फोहोर बालेर आगो ताप्ने गर्नुभएको छ ? होसियार ! यस्तो हुनसक्छ

160 Hits

काठमाडौं-

चिसो बढेसँगै विभिन्न स्थानमा जताततै भेटिने फोहोरमा विशेषगरी प्लास्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन् जसलाई बालेर ताप्ने प्रचलन बढ्दै गएको छ । यसो गर्दा निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरहन्छ जसले स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

जर्मनीस्थित इन्स्टिच्युट फर एड्न्भान्स सस्टेनेबिलिटी स्टडिज (आइएएसएस) का अनुसन्धान प्रमुख महेश्वर रुपाखेतीसहितको टोलीले गरेको काठमाडौं उपत्यकाको वायुको गुणस्तरसम्बन्धी अध्ययनले प्रदूषित वायु मध्याह्नपछि मात्रै घट्ने गरेको देखाएको थियो । मध्यान्हसँगै तातेर हलुंगो भएपछि मात्रै त्यो वायु बिस्तारै नगरकोटतिर लाग्ने र त्यहाँबाट बाहिरिने गरेको अध्ययनले देखाएको छ ।

चिसो बढी हुने भएकाले ताप्ने प्रयोजनका लागि बिहान र साँझको समयमा फोहोर बढी बालिने गर्छ । त्यही समयमा चिसो बढी हुने भएकाले निस्केको धुवाँ उपत्यकाबाट बाहिरिन धेरै समय लाग्ने विज्ञ बताउँछन् । साँझ आगो बाल्दा रातभर र बिहान बाल्दा मध्याह्नसम्म सतहमै धुवाँ रहिरहन्छ जुन श्वासप्रश्वासका क्रममा सीधै फोक्सोसम्मै पुग्छ ।

अन्य अध्ययनले पनि उपत्यकामा बिहान ८ देखि ९ बजेसम्म बढी प्रदूषण हुने र मध्याह्नदेखि साँझसम्म घट्ने देखाएका छन् । ‘वर्षभरि हुने प्रदूषणमा यसको हिस्सा ठूलो नदेखिएला तर चिसोमा बिहानको समयमा हुने प्रदूषणको एउटा कारक जथाभावी आगो बाल्नु पनि हो,’ अनुसन्धानकर्ता एवं जनस्वास्थ्यविद् डा. कृष्णकुमार अर्यालले भने ।

सन् २०१५ को अध्ययनअनुसार उपत्यकामा हुने वायु प्रदूषणको प्रमुख हिस्सा सडकको धुलो हो । यसको हिस्सा ३५ प्रतिशत छ । त्यस्तै यातायातका साधनबाट निस्किने धुवाँको हिस्सा ३४ प्रतिशत छ । यसैगरी फोहोर तथा कृषिजन्य अवशेष बाल्नाले २३ र इँटाभट्टाका कारण ६ प्रतिशत र अन्य स्रोतबाट दुई प्रतिशत वायु प्रदूषण भएको पाइएको छ । प्रदूषित हावाको अध्ययन गर्दा प्रदूषित वायुमा सबैभन्दा बढी ब्ल्याक कार्बन छ ।

हामीले सक्ने काम गरौं, विशेषगरी प्लास्टिकजन्य फोहोर बाल्न हुन्न, अन्य फोहोर बाल्नैपर्ने अवस्थामा पनि दिउँसो मध्याह्नतिर बाल्नुपर्छ’,

डा. अर्यालको भनाइमा जनस्तरबाट प्रदूषणका कारक घटाउन प्रयास भए सकारात्मक सुरुआत हुन सक्छ । ‘सरकारले घटाउने कुरा पर्खंदै गर्दा हामीले सक्ने काम गरौं, विशेषगरी प्लास्टिकजन्य फोहोर बाल्न हुन्न, अन्य फोहोर बाल्नैपर्ने अवस्थामा पनि दिउँसो मध्याह्नतिर बाल्नुपर्छ’, डा. अर्यालले भने ।

फोहोर बाल्ने प्रवृत्ति बिहानको समयमा बढी हुने भएकाले स्वस्थ हावा र शारीरिक व्यायामका लागि घरबाहिर निस्किने, बिहानैदेखि काममा जाने र चाँडै विद्यालय जाने बालबालिका बढी प्रभावित भइरहेका छन् ।

यसरी जथाभावी फोहोर बाल्ने प्रवृत्ति घटाउन सरकारले कार्ययोजना ल्याउने निर्णयसमेत गरे पनि प्रभावकारी कार्यान्वयन तथा अनुगमन हुन सकेको छैन । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा सरकारले गत चैत २९ मा मन्त्रिपरिषद्ले वायु प्रदूषण घटाउन २३ निकायको भूमिकासहित गर्नुपर्ने योजना प्रस्ताव गरेसँगै कार्ययोजना बनाएर लागू गर्ने निर्णय गरेको थियो ।  सो कार्ययोजनाको तेस्रो नम्बरमा फोहोर जलाउने कामलाई व्यवस्थित गर्ने बुँदा परेको थियो । कार्ययोजनामा फोहोर जलाउँदा उत्पन्न हुने तŒव वायु प्रदूषणको कारक भएको भन्दै फोहोर नजलाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र फोहोर जलाएको भेटिएमा दण्डित गर्ने उल्लेख गरिएको थियो ।

पछिल्लोपटक ०७४ मंसिर १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा ‘द्रुत कार्यान्वयन’ टोली गठन गर्ने निर्णय गरे पनि ठोस काम भएको छैन । टोलीले खुला क्षेत्रमा फोहोर बाल्ने काम रोक्न पहल गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञका अनुसार यसरी आगो बाल्दा कचौराजस्तो भौगोलिक अवस्थिति भएको उपत्यकाबाट धुवाँ हत्तपत्त निस्किन पाउँदैन । त्यसमा पनि चिसो मौसममा प्रदूषणका कण गह्रौं हुने भएकाले जमिनको सतहवरपर नै बसिरहन्छ । डा. अर्यालका अनुसार प्लास्टिक वा टायरजस्ता सामग्री बाल्दा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, गइअक्सन, फ्युरेनजस्ता तŒव निस्किन्छन् । त्यसमध्ये डाइअक्सन र फ्युरेनजस्ता तŒवले क्यान्सर गराउँछ ।

काठमाडौं उपत्यकाको हावामा श्वास नलीबाट फोक्सोसम्म पुग्नसक्ने पिएम २.५ माइक्रोनभन्दा मसिना कणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी भएको देखिएको छ । संगठनले १० माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम हुनुपर्ने भने पनि काठमाडौंमा औसत ४९ माइक्रोग्राम प्रतिघनमिटर भएको देखाएको छ ।

वायु प्रदूषणले तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रुपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमतासमेत ह्रास गराउँछ ।

विश्वव्यापी रुपमा हावाको खस्किँदो गुणस्तर र जलवायु परिवर्तन सबैभन्दा ठूला चुनौती बनेको छ, जसको परिणाम गुणस्तरहीन हावा, घट्दो भिजिबिलिटी, बालमृत्यु, श्वासप्रश्वासजन्य समस्या बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०१४ को रिपोर्टअनुसार प्रदूषणका कारण विश्वभर प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुन्छ । यसमा घरभित्रको र घरबाहिरको प्रदूषणको हिस्सा बराबरी छ । विश्व बैंकको सन् २०१६ को एक रिपोर्टले नेपालमा वायुप्रदूषणका कारण प्रत्येक वर्ष २२ हजार हाराहारीमा ज्यान जाने गरेको देखाएको थियो ।-दिपक दाहाल /नागरिक

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी