बनिसक्दा पनि शशांकमा पूरानो पृष्ठभूमिले समस्या ल्याउने गरेको बेला–बेलामा प्रकट हुँदै आएको छ ।अबेर रातिसम्म बस्ने र बिहान ढिलो ओछ्यान छाड्ने दिनचर्याका कारण उनी कार्यकर्तामा भिज्न नसकिरहेको बताउनेहरु धेरै छन्, कांग्रेसमा । तर, लोभ नगर्ने र जति पनि खट्न सक्ने उनको व्यक्तित्वले आशा गर्ने झिनो ठाउँ दिन्छ ।

कांग्रेसमा दुई वर्गबाट पार्टी नेतृत्वमा पुग्ने परम्परा छ, वंश र वरिष्ठता । शशांकलाई वंश परम्पराका उत्तराधिकारीका रुपमा हेरिन थालेको दशक नाघेको छ । उनको विकल्पका रुपमा मानिने गरेका डा. शेखर कोइराला गृहजिल्ला मोरङबाट प्रतिनिधिसभा निर्वाचनमा पराजय भइसकेको सन्दर्भमा कोइराला परिवारका साझा उत्तराधिकारीको रुपमा शशांकलाई लिइन थालेको छ । तथापि, पार्टीको लज्जास्पद पराजयका पछाडि महामन्त्रीका रुपमा शशांकले पनि नैतिक जिम्मेवारी लिनुपर्ने अवस्था छ । र, कार्यकर्ताले शशांकलाई कति स्वीकार गर्छन्, त्यो भविष्यकै जिम्मा छाडिदिऊँ ।

शशांक कांग्रेसभित्र सक्रियता र संगठन विस्तारमा भन्दा रक्सी खाने र गेम खेलेर समय गुजार्ने बिलाशी नेताका रुपमा परिचित छन् । उनलाई पार्टी जिम्मा लगाउँदा देउवा भन्दा फरक नपर्ने कतिपय कार्यकर्ताको विश्लेषण छ । यद्यपि उनी कांग्रेसको सभापति दाबी गर्ने नेता हुन् ।विचारका हिसाबले पनि शशांक स्पष्ट छैनन् । उनी संविधानले प्रत्याभूत गरेको धर्म निरपेक्षताका विरोधी हुन् ।

कृष्णप्रसाद सिटौला– गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कांग्रेसमा अलग्गै गुट निर्माण गरेका छन्, सिटौलाले । भावी नेतृत्वको विकल्पका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका सिटौला झापा–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् । माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाका एक विश्वास पात्रका रुपमा सिटौलाले निर्वाह गरेको भूमिकाकै कारण उनी राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल बनेका हुन् । तर, ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भएको पराजय गणतन्त्र नेपालको पहिलो संसदमा पनि दोहोरिएको छ । भावी पार्टी सभापतिका रुपमा सिटौलाले सर्वस्वीकार्यता नपाउने स्थिति छ ।

प्रकाशमान सिंह– स्वर्गीय गणेशमान सिंहका पुत्र प्रकशमानले काठमाडौं–१ मा पार्टीको विरासत जोगाउँदै मुलुकभरको वाम लहरलाई चुनौति दिएका छन् । कांग्रेसको १२ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका उनी अहिले भने केन्द्रीय सदस्यको भूमिकामा मात्र छन् । सिंह पनि कांग्रेसभित्र नेतृत्वका दाबेदार हुन् । तर, उनीमाथि पार्टीको कुशल संगठक बन्न नसकेको, अल्छी एवं कार्यकर्तामाझ धेरै घुलमिल हुन नसक्ने नेताको आरोप छ ।

डा. रामशरण महत– राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र त्यसपछि अर्थमन्त्रीका रुपमा नेपाललाई खुला बजार अर्थतन्त्रमा प्रवेश गराउने डा. महत नै हुन् । कांग्रेसको इतिहासमा सबैभन्दा आलोचित पात्र पनि उनी नै हुन् । कम्युनिस्टहरुले कांग्रेसले सबै उद्योगधन्दा कौडीको भाउमा बिक्री गरेको आरोपको केन्द्रमा डा. महत नै छन् । सामाजिक सुरक्षाको पाटोमा सिन्को नभाँच्दै गर्दा र भत्ता वितरणको विपक्षमा आवाज उठाउँदै गर्दा उनी कम्युनिस्ट एजेन्डाका नकारात्मक पक्ष बुझाउन सर्वथा असफल देखिन्छन् । कांग्रेसको आर्थिक एजेन्डा नै गलत भएको बुझाइ कार्यकर्तामा झाँगिँदै गर्दा उनी त्यही नै सही भएको प्रमाणित गर्न असफल छन् । कांग्रेसले भविष्यमा आफ्नो विगतको आर्थिक नीति समीक्षा गर्नुपर्ने टडकारो आवश्यकताबीच डा. महत पार्टी पुनर्संरचना प्रक्रियामा ‘डेट एक्स्पायर्ड’ हुने जोखिममा देखिन्छन् । किनभने कांग्रेसको भविष्य कम्युनिस्टहरुले समातेको दलाल पूँजीवादी धारबाट उकालो लाग्ने कुनै सम्भावना छैन । डा. महतजस्ता नेता अबको कांग्रेसका लागि सर्वस्वीकार्य हुन सक्ने कुनै गुञ्जायस देखिँदैन ।

अर्जुननरसिंह केसी– नुवाकोटमा आफ्नै विरासत गुमाउन पुगेका केसीबाट कांग्रेस पुनर्संरचनाको नेतृत्व लिन सक्ने मनोबलको अपेक्षा गर्न सकिँदैन । राजनीतिक व्यक्तित्व भइकन पनि आफ्ना केही कमजोरीका कारण उनी आलोचनाका पात्र बन्दै आएका छन् ।

आरजु राणा– कांग्रेसको सम्भ्रान्त साइनो गाँसिएको छ, डा. राणासँग । पढेलेखेकी र विद्वान छविकी उनी कांग्रेसको संस्कार र शैलीसँग एकाकार हुन नसकिरहेको देखा पर्छ ।प्रधानमन्त्री पत्नीका रुपमा उनको भलादमीपन र परिपक्वता कार्यकर्ताको तहमा प्रतिबिम्बित हुन नसक्नु नै डा. राणाको मुख्य समस्या हो । तथापि, प्रधानमन्त्री देउवाको वृत्तमा भ्रष्टाचार मौलाउने मुख्य पात्रका रुपमा उनको आलोचना हुने गरेको छ । संघर्ष गरेर आएका नेताहरुले उनलाई नेता मान्दैनन् । र, ‘ब्याकडोर’ राजनीतिज्ञहरुकी संरक्षकका रुपमा उनी देखा पर्छिन् । प्रहरी, कर्मचारीको सरुवा, बढुवामा उनकै हस्तक्षेपका कारण देउवाले बदनामी बेहोर्नु परिरहेको आरोप लगाउनेहरु कांग्रेसमा प्रशस्त भेटिन्छन् । प्रत्यक्षतर्फ पहिलो चुनावमै पराजित भइसकेकी डा. राणाको नेतृत्वमा पार्टीको पुनर्संरचना असम्भव देखिन्छ ।

पूर्णबहादुर खड्का– पूर्वगृहमन्त्री खड्का सुर्खेतबाट चुनाव हारिसकेका छन् । कांग्रेस पुनर्संरचनाको नेतृत्व गर्ने मनोबल खस्किसकेको छ, उनको । आफ्ना समकक्षीमध्ये खड्का केही हदसम्म निष्कलंकित नेता मानिन्छन् । तर, उनी कुशल संगठन होइनन् ।

खुमबहादुर खड्का– भ्रष्टाचार काण्डमा जेल सजायँ भोगिसकेका खड्काबाट पार्टी पुनर्गठनको अपेक्षा गर्न सकिँदैन । कुशल संगठक भएका कारणले भ्रष्टाचार नडामिएको भए उनीबाट कांग्रेसको पुनर्गठन मात्र होइन, पुनर्जागरणकै अपेक्षा गर्न सकिन्थ्यो । तर, अहिले खुमबहादुर जति सक्रिय हुन्छन्, उति नै कांग्रेसको अलोकप्रियता बढ्छ ।

गोविन्दराज जोशी– भ्रष्टाचारमै मुछिइसकेका जोशीबाट पनि कांग्रेसको पुनर्ताजगी अपेक्षा गर्न सकिँदैन । वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन तनहुँ–१ मा जोशीले लगाएको बलकै कारण पनि उनी अब उक्त पार्टीको नेता नरहने संकेत पाइसकेका छन्, कार्यकर्ताले ।जोशीले आफूलाई पुरानो कांग्रेस दाबी गरे पनि उनी पार्टीको नेतृत्वमा आउने सम्भावना छैन । आए भने कांग्रेसलाई नाम हैन बदनामी नै बढ्ता हात लाग्ने छ ।

मझौला कदका यी नेताहरु

कांग्रेसभित्र मझौला कदका केही नेताहरु पनि छन् । तिनीहरुबाट कांग्रेसको शुद्धीकरण कसरी सम्भव होला ? यो उमेर समूहका नेताहरु यस्ता छन् ।

महेश आचार्य– एक समय थियो, आचार्यलाई कम्युनिस्टसँग वैचारिक टक्कर लिन सक्ने एजेन्डा रहेको मानिन्थ्यो । तर, लम्बेतान भाषणमै सीमित देखिन्छ, उनको व्यक्तित्व ।यसपटकको निर्वाचनमा वामपन्थीलाई अधिनायकवादी भन्दै घोषणापत्र तयार पार्ने नेता महेश नै थिए । यही घोषणापत्रले मुलुकभर पार्टीलाई पराजय चखायो । मोरङमा आचार्य आफैं पराजित बने । त्यसैले आचार्यबाट पार्टीलाई पुनर्ताजगी दिने आशा गर्न सकिने ‘ग्राउन्ड’ कमजोर भइसकेको छ ।

पार्टीको आर्थिक नीति नै गलत भएको बताउँदै आलोचना भइरहँदा डा. रामशरण महत सबै विष आफैं पिउन तत्पर देखिन्छन् । तर, त्यसको भागिदार आचार्य पनि हुन् । पार्टीभित्रै ‘देश बिगार्ने’ एक मुख्य पात्रका रुपमा आचार्यको आलोचना हुने गर्छ ।कार्यकर्तालाई वास्ता नगर्ने र घरको चौघेरामै रमाउने उनको बानीले पनि सक्रिय राजनीतिको अपेक्षा कमजोर बनाइदिन्छ । यसपालिको चुनावमा आचार्यले आफ्नो सम्धीलाई प्रदेशमा उठाएको चर्चा खुबै चल्यो ।कृषि विकास बैंकको जीएम बन्न खोज्दा गिरिजाले अर्थराज्यमन्त्री बनाएपछि आचार्यको सिंहदरबार यात्रा सुरु भएको हो । उनमा वौद्धिकता जति छ, संगठनात्मक कुशलता त्यति देखिँदैन ।

डा. मिनेन्द्र रिजाल– मोरङबाट आफ्ना सहयात्री सबै नेताले पराजयको सामना गर्दै गर्दा डा. रिजालले एकाएक चुनाव जितेर सबैलाई आश्चर्यमा पारेका छन् । सबैलाई मिलाउन सक्ने खुबीका कारण उनलाई पार्टीभित्र मन पराउनेहरुको कमी देखिँदैन ।तर, डा. रिजाल कुशल संगठक होइनन् । प्राज्ञिक व्यक्तित्वको छविले उनलाई पार्टी काममा चौबीसै घण्टा तैनाथ रहने सुविधा नदिइरहेको प्रतीत हुन्छ । परिस्थितिको विश्लेषण र रणनीति तयार गर्ने खुबीका कारण डा. रिजाल पार्टी पंक्तिमा चिनिएका छन् ।तर, पार्टीलाई नयाँ दिशा दिने सवालमा ‘ठूलाबडा’सँगको मात्र संगत गर्ने उनको बानी बाधक बन्न सक्छ । पटक–पटक मन्त्री बन्दा उनले त्यो घेरा नाघ्न सकेको देखिँदैनथ्यो । स–साना कमीकमजोरीलाई टाढा राख्न सके भने डा. रिजालबाट कांग्रेसजनले अपेक्षा गर्न सक्छन् ।

सुजाता कोइराला– कांग्रेसभित्र विवाद र चर्चामा आइरहने पात्र हुन् सुजाता । उनी न त कुशल संगठक, न पार्टी व्यवस्थापनमै अब्बल छिन् । तर, गिरिजाप्रसाद कोइरालाको विरासत भएका कारण उनी पनि नेतृत्वको दाबेदार बन्ने गरेकी छिन् ।पछिल्लो समयमा सुजाता निकै संयमित छिन् । शेरबहादुर देउवाले लिँदै गरेको भारतपरस्त नीतिको आलोचना गर्दै सुजाता पार्टीको नेतृत्व युवा पंक्तिलाई दिनपर्ने पक्षमा छिन् । विगतमा केही दुरी रहेपनि हाल शशांक, शेखर र सुजाता कोइरालावीच राम्रो सम्बन्ध विकास भएको छ ।केही महिना पहिले कोइरालात्रयले सामुहिक तस्वीर खिचाएर कांग्रेसको नेतृत्व आफूले गर्ने दाबी गरेका थिए ।

डा. शेखर कोइराला– कोइराला परिवारमा परिपक्व राजनीतिज्ञका रुपमा उदाउँदै गरेका डा. कोइराला यसपटकको निर्वाचनमा एमालेका सादगी नेता लालबाबु पण्डितसँगको पराजय का कारण कमजोर बनेका छन् । शेखर पार्टी सभापति देउवाका कटु आलोचक मानिन्छन् । स्थानीय तहको निर्वाचनमा असन्तुष्ट पक्षलाई आफ्नो वृत्तमा तान्ने उनको प्रयासको पार्टी वृत्तमा प्रशंसा भएको पनि थियो ।तर, अहिले आफैं निर्वाचनमा पराजित भएको अवस्थामा डा. कोइरालाबाट पार्टीको नेतृत्व लिने तत्परतामा संशय गर्ने ठाउँ छ ।

यी नयाँ अनुहार, जसलाई पुराना कांग्रेसले पत्याउँदैनन्

गगन थापा– कांग्रेस मात्र होइन, देशले नै आशा गरेका युवा नेता हुन्, थापा । देशभर कांग्रेसविरोधी लहर चल्दै गर्दा थापाले काठमाडौं–४ बाट विजय हासिल गरेर आफूलाई खरो उतारेका छन् । सामाजिक सञ्जालमा उनका ‘फलोअर’ व्यापक छन् । थापामा नेतामा हुनुपर्ने गुण पनि प्रशस्त पाइन्छ । कार्यकर्ताको संरक्षण र पार्टी संगठनको रक्षामा उनको कार्यशैलीलाई बेठीक मान्न सकिँदैन ।तथापि, उनको बेला–बेलामा आलोचना भइरहन्छ । उनकै समवयी नेताहरु पनि थापाको आलोचना गर्न पछि पर्दैनन् ।यद्यपि, कांग्रेसको पुनर्संरचनामा एक आशालाग्दा पात्र हुन्, गगन । प्रखर वक्ता, सबैसँग भिज्न सक्ने व्यक्तित्व र कुशल संगठकका नाताले कांग्रेसको नयाँ पुस्ताले गगनबाटै ज्यादा आशा गरेको पाइन्छ ।तर, गगनलाई कांग्रेसभित्रको पुरानो पुस्ताले अझे केटाकेटी ठान्छ र पत्याउँदैन ।

धनराज गुरुङ– यसपटकको चुनावमा पार्टी सभापति देउवाको कोपभाजनमा परेका नेता हुन्, गुरुङ । उनले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ टिकट पाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउन अग्रसरता लिएका कारण उनको देशव्यापी प्रशंसा भएको थियो । कार्कीको दादागिरिविरुद्ध उभिने सक्ने आँट कांग्रेसमा गुरुङले नै गरेका थिए । कार्कीका कागजात माग गर्दा सिंहदरबार निर्वस्त्र उभिएको र संसद पनि निर्वस्त्र बस्न नमिल्ने उनको भनाइले तहल्का पिटेको थियो, त्यतिबेला । निडर, कुशल संगठक र प्रखर वक्ता गुरुङबाट कांग्रेसले नयाँ पुनर्जागरणको अपेक्षा गर्न सक्छ । तर, उनलाई पनि पुरानो बूढो पुस्ताले पत्याउँदैन ।

विश्वप्रकाश शर्मा– नेविसंघको अध्यक्षका रुपमा कांग्रेसको राजनीतिमा उदाएका हुन्, शर्मा । उच्च राजनीतिक संस्कार यिनको मुख्य पहिचान हो । सबैसँग घुलमिल हुन सक्ने, कार्यकर्तामाझ भिजेको व्यक्तित्व निर्माण गरेका छन् । भविष्यमा कांग्रेसलाई नयाँ दिशा दिन सक्ने खुबी भएका नेताका रुपमा पनि उनी चिनिने गरेका छन् । तर, शर्माका लागि दुर्भाग्य बनेर आएको छ, चुनावमा पराजय । उनले पहिलो पटक होइन, दोस्रो पटक चुनावी असफलता बेहोर्नुपरेको छ । कांग्रेसको संगठन गर्ने आत्मबलमा चुनावमा विजयले सुनमा सुगन्धझैं हुने थियो । शर्माका लागि त्यो अवसर भने बाँकी रहेन । शर्माका आलोचकहरु भन्ने गर्छन्, भाषणको प्लट तयार गर्दै गर्दा शर्मा उपन्यासकार बन्न लागे । आगामी दिनमा ठोस एजेन्डासाथ कांग्रेसमा हाबी हुन सके भने शर्माको मात्र होइन, पार्टीको भविष्य पनि उज्वल देखिन्छ ।

सुरेन्द्र पाण्डे– अध्ययनशील, बौद्धिक र भद्र छवि निर्माण गरेका छन्, पाण्डेले पछिल्ला दिनमा । डा. बाबुराम भट्टराईका लागि गोरखा–२ छाड्दै गर्दा कांग्रेस सभापति देउवाले पाण्डेलाई संसदीय राजनीतिमा पछाडि पारेका छन् । कांग्रेसमा एउटा आशालाग्दा युवा हुन्, पाण्डे । तर, उनको ठाडो प्रस्तुती शैली साथीभाइ माझ आलोचनाको विषय बन्दै आएको छ । प्रखरवक्ता र कुशल संगठकका रुपमा चिनिएका पाण्डेले पनि कांग्रेसको पुनर्जागरणमा भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

गुरुराज घिमिरे– खासमा, यसपटक मोरङमा महेश आचार्यले रोजेको निर्वाचन क्षेत्रमा घिमिरेको दाबी थियो । हुँदाहुँदा प्रदेशसभाको सिटमा पनि सम्धीलाई टिकट दिलाएर आचार्यले घिमिरेलाई टेक्ने ठाउँसम्म दिएनन् । त्यस हिसाबले कांग्रेसको शीर्षतहबाट पीडित युवा नेता हुन्, घिमिरे । नेविसंघको अध्यक्षका रुपमा ०६२/६३ को आन्दोलनमा गणतन्त्रको नारा कांग्रेसमा प्रवेश गराउनमा उनको पनि योगदान थियो । तर, महामन्त्री गगन थापाको प्रखर वक्तृत्व शैलीका कारण छायाँमा परे, घिमिरे ।
हुन त कांग्रेसमा प्रदीप गिरीजस्ता विद्वानहरु पनि नभएका होइनन् । तर, उनबाट विचार विश्लेषण बाहेक संगठनात्मक नेतृत्व हुन सक्ने देखिँदैन । कांग्रेसमा विमलेन्द्र निधी अर्का पात्र हुन् । तर, उनमा पनि सर्वस्वीकार्य राजनेता हुने क्षमता देखिँदैन । माथि चर्चा गरिएका नेताहरुले आफूलाई सच्याउँदै अगाडि बढे भने कांग्रेसको पुनरोदय र पुनप्र्राप्तिको कोर्स पूरा होला । अन्यथा पुरानै ढंगबाट अघि बढ्यो भने कांग्रेसको ‘कमब्याक’ कठिन हुने देखिन्छ आगामी दिनमा ।-अनलाइन खबरबाट साभार

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी