राजधानीमा दिदाहाडै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या
काठमाडौं, २३ असोज ।
निर्वाचनको माहौल तात्दै गइरहेको बेला राजधानी काठमाडौंमा दिदाहाडै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गरिएको छ । आफ्नो घर शान्तिनगर बाट अनामनगर अफिस जाने क्रममा राजधानीको बानेश्वर नजीक गौचनको हत्या गरिएको हो ।
गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका छन् ।
बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । उनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।
गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फ गाडीको शिशामा ढुंगा प्रहार गरी गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।
राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।