सेना सक्रिय, बढायो गस्ती, अस्थायी गुल्महरु थपीए

112 Hits

काठमाडौं, १५ मंसीर ।
प्रतिनिधि सभा र प्रदेश सभाको दोश्रो चरणको निर्वाचन आउन ६ दिन मात्रै बाँकी रहँदा नेपाली सेना देशभर सक्रिय भएको छ । सेनाले आफ्ना मातहतका सबै निकायहरुलाई उच्च क्रियाशीलता र सक्रियतका साथ गस्ती बढाउन निर्देशन नै जारी गरेको छ ।

उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सेनाले गस्ती बढाएको हो। मंसिर २१ गते हुने निर्वाचनका क्रममा आपराधिक समूहले बम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरूमा सेनाले निगरानी तिब्रतामा बढाएको हो।
सेनाले प्रत्येक १० किलोमिटरको रेन्जमा अस्थायी गुल्महरु स्थापित गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी विमानस्थल, सभाहरु हुने क्षत्र, मुख्य बजार क्षेत्र र जंगल क्षेत्रमा पनि सेनाले नियमीत गस्ती गर्न सुरु गरेको छ ।

सुनसरीका चारै निर्वाचन क्षेत्रका एक सय ६६ मतदानस्थल र पाँच सय २७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी बिहीबारदेखि सेना सक्रिय भएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिएको खबर अन्नपूर्ण पोष्टमा छ ।

निर्वाचन सुरक्षामा सेनाले गस्ती बढाएसँगै धरान, इटहरी, दुहबी, इनरुवा, हरिनगरा, कप्तानगन्ज, देवानगन्ज, बर्जु, महेन्द्रनगरलगायत स्थानमा सेनाको अस्थायी गुल्म स्थापना गरिएको छ। प्रजिअ पराजुलीका अनुसार अस्थायी गुल्मबाट सेनाले चौबिसै घन्टा मतदान केन्द्र, मतदाता र उम्मेदवारको सुरक्षा निगरानी बढाउनेछ।

सेनाले मुख्य ठाउँहरू, धरान, पानमारा, इटहरी, झुम्का, महेन्द्रनगर, प्रकाशपुर, इनरुवा, दुहबी, खनार बजारमा गस्ती बढाएको छ। सेनाले भारतसँगको सीमावर्ती भन्टाबारी, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, लौकही नाकालगायत आसपासका क्षेत्रमा पनि निगरानी बढाएको छ। बम विस्फोटका घटना बढेपछि सुरक्षा व्यवस्था मजबुत बनाउन चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको उनले सुनाए।

विमानस्थलमा पनि सेना
निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रुु कक्षमा सेना खटिएका छन्। अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्।

उम्मेदवारका घरमा विशेष सुरक्षा प्रदान गरेको उनको भनाइ छ। ‘सशस्त्र प्रहरी बलसँगको सहकार्यमा प्रहरीले उम्मेदवारको घरमा प्रहरी टुकडी राखेको छ’, उनले भने, ‘दलका कार्यक्रम सुरक्षाका कारण प्रभावित नहोस् भनी हामी चनाखो बनेका छौं।’

प्रहरी, सशस्त्र र सेनाको संयुक्त गस्तीसमेत सञ्चालन भएको छ। सुरक्षा संवेदनशीलताका आधारमा विभिन्न क्षेत्रमा नियमित अनि आकस्मिक गस्तीलाई जोड दिइएको हो। ‘हामीले नियमित गस्ती मात्र गरेका छैनौं’, उनले भने, ‘कुनै अवाञ्छित गतिविधि नहोस् भन्नका लागि सेना, प्रहरीको ठूलो जत्था ह्वात्तै सडकमा निकाल्ने अभ्यास थालिसकेका छौं।’झापा र सुनसरीका सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

जिल्ला प्रवेश गर्ने अनि बाहिर जानेको निगरानीका लागि सादा पोसाकमा सुरक्षाकर्मीले निगरानी बढाएका छन्। भारतसँगको सीमावर्ती क्षेत्रमा सेना र सशस्त्रले संयुक्त गस्ती गरिरहेका छन्। साना हतियार ओसारपसार हुने सम्भावनाका कारण कुकुरसहितको गस्तीलाई नियमित अनि आकस्मिक बनाइएको स्थानीय प्रशासनले जनाएको छ।
‘हामीले आदेशअनुसार जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्ने प्रयास गरेका छौं’, उनले भने, ‘विमानस्थल, कारागार, अन्तरजिल्ला सिमाना, दलका उम्मेदवार र द्विदेशीय सिमाना प्राथमिकतामा परेका छन्।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी