केटीको चक्करमा बर्बाद बाबाहरू : राजनीतिदेखि व्यापारसम्म पहुँच

362 Hits

भारतमा बाबालाई ईश्वरकै रूपमा लिनेहरूको संख्या निकै ठूलो छ तर बाहिर धर्मगुरु बताउने बाबाहरू केटीको चक्करमा बर्बाद भएका कैयौँ  घटना सतहमा आएका छन् । तमाम भौतिक सुख त्यागेर जोगी जीवन बिताउने बाबाका आधुनिक अवतार कुनै बिजनेस टाइकुनका भन्दा कम छैनन् । उनीहरू राजसी ठाँटमा सुखसयल र मोजमस्तबीच रमाइरहेको पाइन्छ । रमाइलो त के भने पछिल्लो समयमा बाबाहरू व्यापार–व्यवसायको ठूलै साम्राज्य हाँक्न थालेका छन् ।

मानव कल्याणका लागि व्यापार–व्यवसायको साम्राज्य निर्माण एवं परोपकारमा त्यसको आम्दानी खर्च गर्ने कुरालाई त जायज नै मान्न सकिएला, तर कतिपय बाबा त्यही आफ्नो बिजनेस र बाबा पदको आवरणमा अनैतिक कर्ममा समेत संलग्न पाइँदै आएका छन् ।

खासगरी भारतीय समाजमा ठूलो धार्मिक साम्राज्य खडा गरेका र समाजमा चर्चामा रहेका बाबाहरू नै सुरा–सुन्दरीहरूमा लहसिएर विवादमा तानिएका पाइन्छन् । अझ रोचक त के छ भने यस्ता कर्मकाण्डी बाबाहरू जेलको हावासमेत खाइरहेका छन् । यस्तै, घटना गत हप्ताको सोमबार प्रमाणित नै भयो । ५० वर्षीय चर्चित बाबा गुरमित रामरहिम सिंह दुई महिलालाई बलात्कार गरेको प्रमाणित भएपछि जेल गए । रामरहिम भारतमा सुन्दरी र यौनसँग जोडिएर बदनाम हुने अनि विवादमा तानिने एक्ला बाबा भने होइनन्

बाबा परमानन्द 

उत्तर प्रदेशको बाराबान्कीका बाबा परमानन्द उर्फ रामशंकर तिवारीमाथि लागेको आरोपअनुसार सन्तान दिने नाममा उनी महिलामाथि बलात्कार गर्थे अनि त्यसको भिडियो बनाएर उनीहरूलाई ब्ल्यामेकल गर्दै निरन्तर शारीरिक शोषण गर्थे । बाबा परमानन्दविरुद्ध १२ वटा मुद्दा दर्ता भएका थिए ।

एक पटक बाबाको आश्रमको एउटा कम्प्युटर बिग्रियो । त्यसलाई मर्मत गर्न हार्डवेयर पसलमा पठाइयो । पसलेले कम्प्युटर बनाउने क्रममा आश्रममा तयार पारिएको एउटा अश्लील भिडियो फेला पारे, जसलाई उनले भाइरल बनाइदिए । त्यसपछि पुलिसले बाबाको बारावान्कीस्थित आश्रममा छापा मार्‍यो र त्यहाँबाट अश्लील भिडियोका सिडी तथा अश्लील साहित्यका पुस्तकहरू पनि बरामद भए । पुलिसले परमानन्दलाई २४ मई २०१६ मा गिरफ्तार गर्‍यो । ६५ वर्षीय यी बाबा अहिले लखनउ जेलमा सजाय काटिरहेका छन् ।

आशाराम 

सन् १९४१ मा जन्मिएका आशारामले भगवानको खोज गर्ने भन्दै २३ वर्षकै उमेरमा घरबार त्यागेका थिए । यी बाबाको नाममा कैयौं सहरका चौराहको नाम राखिएको थियो । टिभीमा बिहान–बिहानै उनको प्रवचन पनि आउँथ्यो । आशारामले देश विदेशमा ४ सयभन्दा बढी आश्रम निर्माण गरेका छन् । आशाराममाथि उनको आश्रमकी नाबालिकामाथि बलात्कार गरेको घटना बाहिर आयो । आशारामसँगै उनका छोरा नारायण साईं पनि महिलाविरुद्धको उत्पीडनमा दोषी प्रमाणित भए । बलात्कारका दोषी आशाराम १ सेप्टेम्बर २०१३ देखि जोधपुर जेलमा बन्द छन् । उच्च अदालत तथा सर्वोच्च अदालतले उनको जमानत अपिल पनि खारेज गरिदियो । आशारामसँगै उनका छोरा पनि जेलमै छन् ।

भीमानन्द 

भीमानन्द आफूलाई भगवानको अवतार बताउँथे । ठाउँ–ठाउँमा धार्मिक प्रवचन दिएर धर्म कर्मको कुरा सिकाउँदै हिँड्ने यी बाबाले त्यस्तो कार्य गरे होलान् भनेर कसैले विश्वास नै गरेका थिएनन् । सबै जना त्यतिबेला आश्चर्यचकित भए जब आफैंलाई ईश्वर बताउने यी बाबाले सेक्स र्‍याकेट चलाएको तथ्य बाहिर आयो । भारतीय समाचार एजेन्सीहरूका अनुसार भीमानन्दको वास्तविक नाम शिवमूरत हो, उनी उत्तरप्रदेशको चित्रकुट निवासी हुन् ।

सन् १९८८ मा उनी दिल्ली पुगेका थिए । भीमानन्दले दिल्लीमा सबैभन्दा पहिले एउटा फाइभ स्टार होटलमा गार्डको जागिर गरे । त्यसपछि मसाज पार्लरमा काम गरे । सन् १९९७ र १९९८ मा उनी वेश्यावृत्तिको आरोपमा पक्राउ परे । जेलबाट छुटेपछि उनले आफ्नो नाम मात्र परिवर्तन गरेनन्, आफूलाई इच्छाधारी सन्त स्वामी भीमानन्द महाराज बताउन थाले । यति त ठीकै थियो, जेल परे पनि उनमा कुनै परिवर्तन आएन, बरु उनी दिल्लीको लाजपत नगरमा सेक्स र्‍याकेट चलाउन थाले ।

फ्रेबुअरी सन् २०१० मा पुलिसले दुई जना एयरहोस्टेजसहित ८ जनालाई सेक्स र्‍याकेट चलाएको आरोपमा गिरफ्तार गर्‍यो । त्यसको तार खोज्दै जाँदा भीमानन्दसँग गएर जोडियो । अनुसन्धानका क्रममा यो तथ्य बाहिर आयो कि उक्त सेक्स र्‍याकेटको मास्टर माइण्ड ३९ वर्षीय शिवमुरत अर्थात् स्वामी भीमानन्द नै हुन् । सर्प नचाउने कलामा निपुर्ण यी बाबाले ६ सयभन्दा बढी महिलालाई यौन व्यवसायमा लगाएका थिए ।

नित्यानन्द 

बैग्लोरको बिदारीस्थित अधीनम मठका २९३ औं प्रधान नित्यानन्दको तमिल अभिनेत्री रन्जीथासँगको एमएमएस भाइरल भयो । उनका कैयौं शिष्यले पनि उनीमाथि यौनशोषणको आरोप लगाएका थिए, तर बाबाका तर्फबाट उक्त एमएमएस र अन्य आरोपहरूको खण्डन गरियो । अनुसन्धानका क्रममा नित्यानन्दको कोठाबाट कन्डम तथा गाजा बरामद गरिएको थियो । जुन २०१२ मा उनलाई पक्राउ गरेर जेल पठाइयो । अहिले यी बाबा जेलबाहिर निस्किसकेका छन् । नित्यानन्दविरुद्ध सन् २०१० मा ठगी तथा अश्लील सामग्रीको व्यापार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

गुरमित रामरहिम सिंह 

गुरमित रामरहिम सिंह विश्वभर ५ करोड अनुयायी भएको भनिएको डेरा सच्चा सौदाका प्रमुख हुन् । हरियाणा राज्यको सिरसास्थित डेरा सच्चा सौदाका अन्य विभिन्न ठाउँमा पनि शाखा छन् । दुई महिलामाथि बलात्कारको आरोप प्रमाणित भएपछि पंचकुलास्थित सीबीआई अदालतले उनलाई २० वर्ष जेल सजाय तोकेको थियो । २८ अगस्ट २०१७ देखि उनी जेलजीवन बिताइरहेका छन् । आफूलाई धार्मिक गुरु, सामाजिक लिडर, अभिनेता, निर्देशक, गीतकार तथा रकस्टार बताउने यी बाबाविरुद्ध सन् २००२ मै सिरसास्थित डेरामा साध्वीविरुद्ध बलात्कार गरेको आरोप लागेको थियो जुन १५ वर्षपछि प्रमाणित भएको हो ।

 

अर्का विवादित बाबा 

विवादित तान्त्रिक चन्द्रास्वामी राजस्थान निवासी हुन् । सन् १९४८ मा जन्मिएका चन्द्रास्वामीको वास्तविक नाम नेमीचन्द जैन थियो । उनको सिंगो जीवन विवादकै घेरामा छ । नेतादेखि अभिनेतासम्ममा उनले आफ्नो जादु चलाए ।

राजनेताहरूमाथि चन्द्रास्वामीजति प्रभाव पार्ने सायदै अन्य कुनै ज्योतिष वा धर्मगुरु होलान् । चन्द्रास्वामी कतिसम्म प्रभावशाली थिए भने नरसिंहा राव भारतको प्रधानमन्त्री हुँदा उनी समय नै नलिई उनीसँग भेटघाट गर्न सक्थे ।

चन्द्रास्वामी तान्त्रिक बन्नुपूर्व राजनीतिमा थिए । रावले स्वामीलाई हैदरावाद युवा कांग्रेसको महासचिव बनाएका थिए । केही दिनपछि चन्द्रास्वामी विहार–नेपाल सीमामा तान्त्रिक साधनाका लागि अमरमुनि नामक एक साधुको चेला बने ।

राजीव गान्धीको हत्याको केसमा उनीमाथि हत्यारालाई वित्तीय सहयोग गरेको आरोप लागेको थियो । केन्द्र सरकारले उक्त हत्याकाण्डको अनुसन्धानका लागि मिलाप चन्द्र जैन आयोग बनाएको थियो, जसले लगभग ६ सय पृष्ठको आफ्नो रिपोर्टमा चन्द्रास्वामी राजीव गान्धीको हत्याको षड्यन्त्रकारी शिवरासनको सहयोगी सावित गर्ने प्रयास गरेको थियो । यद्यपि उक्त रिपोर्टलाई भारतको कुनै पनि अदालतले विश्वसनीय मानेनन् ।

चन्द्रास्वामीको सम्बन्ध पूर्वविदेशमन्त्री नटवरसिंह, बेलायतकी पूर्व प्रधानमन्त्री मारगेट थ्याचर, अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगनकी श्रीमती तथा हलिउड स्टार एलिजावेथ ट्रेलरसँग पनि रहेको बताइन्छ ।

नटवर सिंहका अनुसार एक पटक थ्याचरले पनि तान्त्रिक चन्द्रास्वामीसँग भेटघाट गरेकी थिइन्, त्यतिबेला उनले थ्याचर बेलायतको प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताइन्छ । चन्द्रास्वामीलाई विदेशी मुद्दा अपचलन गरेको केसमा सन् २००९ मा अदालतले ९ करोड रुपैयाँ जरिवाना तिराएको थियो । लन्डनका एक व्यापारीलाई ठगेको आरोपमा उनी सन् १९९६ मा पक्राउसमेत परेका थिए । चन्द्रास्वामीको मे २०१७ मा ६९ वर्षको उमेरमा मृत्यु भैसकेको छ ।

किसिङ बाबा

केही दिनपहिले सोसल मिडियाका भारतीय प्रयोगकर्ताहरूमाझ एक बाबाले एउटी युवतीसँग चुम्बन गरिरहेको तस्बिर भाइरल भयो, जसमा हाइवेमा बाबा र युवती देखिन्छन् । उक्त तस्बिर भाइरल भएपछि तस्बिरमा देखिएकी युवतीले प्रहरी समक्ष छिमेकी युवाविरुद्ध उजुरी हालेकी थिइन् । आफ्नो उजुरीमा उनले ती युवाले आफ्नो बदनामी गर्न खोजिरहेको आरोप लगाएकी छिन् ।

सोसल मिडियामा बाबाको नाम हरमेल दास बताइएको छ । यी बाबाले हरिद्वारको सप्तऋषि इलाकामा रहेको हरिहर आश्रममा निकै समय व्यतीत गरेका थिए । सोसल मिडियामा तस्बिर भाइरल भएपछि दिल्लीस्थित आश्रमबाट बाबा हरमेल दासलाई निष्कासन गरिएको छ । भारतीय मिडियाहरूकाअनुसार आश्रमको बदनामी हुने डरले उनलाई निष्कासन गरिएको हो ।

सामाजिक सञ्जालमा युवतीले भारतीय प्रहरी समक्ष गरेको उजुरीको कपी पनि भाइरल भएको छ, जसमा युवतीले आफ्नो ठेगाना नयाँदिल्ली लेखेकी छिन् । रिपोर्टहरूका अनुसार युवतीले हौज काजी पुलिस थानाको अपराध शाखामा ३० अगष्टमा उजुरी हालेकी हुन् । उनले आफ्नो उजुरीमा गलत तस्बिर राखेर आफ्नो बदनामी गरिएको दाबी गरेकी छिन् । यता बाबाले भने आफूलाई फसाउन कसैले षड्यन्त्र गरेको दाबी गरेका छन्, तर युवतीले आफूले बाबालाई चिन्ने कुरा भने स्वीकार गरेको बताइएको छ / -कान्तिपुर साप्ताहिकबाट

Related News

Comments are closed