चीनमा समाजवादका लागि सङ्घर्ष : बो सिलाइ प्रकरणको अर्को पाटो

149 Hits

–  युझी झाओ

ताहिर स्क्वायरदेखि वाल स्ट्रिटसम्म, एथेन्सदेखि मोन्ट्रियलसम्म मुक्तिका सपनाहरू विश्वभरि नयाँ विद्रोहको प्रवाह बनेर गतिशील भइरहेका छन् । साथसाथै दम नकारी शक्तिहरू पनि लामो पुँजीवादी आर्थिक सङ्कटपछि “नयाँ अतिरिक्त मूल्य प्राप्त गर्ने नयाँ स्थिति”  निर्माण गर्ने उद्देश्यका साथ  “सामाजिक नियन्त्रणको नयाँ संयन्त्र” जताततै तैनाथ गरिरहेका छन् । अरब स्प्रिङपछि कतिपयले चिनियाँ लोकप्रिय जनउभारलाई  पर्खेर बसेका थिए ।  उल्टै २०१२ को वसन्तदेखि विश्वले चिनियाँ कम्युनिस्ट पार्टी  छुक्विङ प्रमुख तथा पोलिट ब्युरो सदस्य बो सिलाइको समृद्धि तथा विकासको छुक्विङ  मोडल माथिको आक्रमणासित सम्बद्ध सम्भ्रान्तहरूको एउटा सनसनीपूर्ण नाटक देखिरहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी ठूलै स्तरको सामाजिक आक्रोस थेग्न समर्थ भए पनि चीनमा सत्ता सङ्क्रमणका खतरनाक वर्षहरूमा सम्भ्रान्तहरूबीचमा रहेको विभाजन राजनीतिक सङ्घर्षको केन्द्रबिन्दु रह्यो ।

चिनियाँ कम्युनिस्ट पार्टी ठूलै स्तरको सामाजिक आक्रोस थेग्न समर्थ भए पनि चीनमा सत्ता सङ्क्रमणका खतरनाक वर्षहरूमा सम्भ्रान्तहरूबीचमा रहेको विभाजन राजनीतिक सङ्घर्षको केन्द्रबिन्दु रह्यो ।

बो (बो सिलाइ) को निष्कासन यति हलचल मच्चाउने खालको थियो कि यसलाई भूकम्पको ठूलो धक्काको रूपमा  चर्चा गर्दै यसलाई माओले उत्तराधिकारीका रूपमा अघि सार्नुभएको लिन प्याओको १९७१ को पतन तथा  १९८९ को दमनको हाराहरीमा लिइयो । बो सामान्य पोलिट ब्युरो सदस्य थिएनन्, न त “छुक्विङ मोडेल”  चिनियाँ नीतिनिर्माण प्रक्रियासित मेल खाने “विकेन्द्रित प्रयोगशीलता” को अर्को उदारहण नै थियो ।२ यो निकै चर्चाको विषय थियो,  जसलाई समाचार माध्यमहरूले पनि निकै ठाउँ दिएका थिए : यो विकासका दुई मोडल “ग्वाङ्दोङ मोडल” र  “छुक्विङ मोडेल” बीचको अन्तर थियो । ग्वाङ्दोङ खुलाबजारको प्रतिकका रूपमा चित्रित थियो, जसले असमानताको विकास गराएको थियो  र निर्यातमुखी थियो । छुक्विङ चाहिँ जनप्रिय उद्देश्य र समाजवादी विचारको पुनरागमनका रूपमा चित्रित गरिन्थ्यो, जसले द्रुत र सन्तुलित उत्पादनमा जोड दिन्थ्यो । आजको यो सन्दर्भ   बोको भविष्यसित मात्र जोडिएको कुरा थिएन, चीनको क्रान्तिकारी विगत पनि थियो, जुन, घरेलु र बाह्य वर्ग राजनीतिको जटिल दोबाटो र अपूर्ण चिनियाँ समाजवादी सङ्घर्षसित जोडिएको थियो ।

वाम झुकाव राख्ने चिनियाँ अनलाइन माध्यमहरूले  बोको निष्कासनलाई “३.५ को कु” को संज्ञा दिएका छन्, किनभने  यो चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका बोका  विरोधीहरूले  मार्च १५ मा उनलाई सम्भावित शक्तिशाली पद पोलिटब्युरोपछिको स्थायी समितिमा आउनबाट रोक्न मात्र नभई चीनको विकासको मार्गमा जनहितकारी कार्यमा फड्को मार्नका लागि  लाभकारी हुने कार्यलाई रोक्न गरिएको  आक्रमण  पनि थियो । दक्षिणपन्थीहरूले  बो र उनका पक्षधरहरूमाथि शक्ति हात पार्नका लागि उनीहरू “कु” को  प्रयासमा छन्, जसबाट चीनलाई फेरि सांस्कृतिक क्रान्तिताकाको अँध्यारो दिनमा धकेल्न सकियोस् भन्ने आरोप लगाएका थिए । वास्तवमा उनीहरूले बोमाथि लगाएको  सामान्य “कु” र “प्रति–कु” को आरोपभन्दा असली प्रगति साँच्चिकै जटिल र कष्टसाध्य कार्य थियो ।

बो प्रकरणसित सम्बद्ध आधारभूत कथाको दिशा चीरपरिचित छ । फ्रेब्रुअरी ६, २०१२ चिनियाँ उपराष्ट्रपति सि जिनपिङको अमेरिका भ्रमणको केहीअघि, बोका दाहिने हात भनिने  र छुक्विङका अपराधीहरूलाई ठीक पार्ने भनेर कहलिएका पूर्वप्रहरी प्रमुख वाङ लि जुनले चेङ्दुस्थित अमेरिकी कन्सुलेटमा राजनीतिक शरण लिने प्रयास गरेका थिए । सम्बद्ध अधिकारीहरूबीच तदारुकताका साथ समझदारी कायम गरेर वाङलाई बेजिङका केन्द्रीय सुरक्षा अधिकारीहरूको जिम्मा लगाइएको थियो । मार्च ९ मा बेजिङमा भएको पत्रकार सम्मेलनमा बोले वाङको जिम्मेवारी लिए पनि छुक्विङमा आफूले गरेका प्रयोगको पक्षमा भने जोडदार रूपमा उभिए ।  मार्च १४ मा चिनियाँ प्रधानमन्त्री वेन जिबाओले बोको छुक्विङ नेतृत्वको खुलेर आलोचना गर्दै,  बोले सांस्कृतिक क्रान्ति पुन निम्त्याउन खोजेको आरोप लगाए । मार्च १५ मा बिनाकुनै आधिकारिक स्पष्टीकरण बोलाई चिनियाँ कम्युनिस्ट पार्टी छुक्विङको सेक्रेटरी पदबाट हटाइयो । त्यसपछि अप्रिल १० का दिन रातको ११ बजे चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले, बो प्रकरणमा “मध्यरातको भय” नामले  चर्चित समाचारमा, बोलाई पोलिट ब्युरो र केन्द्रीय समिति सदस्यबाट हटाइएको समाचार सार्वजनिक गरे । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको महत्वलाई कुनै पनि आधारभूत राजनीतिक मतान्तरसित जोड्ने काम गरिएन ।  बोलाई “अनुशासनको गम्भीर उल्लङ्घन” अभियोगमा अनुसन्धानमा राखिएको भनियो र उनकी श्रीमती गु कइलाईलाई “ब्रिटिस व्यापारी” निल हेउड, जसको बोकी श्रमिती र छोरासित राम्रो सम्बन्ध थियो, उसको हत्याको आशङ्कामा हिरासतमा राखियो । अगस्त ९, २०१२ का दिन एकदमै कडाइका साथ नियन्त्रित अदालतमा उनलाई प्रस्तुत गरियो, जुन थुप्रै अनुत्तरित प्रश्नसित जोडिएको एउटा राजनीतिक मुद्दा हुनुपर्दथ्यो, परन्तु, बोकी श्रमती  गु काइलाईलाई हेउडको हत्याको आरोपीका रूपमा प्रस्तुत गरियो र दोषी साबित गरियो ।  । अगस्त २० मा गुलाई मृत्युदण्डको सजाय सनाइयो ।

एकदमै गलत प्रचारको अभियानमार्फत केन्द्रीय नेतृत्वका विरुद्ध सिङ्गो राष्ट्रलाई खन्याउनु बाहेक चिनियाँ सरकारकारी माध्यमहरूले १० अप्रिलपछि समाचारलाई एकदमै नियन्त्रित गरेर बो प्रकरण र बोकी श्रमतीसित  सम्बद्ध कानुनी प्रक्रियाका बारेमा कुनै पनि सरकारी समाचार प्रवाह गरेनन् । वास्तवमा सरकारले अप्रिलभरि नै आन्तरिक रूपमा यसबारे कपोलकल्पित कथाहरू तयार पारेर सिङ्गो राष्ट्रलाई अन्धकारमा राख्यो । जब कि २०१२को वसन्त र गृष्मको अवधिमा  यो मुद्दाको सेरोफेरोमा रहेर “भ्रम मेसिन” चलाइरहेकाहरूमार्फत समाचारहरू चिनियाँ अग्लो  “सुरक्षापर्खाल” नाघेर बाहिर गइसकेका थिए ।३ नाम चलेका एङ्गलो-अमेरिकी समाचार माध्यमहरू वाल स्ट्रिट जर्नल, दि न्युयोर्क टाइम्स, दि फाइनान्सियल टाइम्स र दि टेलिग्राफ लगायत फालुन गोङसित सम्बद्ध माध्यम र समुद्रपारिका चिनियाँ भाषासित सम्बद्ध दक्षिणपन्थी वेबसाइटहरू जस्तो ‘प्रजातन्त्रका लागि अमेरिकी राष्ट्रिय सहयोग’ को  लगानीमा सञ्चालित वेबसाइट बोक्सुन डट कमले भ्रष्टाचारसित सम्बद्ध रङ्गिन  दन्त्य कथाहरूका साथै षड्यन्त्रमूलक समाचारहरू,  सेक्रेटरीबाट हु जिन्ताओको आवाज टेप गरिएको देखि अवैधानिक किसिमले रकम आर्जन गरेर बाहिर राखेको ठूला व्यापारीहरूसित टक्कर लिन माथिल्ला तहका सेनासित  खतरनाक सम्बन्ध बनाएको जस्ता समाचारहरू प्रकाशमा ल्याए । धेरजसो समाचारहरू पार्टीभित्रबाट सोझै उपलब्ध गराइयो ! यो “चिनियाँ” राजनीतिक नाटकका लागि चिनियाँ, ब्रिटिस र अमेरिकी पदाघिकारीहरूबीच  कुन हदसम्मको  मिलोमतो भएछ त, जब कि हिजोअस्ति भन्दा अहिले यी देशहरूका लागि, भूमण्डलीय रूपमा फैलिएको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्नमा ध्यान जानु  प्रमुख आवश्यकता हुन्थ्यो ?  अब त्यो खुला राजनीतिक सङ्घर्षलाई एउटा सनसनीपूर्ण हत्या घटनामा ढालिएको थियो । अरू के हुन्थ्यो र ?

केही समयसम्म थुप्रै कुरा अन्योलमै रहेको यस सन्दर्भको विस्तारलाई एकछिन पर राखेर  यो लेख छुक्विङ मोडलको ऐतिहासिक सन्दर्भ र राजनीतिक अन्तर्वस्तुमा आधारित भएर अघि बढ्छ ।  यस मोडलले नियम–कानुन र सुविधाबाट वञ्चित समुदायलाई उत्साहित पार्यो र चिनियाँ सुधारका नाममा सुविधा, लाभ  र अवसर प्राप्त गर्नेहरूलाई भयभित तुल्यायो । यसले तत्कालै इमानदारीका साथ महत्वपूर्ण  पक्ष “समाजवादको पुनरागमन” लाई अगाडि ल्यायो, जसलाई सुधारपछिको चिनियाँ समाजमा ओझेलमा पारिएको थियो  । यो अभियानपछि  एकातिर एङ्गलो-अमेरिकी पुँजीवादी माध्यमहरू र दक्षिणपन्थी चिनियाँ माध्यमहरू र ब्लगरकरूबीच अति विशिष्ट  गठबन्धन देखापर्यो,  जसले बोलाई भ्रष्ट, खतरनाक, अवसरवादी र नीच प्रवृत्तिका भनेर प्रस्तुत गरे  । अनि केही मात्रामा भए पनि वाम विचार राख्ने माध्यमहरूले चाहिँ चीनमा समाजवादी अवधारणाले फेरि ठाउँ पाउन थालेको भनेर सकारात्मक विचार प्रस्तुत गरे ।  त्यतिबेर चीनमा समाजवादका लागि सङ्घर्षजस्ता समाचार र टिप्पणीहरू चिनियाँ माध्यमहरूबाट प्रायःजसो हराएको स्थिति थियो  ।  जेहोस्, यो सङ्घर्ष नै समग्र कथाको एउटा महत्वपूर्ण अंश बनेको छ  । बो प्रकरणको सेरोफेरोसित सम्बद्ध यो चाखलाथ्दो र प्रचारयोग्य राजनीति चीनको भविष्यसित जोडिएको चिनियाँ घरेलु तथा अन्तर्राष्ट्रिय स्वार्थमा केन्द्रित जारी लडाइँको  एउटा विशिष्ट पक्ष थियो  ।

छुक्विङ र चिनियाँ सुधारको द्वन्द्वात्मकता

माओ विचारधाराले विसौँ शताब्दीमा चिनियाँ समाजवादी लक्ष्य प्राप्तिका लागि प्रभुत्वकारी विचारधारात्मक भूमिका खेलेको थियो भने माओपछि देङ सियाओ पेङका दुई अवधारणा “पहिले केही मान्छेलाई धनी बन्न दिऔँ”  र “विकास फलामे सत्य हो” ले माओपछिको चीनले लिएको सुधारको बाटोका लागि शक्तिशाली वैचारिक आधारको औचित्य साबित गरेको थियो ।  यो बाटोले चीनलाई माओको समयको विश्वको सबैभन्दा लोकहितकारी मुलुकबाट समकालीन विश्वको सबैभन्दा विभेदपूर्ण मुलुकमा परिणत गर्यो, त्यसकारण,  चिनियाँ कम्युनिस्ट पार्टीको दाबी “चिनियाँ विशेषताको समाजवाद” लाई थोरैले मात्र गम्भीरताका साथ लिएका रहेछन् भन्ने कुरा कुनै अनौठो कुरा भएन । र पनि, समाजवादको सकारात्मक  र नकारात्मक अनुभव सँगालेका धेरै चिनियाँहरू प्रस्ट छन्— र अहिलेको भ्रम र यथार्थबीचको अन्तर्विरोधका बारेमा प्रस्ट छन् । देङको “विवाद नगरौँ” अर्थात् माओपछिका सुधार समाजवादी हो कि पुँजीवादी भन्ने कुराको बहस गर्न नपाउने फरमानका अतिरिक्त पनि चीनले लिएको सुधारको बाटोलाई लिएर प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सङ्घर्षहरू भए, यसको आन्तरिक अन्तर्विरोध र विविध किसिमका सामाजिक द्वन्द्वका बीच पनि पार्टीको केन्द्रीय नेतृत्व एकातिर समाजवादी हुनुको मन्त्र जप्न बाध्य भएको छ अनि  अर्कातिर चिनियाँ विकासलाई अर्को दिशातिर लाने काम पनि जारी राखेको छ ।

सन् २००३ मा चिनियाँ कम्युनिस्ट पार्टीले विकासका नाममा देङले अघि सारेको तथाकथित “विकासको वैज्ञानिक अवधारणा” लाई नयाँ स्वरूप दियो— अर्थात् यसलाई बढीभन्दा बढी जनकेन्द्रित सामाजिक र वातावरणीय दृष्टिले दिगो, विकासको बाटो भनियो । अक्टोबर २००७ देखि चलेको पार्टीको १७ औँ राष्ट्रिय महाधिवेशनले “आर्थिक विकासका मोडहरूको रूपान्तरणको गतिमा वृद्धि गरौँ” प्रति आधिकारिक रूपमा प्रतिबद्धता जनायो ।  सन् २००८मा आएको विश्वव्यापी आर्थिक सङ्कटले  “समाजवादको पुनरागमन”,  पुँजीवादबाट छुटकारा पाउने भरपर्दो विकल्पका  रूपमा नयाँ ऊर्जाको माग मात्र गरेको थिएन, अपितु यसले चिनियाँ नेतृत्वलाई आफूले अघि सारेको कथनी जिडिपी निर्देशित निर्यातमुखी चिनियाँ विकासको मोडेलबाट अलग्गिन पनि बाध्य पारेको थियो ।  यस्तो हुँदाहुँदै पनि , अन्तर्देशीय पुँजीको एउटा शक्तिशाली  समूह, घरेलु निर्यातमुखी ठूला उद्योगहरू, पुँजीवादका पक्षधर अधिकारीहरू, साथसाथै नवउदारवादी माध्यमहरू, बुद्धिजीवी क्षेत्रबाट आएका नेताहरू र तिनका मध्यम वर्गीय समर्थकहरूले चिनियाँ विकासको बाटोलाई  दीर्घकालीन किसिमले नयाँ दिशामा अघि बढाउने कुरामा अवरोध उत्पन्न गर्नथाले ।

यस किसिमको सन्दर्भका बीच बोको नेतृत्वमा रहेको छुक्विङ नै यस्तो ठाउँका रूपमा देखापर्यो, जसले  दीर्घकालीन रूपमै बढीभन्दा बढी सामाजिक रूपबाट दिगो हुने खालको विकासको मार्गलाई अवलम्बन गर्ने प्रयास गर्यो  । पहिलेको सेचुवाँ प्रान्तको नगरपालिका  छुक्विङले सन् १९७७ मा प्रान्तका रूपमा कानुनी  अधिकार पाएको थियो । ठूलो जनसङ्ख्या ( ३२ लाखमध्ये ७० प्रतिशत—२०१०) भएको र ढुङ्गेलो भूगोल भएको चीनको दक्षिणपश्चिमको भित्री भाग छुक्विङ चीनको आँखीझ्याल हो । यसले मुलुकको सबैभन्दा प्रमुख आर्थिक चुनौतीको सामना मात्र गर्नुपरेको छैन, यसले नवउदारवादी पुँजीवादले उत्पन्न गरेको पीडालगायत आर्थिक अपराधहरूको कहर पनि सहनुपरेको छ । सन् २००३ मा  चिनियाँ वाणिज्य मन्त्री हुनुभन्दा पहिले दालियान र लियोनिङ सहरको स्थानीय सरकारको अनुभव सँगालेका बो सिलाइलाई  सन् २००७ अन्त्यतिर छुक्विङको पार्टी सेक्रेटरीको नेतृत्वको जिम्मा दिएर पठाइएको थियो  ।

छुक्विङ युद्धकालको राजधानी र सन् १९३७-१९४५ को फासिवाद विरूद्धको विश्ववयापी लडाइँको केन्द्र हुनुमा आफैँमा गर्व गर्छ । सन् १९४९ को जनगणतन्त्र चीनको स्थापनाको सेरोफेरोमा  “राष्ट्रवादी”  भनिने कोमिन्ताङ र कम्युनिस्ट पार्टीका बीच भएको भीषण लडाइँमा यसको धरती सहिदहरूको रगतले रक्तरंजित बनेको थियो । पछि छुक्विङ शीतयुद्धकालीन समयको आन्तरिक सैन्य उद्योगका आधारहरूमध्येको एउटा प्रमुख आधार बनेको थियो । यो श्रमजीवी वर्गको उर्वर भूमि बन्यो, जहाँका श्रमिकहरू सन् २०००को मध्यमा भएको निजीकरण विरोधी सङ्घर्षको अग्रपङ्क्तिमा रहे । चीनको सुधारवादी कालमा नयाँ स्थापित महानगरका रूपमा छुक्विङले सामाजिक विस्थापनको चरम समस्या बेहोर्नु पर्यो, जुन माओको कालपछि विकास र आधुनिकीकरणका नाममा लादिएको थियो, जहाँ “तीन ड्रागन बाँध” बाट बसाइँ सरेर आएका हतास स्थितिमा रहेका जनताको पुनर्वासका साथै, बुढाखाडा र बच्चाहरूको खानपिन र व्यवस्थापनको पनि समस्या थियो । खास कुरा के हो भने  १९९७ देखि केन्द्रीय पदाधिकारीहरूले छुक्विङलाई सहर र गाउँबीच एकीकृत विकासको प्रयोगस्थलका रूपमा लिएका थिए । बो एकजना महत्वाकाङ्क्षी र चमत्कारी साथै दृढ इच्छाशक्ति भएका “राता उत्तराधिकारी” (उनी जनयुद्ध कालका क्रान्तिकारी नेताका छोरा हुन् ) थिए, जसको चिनियाँ राजनीति र सैन्य क्षेत्रका उच्च तहमा दरिलो आधार थियो, उनी, राजनीतिक हैसियत बढाएर बेजिङमा आफ्नो भूमिका सुनिश्चितताका लागि चिनियाँ क्रान्तिकारी विरासतलाई व्यवहारमा प्रयोग गरेर व्यापक जनताको मन जित्ने प्रयास गरिरहेका थिए । यस किसिमको खास अवस्थाको सामाजिक–ऐतिहासिक र भौगोलिक  स्थितिका साथै  जैविक शक्तिहरूले छुक्विङ मोडलको उठान गरे ।४
सार्वजनिक क्षेत्रहरूको विस्तारमार्फत सामाजिक सेवालाई जोड दिनु मोडलका जगहरू  थिए । ५ जस्तो अगस्त ८, २०१२ मा विदेश नीति  शीर्षकको लेखले भनेको छ । यसमा  “ पार्टी र राज्यको नीतिगत भूमिकाको पालना गर्दै राज्यको नीति र स्रोतहरूको प्रयोग गरेर आमजनताको आवश्यकतालाई अगाडि बढाउन एउटा साहशिलो प्रयोग गरिएको थियो ।”६

खासगरेर, आठओटा प्रमुख लगानी संस्थाहरूहरूको  व्यवस्थापना गरेर स्थानीय सत्ताले महत्वपूर्ण किसिमले आफ्नो भूमिकालाई आर्थिक क्षेत्रमा विस्तार गर्यो, जसको उद्देश्य जनताको समतामूलक विकासका लागि जनसेवा गर्नुथियो । त्यसैगरी व्यक्तिगत पुँजीवालालाई दिनुभन्दा, राज्यदारा लगानी गरिएका संस्था आफैँले, माओकाल देखिका १,१६० भन्दा बढी जीर्ण अवस्थामा रहेका व्यवसायिक संस्थानहरूको पुनर्संरचना गरेर तिनलाई व्यवसाय सञ्चालन गर्न सकिने गरी विकसित गर्यो । फलस्वरूप, राज्यअधीन  छुक्विङ राज्यको सम्पतिमा द्रुत गतिमा अभिवृद्धि भयो । छुक्विङले गाउँ र सहरबीचको खालिपनको अन्त्य गर्न आक्रामक कदम चाल्यो,  ग्रामीण क्षेत्रबाट बसाइँ सरेर आएका ३.२२ लाख जनतालाई सहरको नागरिकतासहित सहज किसिमले बसोबासको बन्दोबस्त मिलाउन र रोजगारी दिन, निवृत्तिभरण दिन र सस्तोमा घरभाडा मिलाउन, साथै केटाकेटीहरूको शिक्षा र स्वास्थ्यको क्षेत्रमा ध्यान दिने काममा आक्रामक कदम अँगाल्यो । सन् २००९को आरम्भमा “जनजीवीकाका लागि १० बुँदे कार्यक्रम” नामको एउटा कार्यक्रमअन्तर्गत छुक्विङले समग्र सरकारी खर्चको आधीभन्दा बढी खर्च जनसेवा सुदृढ गर्न, खासगरेर मजदुर र किसानहरूको जीवीकाका लागि खर्च गर्यो  ।

यसरी छुक्विङले चिनियाँ कम्युनिस्ट पार्टीको नारा जनता केन्द्रित विकासमा ध्यान देउलाई व्यवहारमा ल्यायो । यदि अधिकारीहरूका भनाइका विरुद्ध यिनको लोखाजोखा गर्दाखेरि पनि वास्तवमामा यी नीतिहरूमा त्यस्तो विशेष क्रान्तिकारिता केही थिएन । सार्वजनिक क्षेत्रलाई बलियो बनाउने कुरा, उदाहरणका रूपमा चिनियाँ संविधानकै प्रतिबद्धतासित मेल खाने बुँदा सार्वजनिक स्वामित्वलाई प्राथमिकता दिने नीतिमा आधारित “समाजवाद”को निर्माण गर्नका लागि भन्ने कुरासित मेल खान्छ । पुँजीको पुनर्एकीकरणको विरोध गर्नुको सट्टा छोँक्विङले जोडदार रूपमा विश्व पुँजीको वकालत गर्यो । उदाहरणका रूपमा छुक्विङमा एसियाको सबैभन्दा ठूलो नोटबुक कम्प्युटरहरूको  निर्माण गर्ने  योजनामा अन्तर्देशीय संस्था एचपीदेखि एकरसम्मले आफ्नो कारखाना त्यहाँ  स्थापना गर्न आकर्षित थिए । बोको नेतृत्वले सबैभन्दा शोषणमुखी कहलिएको फोक्सोकनको आइटी कारखाना स्थापना गर्नका लागि समेत आकर्षित गरेको थियो, जसबाट सेन्जेनका ५ लाख कामदारमध्ये २ लाख कामदार छुक्विङलाई छुट्याइएको थियो ।७ यसो  भए पनि त्यहाँ अन्यत्रको सट्टा आधारभूत भिन्ता थियो ।

सेन्जेनमा फेक्सोकन कामदारको बारेमा निर्णय गर्न ऊ आफैं स्वतन्त्र थियो, जहाँ कामदारहरू जबर्जस्ती रूपमा फोक्सोकनको नियम पालना गर्न बाध्य थिए र उनीहरूको बसाइ पनि कारखानले तोकेको स्थान सैनिक ब्यारेकको जस्तो थियो । यसका विपरीत छोँक्विङले फोक्सकनका मजदुरहरूलाई भिन्नै नियममा रहने गरी सस्तोमा सरकारी क्वार्टरहरू उपलब्ध गराएको थियो । यसले त्यतिबेर अन्तर्देशीय पुँजीबजारमा स्थापित “विश्वव्यापी श्रम खरिदबिक्री” को परिपाटीलाई तोड्यो र अन्तर्देशीय पुँजीलाई चिनियाँ समाजमै लगायो । ८ ठीक त्यसैगरी रोजगारीको समस्या हल गर्ने प्रयास र छोँक्विङले गाउँबाट बसाइँ सरेर आएकाहरू र विश्वविद्यालयका स्नातकहरूलाई सहयोग पुर्याउने हेतुले सहरी क्षेत्रमा साना लगानीका व्यापारिक प्रतिष्ठानहरूको  कार्यक्रमलाई व्यापक मात्रामा लागु गर्यो । सङ्क्षिप्तमा भन्नुपर्दा, फिलिप हुवाङले भनेजस्तै छोँक्विङ मोडेलले राज्यको पूरक वृद्धिका लागि अन्तर्देशीय र घरेलु निजी क्षेत्रलाई, मिश्रित अर्थतन्त्रका रूपमा एउटा उपायको खोजी गर्ने प्रयासलाई, स्वीकृति दियो ।९

साझा समृद्धिको झण्डा उठाउँदै

त्यसैबेला बोले राजनीतिक उदारवादीहरूका उदारवादी आशाको एकदमै विपरीत, चिनियाँ कम्युनिस्ट पार्टीमा विकसित नोकरसाहीपनलाई नियन्त्रण  गर्न र छुक्विङका जनताको  मनमस्तिष्कमा घर गर्न  माओवादी राजनीतिक सम्बादको जनदिशालाई व्यवहारमा ल्याए । यसको मूल अवधारणा “साझा समृद्धि” थियो । सन् २०११ को भाषणमा हु जिन्ताओले भनेको एउटा भनाइलाई उधृत् गर्दै बोले “साझा संमृद्धि” “अग्रगामी दिशा” लाई परिभाषित गर्ने कम्युनिस्ट संस्कृति हो भन्दै तर्क गरे :

धनी र गरिबबीच ध्रुवीकरण भनेको दास मालिक, सामन्ती मालिक र महासामान्त र पुँजीपतिहरूको  पिछडिएको संस्कृति हो, जब कि  साझा समृद्धि भनेको जनताको न्यायपूर्ण र अग्रगामी संस्कृति हो । पश्चिमा संस्कृतिसित ब्रिटिस पुँजीवादी क्रान्ति १६४० देखि यता ३७० वर्षभन्दा बढीको इतिहास छ । तिनीहरू प्रायगरेर “स्वतन्त्रता, प्रजातन्त्र, समानता, र भ्रातृत्व”को नारा उराल्छन् । तर तिनीहरूले कहिल्यै पनि “साझा समृद्धि” को  उल्लेख गरेका छैनन्—यस्तो विषय जुन बहुसङ्ख्यक मानवजातिको आधारभूत उद्देश्यसित सम्बद्ध छ । कम्युनिस्टहरूले मात्र आफ्नो भएभरको भौतिकवादी साहस, स्वार्थरहित स्पिरिटका साथ आफ्ना झण्डाहरूमा “साझा समृद्धि” लाई लिपिबद्ध गर्छन् । जस्तो हु जिन्ताओले चिनियाँ कम्युनिस्ट पार्टीको ९० औँ वार्षिक सभामा घोषणा गर्नुभएको थियो, हामीले ढिलोचाँडो इमानदारीपूर्वक साझा समृद्धिको बाटो अवलम्बन गर्नैपर्छ । ढिलोचाँडो, समग्र मानवजातिले साझा समृद्धिको मार्ग अवलम्बन गर्ने भन्ने कुरालाई हामी दृढताका साथ विश्वास गर्छौँ । १०

बोले अझ  प्रस्ट पार्दै भने “साझा संमृद्धि” एउटा कोरा आदर्श अथवा अन्तिम बिन्दु होइन, बरु यो  समग्र विकास प्रक्रियामार्फत  परिचालित हुने उत्प्रेरक शक्ति हो । नवउदारवादी सुधारवादीहरूले वर्ग ध्रुवीकरणको पुष्टिका लागि खोजीखोजी देङलाई उधृत् गरेझैँ बोले पनि देङलाई नै उधृत् गरेर   पुँजीवादी वर्गउत्थानमा जोड दिने  सुधारले लिएको “खराब बाटो” को विरुद्ध सचेत गराए । देङको विकासको अवधारणामा रहेको तर्क “जनताको जनजीवीकाको प्रश्न नै इस्पातिलो सत्य हो”  भन्ने भनाइलाई पनि उनले परिमार्जित गरे । उनले नवउदारवादी प्रवृत्तिसित जोडिएका सबै प्रवृत्तिहरूको  भण्डाफोर गरे ।  बोले दुई थरी स्वार्थ एकैसाथ रहन सक्तैनन् भन्ने कुरामा जोड दिए । मूलतः उनले पार्टीले सामाजिक धुवीकरणको प्रश्नलाई लामो समयसम्म हेरेर बस्न सक्तैन,  किनभने व्यक्तिगत स्वार्थहरू अति शक्तिशाली हुँदै गएपछि पविर्तनको सम्भावना झन् जटिल हुनेछ भन्ने कुरामा जोड दिए  ।  केन्द्रीय नेतृत्वको सामाजिक ऐक्यबद्धताप्रतिको नियन्त्रणमुखी चासोका विषयमा बोल्दै बोले  “नियन्त्रण” द्वारा होइन, बरु साझा समृद्धिले नै माटोको सेवा गर्नेछ, जसले साझा एकताबद्धताको फलको पोषण गर्नेछ । ११

बोले तल्लो तहका जनता र चिनियाँ कम्युनिस्ट पार्टीबीचको प्राकृतिक  सम्बन्ध विस्तार गर्ने  उद्देश्यलाई अगाडि राखेर समग्र सरकारी संयन्त्रलाई  व्यवहारमा लगाए । पहिलो, उनले नगरको अवैद्य आर्थिक गतिविधिलाई नियन्न्त्रण गर्न स्ट्राइकिङ ब्ल्याक क्याम्पेन ( आर्थिक अपराधीहरू र गुन्डाहरू नियन्त्रण अभियान ) नामको भ्रष्टाचार विरोधी र सङ्गठित अपराध विरोधी व्यापक अभियान चलाए । पश्चिममा “नियम कानुनको पालन” लाई  राजनीतिक अधिकारसित जोडिएको सरकारी रणनीतिका रूपमा हेरिन्छ, यो अभियान केही मात्रामा पार्टी–राज्यका अधिकारीहरूको साँठगाँठमा रहेका शक्तिहरू, निजी व्यापारीहरू र अपराधीहरूप्रति लक्षित भए पनि निर्णयात्मक रूपमा यसको प्रयोग वाम झुकावको  वर्गराजनीतिमाथि  नै गरिन्छ । १२ अझ  के भने सङ्गठित अपराध र अवैद्य आर्थिक गतिविधिका कारण दैनिक जीवनलाई कठिन तुल्याएको थियो —जस्तो सामान्य रूपमा ट्याक्सी लिने र बस चढ्ने कुरासमेतलाई—यो अभियानले छुक्विङको जीवन सुरक्षित बनायो र सही अर्थमा नगरको भूमिमा आमजनताले राहतको सास फेर्ने स्थिति बन्यो  । फलस्वरूप, यसले व्यापक लोकप्रियता हासिल गर्यो । अझ के भने, यो अभियानले  अपराधीहरूबारेका रिपोर्टहरूमा  पार्टी सदस्यहरूदेखि आम जनतासम्मलाई बहसपैरवीमा सक्रिय रूपमा सहभागी गराइयो, यसले माओवादी “जनसहभागिता” र क्रान्तिकारी न्यायको दिशालाई अवलम्बन गर्यो  ।१३

चिनियाँ कम्युनिस्ट पार्टीको आम जनतासितको प्राकृतिक सम्बन्धलाई पुनः स्थापित गर्ने बोको अर्को प्रयास समग्र सूचना तथा सञ्चारको क्षेत्रलाई सस्थागत गर्ने र जनताका समस्याहरू हल गर्ने अभ्याससित सम्बद्ध थियो । यसको एउटा खाका २००८ मा  पहल गरिएको “तीन संस्थाहरू” “पार्टी सेक्रेटरीहरूसितको  भेटघाट, पार्टी कमिटीका सदस्यहरूको भेटघाट र जनताका पीरमार्काप्रति   निरन्तर  सुझावग्रहण” थियो ।  पहिलो कुरा, पार्टीको गाउँ अथवा नगर कमिटीको प्रमुखले जनताका कुरा सुन्न हप्तामा एकपल्ट भेटघाटको व्यवस्था गर्नैपर्ने थियो । दोस्रो, पार्टीको गाउँ अथवा नगर कमिटीका सदस्यहरूले घरदैलो अभियान चलाएर सरकारी नीति र उनीहरूबीच छलफल चलाउने र त्यसबारे धारणा बुझ्ने, तेस्रो, जनता र पार्टी सेक्रेटरीबीच खुला सम्बादका लागि सुझावपेटीहरू, इमेल र टेलिफोन हटलाइनहरूको व्यवस्था गर्ने, सुझावकार्य तोकिएको नश्चित समयसीमामा  सम्पन्न गर्ने ।   त्यसको केही समयपछि नै प्रयोगका लागि अर्को खाका २००९मा तय गरिएको थियो । तिनीहरूमध्ये “तीन जना एउटैमा र तीन जना साथसाथै” ले अधिकारीहरूलाई एकै ठाउँ बस्ने , एकै ठाउँ खाने, र अतिरिक्त समयमा किसानहरूसित सँगै काम गर्ने बाध्यता आइपर्यो। “तलको भेटघाट” ले चीनभरि प्रचलित “माथिको भेटघाट” जस्तो व्यक्तिहरू, समूह अथवा समग्र गाउँले आफैँले नै निवेदन लेखेर माथिका अधिकारीहरूलाई भेटेर आफ्ना गुनासा र पीरमार्का पोख्ने बहुप्रचारित परिदृश्यलाई उल्टाइदियो ।

नोकरसाही अलग्याइँ विरुद्ध जनताबाट परिचालित यस किसिमको परिचालन “शङ्का छैन, आफ्नै किसिमको एउटा औपचारिक प्रक्रिया” हो१४ तापनि केही हदसम्म यिनले पूनरस्तुति र विश्वसनीयताको अन्तर्राष्ट्रिय समस्यालाई सम्बोधन गर्ने उद्देश्यलाई  मापन गर्छन्, एउटा आधार के बनाउन सकिन्छ भने छोँक्विङमा बोहरूले जुन कुरालाई पुर्नस्थापित गर्न जे–जस्तो बाटो अँगालेका थिए, त्यो पश्चिमा राजनीतिज्ञहरूले चुनाव क्षेत्रको भ्रमण गर्ने र फोटो खिच्ने काम भन्दा धेरै व्यावहारिक महत्वको थियो ।१५  यस बुँदामा ध्यान दिँदा प्रजातन्त्रका धेरै रूपहरू छन्, बोको नेतृत्वमा अघि सारिएको प्रजातन्त्रले “जनताको प्रजातन्त्र” को ठोस चरित्रको मापन गर्छ ।

रक्तिम गायन र क्रान्तिको माग

बाहुवली अपराधीहरूलाई ठीक ठाउँमा ल्याउने प्रहार अभियान ‘स्ट्राइकिङ ब्ल्याक क्याम्पेन’ पछि रक्तिम गायन संस्कृति र सञ्चारसित सम्बद्ध छुक्विङ मोडलको अर्को महत्वपूर्ण अङ्ग हो । कहालिलाग्दो सामाजिक असमानता,  आधारभूत सामाजिक नैतिकपतन, भौतिक उत्प्रेरणाप्रतिको अत्यधिक मोह देङको सुधारसित गाँसिएका परिणामहरू हुन् । साँचो हो, माओपछिको चिनियाँ कम्युनिस्ट पार्टीले कथनीमा चाहिँ समाजवादलाई अघिबढाउन रोकेको छैन । उदाहरणका रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९९६मा “समाजवादी आध्यात्मिक सभ्यता” लाई बलियो बनाउन पारित गरेको प्रस्तावलाई पछ्याउँदै केन्द्रीय कमिटीले २००६ मा “समाजवाद केन्द्रित मूल्य परिपाटी” को वकालत गर्दै एउटा प्रस्ताव पारित गर्यो । जब कि मिल्दोजुल्दो सामाजिक-आर्थिक विकास मोडलको अभावमा, जुनचाहिँ समाजवादी समाजको निर्माणका लागि आवश्यक पर्छ, यस किसिमका अभियानहरू सतही मात्र होइन, ढोँगी प्रकृतिका पनि साबित हुन्छन् ।

रातो गायन समाजवादी मूल्य र  आमजनताको नैतिक पक्षलाई माथि उठाउने उद्देश्यका लागि  छुक्विङले आधिकारिक रूपमा अघि सारेको सम्बादात्मक अभ्यासको सङ्क्षिप्त नाम थियो ।  २००८ मा थालिएको यो अभियान क्रान्तिकारी गीत गायन,  मार्क्सवादको शास्त्रीय अध्ययन, क्रान्तिकारी  र उच्च चेतनाका कथाहरू र महत्वपूर्ण पाठहरूमार्फत चलाइएको सम्प्रेषणात्मक अभियान थियो । यी सबै कुराहरूको नेतृत्व बोले गरेका थिए । यति मात्र नभएर केन्द्रीय नेतृत्वसमेतको ध्यानाकर्षण गर्ने प्रयासस्वरूप बोले छुक्विङको एउटा बृहत् सांस्कृतिक टोलीको नेतृत्व गरे, जसले जुन २०११ मा बेजिङमा सातओटा क्रान्तिकारी कार्यक्रमहरू प्रस्तुत गरेको थियो । २०११ मा चिनियाँ कम्युनिस्ट पार्टीले ९० औँ वर्षगाँठ  मनाइरहेको अवस्थामा भएको यस क्रार्यक्रमपछि चीनभित्र चिनियाँ कम्युनिस्ट पार्टीको  समाजवादी विरासतका पक्षमा बहसका जोडदार आवाजहरू उठेका थिए र यसले बोको पक्षमा पनि राम्रो काम गरेको थियो ।

माओपछिको समयका उदारवादी माध्यमहरू तथा सम्भ्रान्त बुद्धिजीवीहरूले चाहिँ  “रातो गायन”  को सतही व्याख्या गर्दै  “सांस्कृतिक क्रान्तिको पुनरागमन” का विरुद्ध  अमिला प्रतिक्रियाहरू व्यक्त गरे । वेन जिबाओले छुक्विङको आलोचना गर्नुबाट पनि यसले निश्चय पनि जोडदार प्रतिक्रिया उत्पन्न गरेको थियो भन्न सकिन्छ । वास्तवमा रातो गायन अभियानको आयाम एकदमै व्यापक थियो । यसले साङ्गीतिक शैली, साहित्यिक पाठ, लोक कथा र उखानटुक्काहरूको व्यापक आयामलाई समेटेको थियो । सन् १९९० को दशकदेखि चिनियाँ समाज खासगरेर खुला समाजको धारणा राख्ने एउटा समाजिक समूह समाजवादी मूल्यप्रति एकदमै वितृष्णा व्यक्त गर्नथाल्यो । दक्षिणपन्थी मानसिकताको विकाससँगै यसले “जसको शक्ति उसको भक्ति’ को अवधारणा अवलम्बन गर्यो—नवउदारवादी उत्तर–समाजवादी जङ्गल, जहाँ सामाजिक न्याय, समानता र सामूहिकताको सर्वथा अभाव हुन्थ्यो । जनसंस्कृति, खासगरेर जनसङ्गीतमा निहित शक्तिको  जीवन्त अनुभवको महत्वलाई केन्द्रमा राखेर “रातो गायन”   समूहले  निरन्तर रूपमा जनताका बीचमा आफ्नो आवाजलाई  व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुखरित गर्यो  । तल्लो तहका जनताका अन्य सांस्कृतिक गतिविधिलगायत यस्ता गतिविधिहरू, जुन चीनको क्रान्तिकारी विरासतसित गाँसिएका थिए, तिनले बो सिलाइको आधिकारिक आडभरोसा पाएका थिए । सन् २००० देखि मौलाएका नव-माओवादी वेबसाइटहरू ‘युटोपिया’ र ‘माओ-झण्डा’, जसले चिनियाँ साइबरको दुनियाँमा माओवाद र समाजवादको भाषा बोल्थे, तिनीहरू धेरै पहिलेदखि नै चिनियाँ पुँजीवादी सुधारको आलोचनाको वैचारिक माध्यम बनेका थिए । यसमा बोले गरेको चाहिँ के हो  भने, उनले यसलाई चिनियाँ कम्युनिस्ट पार्टीको विशिष्ट पक्ष जनदिशाको स्वरूप “जनताबाट जनतालाई” सित पुनर्मिलान गर्ने काम गरे ।

यहाँ  छुक्विङ राजनीतिक-आर्थिक तथा सामाजिक-सांस्कृतिक रूपान्तरणको एकीकृत चरित्रका बारेमा अझै जोड दिनु आवश्यक छ । वास्तवमा, जनताको जनजीवीका ( र सबै प्रत्यक्ष उपलब्धिहरू ) लाई प्रवद्र्धन गर्ने योजनासित सम्बद्ध सरकारको पूरक योजनाबिना “रक्तिम गायन” ले लोकप्रिय वस्तुगत आधार प्राप्त गर्नसक्ने थिएन । रातो गायनले नयाँ विषयवस्तु र आत्मविश्वास प्राप्त गर्ने मात्र उद्देश्य राखेको थिएन, अपितु सुन्दर भविष्य सम्भव छ को चेतनाबोधको उद्देश्य पनि राखेको थियो ।

मार्च १  २०११ मा राष्ट्रव्यापी प्रशारण हुने छुक्विङ सेटेलाइट च्यानललाई गैरव्यापारीमूलक बनाउन गरिएको निर्णय संस्थागत सञ्चारमाध्यकमहरूका सम्बन्धमा  मोडेलले गरेको अर्को महत्वपूर्ण पक्ष थियो । चीनका अन्य प्रान्तीय सेटेलाइट च्यानलजस्तै छुक्विङ टेलिभिजन च्यानल पनि पहिले व्यापक रूपमा  विज्ञापन–आम्दानीमा आधारित थियो र अधिकांश कार्यक्रमहरू व्यापारमुखी थिए ।  व्यापारिक विज्ञापनलाई रोक्तै छुक्विङ टेलिभिजनले  सरकारी राजस्व  र छुक्विङ ब्रोडकास्टिङ प्राधिकरणसित सम्बद्ध आन्तरिक बचतको मिलान गर्दै बोको नेतृत्वले छुक्विङ टेलिभिजनलाई “जनचाहनाको च्यानल” मा परिवर्तनन गर्ने उद्देश्य राख्यो, जसको मूल लक्ष सांस्कृतिक राष्ट्रियताको प्रवद्र्धन गर्नुथियो । १७  छुक्विङ टेलिभिजनको  गैरव्यापारीकरणले “रातो” रङको नयाँ ब्रान्ड पायो  र यसले राता गीतहरूको प्रस्तुति, क्रान्तिकारी कथाहरू, क्रान्तिकारी इतिहाससित सम्बद्ध संस्मरणहरू, क्रान्तिकारी विचारको संवहन र क्रान्तिकारी साहित्यिक कार्यक्रमको  प्रस्तुतिमा जोड दियो  ।  त्यो च्यानलले जनकेन्द्रित विकासलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ स्थानीय र राष्ट्रिय समाचारलाई  आधार बनाउँदै जनजीवीका स्तम्भको विशेष नयाँ कार्यक्रम पनि चलाउनथाल्यो । यो “रातो” हुनुको दाबी पहिलो र सबैभन्दा पहिलो सर्त चिनियाँ क्रान्तिकारी परम्परामा आधारित हुनुथियो, छुक्विङ टेलिभिजनले “रातो” लाई चिनियाँ राष्ट्रिय रङका रूपमा प्रस्तुत गर्यो  । यसरी छुक्विङ टेलिभिजन च्यानलले क्रान्तिकारी राष्ट्रिय-लोकप्रिय संस्कृतिको निर्माण गर्ने उद्देश्य राख्यो ।

“रातो संस्कृति” भन्नाले सामान्य बुझाइमा यसले चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत चिनियाँ जनताको ठूलो हिस्सा सहभागी भएको क्रान्तिकारी युद्धकालदेखिको र समाजवादी निर्माण अभियान र पछिको समयको संस्कृतलाई पनि बुझ्नुपर्छ । सारतः कम्युनिस्ट पार्टीको नेतृत्व अन्तर्गतको चीन “रातो चीन” नै हो । यसलाई अलि बृहत् रूपमा लिँदा यो “रातो संस्कृति”  ले चिनियाँ संस्कृतिका सबै राम्रा पक्षका साथै विश्वका जनताले निर्माण गरेका सबै सांस्कृतिक उपलब्धीहरूलाई आफूभित्र समेट्छ । यो सबैको समग्र नाम नै अग्रगामी र प्रगतिशील संस्कृति हो । १८
अगस्त २०११ मा छुक्विङ टेलिभिजनले समसामयिक घटनासन्दर्भमा आधारित छलफलमूलक  साप्ताहिक कार्यक्रम साझा संमृद्धिका लागि जनमञ्च नामको कार्यक्रम आरम्भ गर्यो । “तीन किसिमका विभेदहरू ( धनी र गरिब, सहर र गाउँ, बाहिरी क्षेत्र र भित्री भाग)  न्यूनीकरण गर्न र साझा समृद्धिको अभिवृद्धि गर्ने उद्देश्यमा आधारित रहेर थालिएको ४५ मिनेटको यो कार्यक्रम यस्तो मञ्चका रूपमा प्रस्तुत भयो, जसमा चिनियाँ बुद्धिजीवी र नेताहरूले चीनको वर्तमान विभेदपूर्ण विकासले उत्पन्न द्वन्द्व र अन्तर्विरोधसित सम्बद्ध बहसको सामना गर्नुपर्ने हुन्थ्यो, जसमा यसको सैद्धान्तिक अध्ययन–अनुसन्धानमा जोड दिइएको हुन्थ्यो । जस्तो नवउदारवाद विरोधी विद्वानहरू, जसले अन्य कुनै पनि अरू टेलिभिजनका पर्दाहरूमा ठाउँ पाउँदैनथे, कार्यक्रमका वक्ता अतिथिका रूपमा निम्त्याइए र उनीहरूले चिनियाँ विकासको समतामूलक र दिगो बाटोका लागि आफ्ना विचार र अभिमत दिन्थे । चिनियाँ माध्यमहरूको संसारमा यस्ता क्रार्यक्रमले पारेको प्रभावको चुनौती बेवास्ता गर्ने खालको थिएन ।

प्रस्ट थियो, यो प्रगतिको दिशामा अघि बढ्ने कार्य थियो । त्यतिबेर लोकप्रिय “रातो” अन्तर्वस्तु बोकेका कार्यक्रमहरूको अभाव थियो । यसैक्रममा “रातो” कार्यक्रमलाई लिएर क्रान्तिकारीहरू र “राष्ट्रवादीहरू” का आआफ्ना दाबीका कारण तीव्र तनाव उत्पन्न भयो । बेलाबेलामा उद्देश्यमूलक कार्यक्रमभन्दा बाहिर गएर उल्टोपाल्टो गर्ने  र बेवास्ता गर्ने   छुक्विङका माध्यमहरू तथा टेलिभिजनहरूमाथि बो निकै कडाइका साथ प्रस्तुत भए । १९  छोटै स्तरमा भए पनि प्रतिकात्मक रूपमा साझा समृद्धिको कार्यक्रममार्फत छुक्विङ टेलिभिजनले— चिनियाँ माध्यमहरूको संसारमा उदारवादविरोधी दृष्टिकोणलाई अगाडि बढाइरहेको थियो, जुन संसार लामो समयदेखि बजारवादी सुधारवादीहरूको नियन्त्रणमा थियो । विशेषगरेर छुक्विङ टेलिभिजनमा व्यापारिक विज्ञापन बन्द गरेर बोको नेतृत्वले सञ्चारमाध्यम र च्यानलहरूलाई बजारशास्त्रको सेवाबाट नयाँ सामाजिक-सांस्कृतिक दिशातर्फ प्रवृत्त गरायो । छुक्विङ टेलिभिजनका कर्मचारी तथा कार्यक्रम विशेषज्ञहरूसित  दिस्म्बर ३, २०११  का दिन छलफल गर्दै, बो एकपल्ट फेरि, जुन कारणले गर्दा कम्युनिस्ट पार्टीले नेतृत्व गरेको मुलुकमा प्रत्यक्ष नकारात्मक पक्षहरू देखिएका छन् तीप्रति आफ्नो असहमति जाहेर गर्न  बाध्य भए : जनताको सेवा गर्नु हाम्रो पार्टीको आधारभूत सिद्धान्त हो र साझा समृद्धि नै जनताको सेवाको हाम्रो ठोस प्राप्ति हो, …केही मान्छेका आँखामा  “अगाडि बढ्नु” को अर्थ पश्चिमबाट सिक्नु हो भनिन्छ, जब कि हाम्रो  समृद्धिको विरासतीयताको बाटोमा  चिनियाँ कम्युनिस्ट पार्टीलाई अघि बढाउने सुन्दर परम्परा “वामपन्थी” हुनुभनेको चाहिँ “पछि हट्नु” हो भनिन्छ । यस किसमिका भनाइहरू साँच्चे नै  कस्तोकस्तो र अचम्मलाग्दा छन् । २०

चीनको भविष्यमाथि अन्तर्राष्ट्रिय सञ्चारयुद्ध

अचम्म नमान्दा हुन्छ,  छुक्विङ मोडल स्थापित राजनीति, माध्यम र बौद्धिक ज्वारभाटा विरुद्धको एउटा अभियान थियो । अधिक समतामूलक विकासको मार्गप्रतिको यसको प्रयासलाई व्यापक रूपमा अस्वीकार गर्दै  उदारवादी बुद्धिजीवीहरू र बजारमुखी सञ्चारमाध्यमहरू बो र छुक्विङ प्रयोगको सुरवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भए । छुक्विङ मोडलले “रातो गायन” र “स्ट्राइकिङ ब्ल्याक क्याम्पेन” मार्फत अघि सारेको आर्थिक ध्रुवीकरणसम्बन्धी नाटकीकृत अनुदारमुखी धारणालाई आलोचकहरूले विशेष रूपमा उठाए । उनीहरूले निकै जोड दिएर, “बोले  दोहोरो चरित्र देखाउँदै आफूलाई राष्ट्रिय शक्तिमा ल्याउन, सबैभन्दा खराब, प्राधिकारवादमा आधारित पपुलिस्ट र फासिवादी सांस्कृतिक क्रान्ति लाई पुर्नस्थापित गर्न खोजेको”  विचारसम्म व्यक्त गरे । सन् २०१२ को मार्चको दोस्रो हप्तादेखि अन्तर्देशीय र घरेलु माध्यमहरूले बोका विरुद्ध अभियान नै  चलाए, उनीहरूका दृष्टिमा बो सबैभन्दा खराब मान्छे थिए ।  त्यसपछि नै बो विरुद्धको सङ्घर्षले अनुशासन र अपराधको रूप ग्रहण गरेको थियो, मूल धारका चिनियाँ र बाह्य माध्यमहरू योजनाबद्ध रूपमा बोको वर्ग राजनीति र नीतिहरूलाई खारेज  गर्न सफल  भए ।

बोले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वको विचारको वैधानिकता र यसका योजनाहरूका  सफलतामाथि चुनौती प्रस्तुत गरे । बोले “चिनियाँ विशेषताको समाजवाद” मा रहेको गहन अन्तर्विरोधको भण्डाफोर गर्दै यसले चिनियाँ कम्युनिस्ट पार्टीमा विभाजन ल्याउनसक्ने खतरा औँल्याए । अझ भनौँ, आफू त्यसैको  एउटा अंश भएर पनि उनले छुक्विङमा गरेको खास कुरा के हो भने अन्तर्देशीयकृत चिनियाँ नौकरसाही पुँजीवादीहरू र  सामाजिक संरचनासित सम्बद्ध नीजि स्वार्थहरूलाई उनले खारेज गरे ।  बोको ”स्ट्राइकिङ ब्ल्याक क्याम्पेन अर्थात् अपराध उन्मूलन अभियानले घरेलु पुँजीपतिहरू र तिनका नौकरसाही एजेन्टहरूलाई आतङ्कित पार्यो ।  उनको जनदिशा पुनः लागु गर्ने नीतिले नोकरसाही सुविधाहरूको कटौती गर्यो र छुक्विङका अधिकारीहरूको साम्राज्यलाई हल्लाइदियो ।  बोले  ”स्ट्राइस्किङ अभियान”लाई  कसैको नीजी सम्पति कब्जा गर्न र आफ्ना राजनीतिक विरोधीलाई ठीक पार्न प्रयोग नगरे पनि, त्यस अभियानले तिनको संरक्षणमा रहेका शक्तिशाली अधिकारीहरू र उनीहरूको आडभरोमामा रहेका माफिया किसिमका पुँजीपतिहरूको भने जरा नै उखेल्यो ।  जेजस्ता मुद्दाहरूलाई  लिएर छुक्विङले प्रतिकात्मक रूपमा स्ट्राइकिङ अभियान चलाएको थियो, वकिलहरूको एउटा राष्ट्रव्यापी शक्तिशाली समूह, कानुनका विद्वानहरू र पत्रकारहरूले बोको नेतृत्वमा रहेको छुक्विङको  नियमकानुन र प्रशासनिक सयन्त्रविरुद्ध लामै किसिमले कानुनी तथा सञ्चारमाध्यमहरूको परिचालन गरे । दुखद कुरा के थियो भने  अर्थ, शक्ति र कानुनलाई निजी स्वार्थमा प्रयोग गर्ने चिनियाँ संस्थापन पक्षले पोलिट ब्युरोपछिको पद स्यायी कमिटीका  प्रबल दावेदार बोका विरुद्ध मुलुकको नियमकानुन र राज्यसंयन्त्र सम्पूर्ण रूपमा प्रयोग गर्यो ।

चीनको सञ्चारसमुदायले पनि सञ्चार क्षेत्रमा  छुक्विङले गरेको गैरव्यवसायीकरणको महत्वलाई  बुझ्न सकेन । एकातिर पत्रकारहरू सञ्चारमाध्यमको बढ्दो व्यापारीकरणले पारेको नकारात्मक असरको विरोध गर्थे । अर्कोतिर  उनीहरू छुक्विङले मिडियालाई गैरव्यापारीमूलक बनाएको, आफ्नै आर्थिक तथा पेशागत उद्धेश्यसित सम्बद्ध यथार्थलाई चाहिँ बुझ्न सकिरहेका थिएनन् । वास्तवमा छुक्विङ टेलिभिजनलगायत मिडियामा भएको गैरव्यापारीकरणको नीतिले केही पत्रकारहरूमाझ चिसो सन्देश फैलाएको थियो, उनीहरू आफ्नो विशेष आम्दानी ( राज्यले निर्धारित गरेको तलबबाहेक चिनियाँ पत्रकारहरूले  मिडिया सङ्गठन र व्यापारिक आर्थिक स्रोतबाट राम्रो रकम हात पार्थे) को एउटा हिस्सा गुमाउन सक्थे । अचम्मको कुरा भएन, बोको निष्कासनको कथापछि  छुक्विङमा सबैभन्दा पहिले  “पुनस्र्थापना” भएको प्रमुख कुरा छुक्विङ टेलिभिजन लगायतका माध्यमहरूमा फेरि व्यापारिक विज्ञापनहरूको भरमार थियो ।

एक दशकका लागि चीनको भावी नेतृत्व तयारीको स्थिति, चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनको सँघारमा छुक्विङ सङघर्षको केन्द्रबिन्दुमा परिणत भएको थियो । यसैबेला एकातिर  कतिपय अति उदारवादी बुद्धिजीवीहरू सत्ता परिवर्तन र एकल पार्टीको शासनको अन्त्यको वकालत गरिरहेका थिए भने अर्कातिर चिनियाँ कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बाटो समाजवादी विधिका साथ अघि बढाउन जोड गर्नेहरूको सङ्ख्या झन् ठूलो थियो । छुक्विङ मोडल यति  प्रभावकारी र यति  विवादास्पद भएको थियो, मूलतः  यसकारणले कि परिवर्तनहरू समाजवादका लागि सहज आह्वानमा  नै विद्यमान पार्टी संरचनाभित्रै प्राप्त गर्न सम्भव भएको थियो । बोको प्रयोगले नवउदारवादी  भ्रम  “इतिहासको अन्त्य” को ढाँचालाई हावामा उडाइदियो र चिनियाँ कम्युनिस्ट पार्टीसित राजनीतिक इच्छाका साथ अझै ऐतिहासिक किसान-मजदुरको सत्ताआधारसित आफूलाई जोड्नसक्ने क्षमता छ भने कुरा पुष्टि गर्यो । हुन त आरम्भदेखि नै छुक्विङ मोडेलका  आलोचकहरूको कमी थिएन तापनि चिनियाँ शक्तिहरू, जसले समाजवादी भविष्यका लागि सङ्घर्ष गरेका छन्, तिनका लागि छुक्विङ मोडेललाई राष्ट्रव्यापी रूपमा विस्तार गर्ने सम्भावनाहरू थिए, जुन चिनियाँ कम्युनिस्ट पार्टीलाई वाम मोडतर्फ अघि बढाउनुको एउटा महत्वपूर्ण कदम हुनसक्थ्यो । युटोपिया (चिनियाँ सुधारवाद विरोधी क्रान्ति पक्षधर अनलाइन) जसले “समाजवादको पुनस्र्थापना” लाई अघि बढाइरहेको थियो, त्यसले चिनियाँ कम्युनिस्ट पार्टीभित्र बोका नीतिहरू चिनियाँ कम्युनिस्ट पार्टीभित्र क्रान्तिकारी दिशातर्फ उन्मुख भएका  र छुक्विङ मोडलद्वारा मात्रै चीनमा अर्को हिंसात्मक क्रान्तिलाई रोक्न सक्ने आशा हो भनेर प्रस्तुत गर्यो ।

फेब्रुअरी ६, २०१२ को “वाङ लिजुन घटना” को विष्फोटनसँगै  छुक्विङमाथिको सञ्चारयुद्धको तीव्रता   अन्तर्देशीय स्तरमा, खासगरेर अनलाइन मिडियाको क्षेत्रमा कल्पनै गर्न नसक्ने स्थितिमा पुग्यो । समुद्रपारिका चिनियाँ दक्षिणपन्थी वेबसाइटहरू, फालुन गोङसित सम्बद्ध माध्यमहरू, भ्वाइस अफ अमेरिका र बिबिसीजस्ता पश्चिमा सरकारहरूले चलाएका प्रसारण माध्यमहरू र पश्चिमा मूलाधार भनिएका सञ्चारमाध्यमहरूले तीव्र गतिमा  बोमाथिको कारबाही र छुक्विङ मोडेलका विरुद्ध अनेक किसिमका भ्रम र कपोलकल्पित समाचारहरू प्रचारप्रसार गरे । बोको बारेमा सबैभन्दा बदनियतपूर्ण भनाइ हङ्कङका पूर्व पत्रकार जियाङ वेपिङबाट आयो, जसलाई, बो लियाओनिङ राज्यमा छँदा त्यहाँको न्यायालयले जेलको सजाय दिएको थियो, जो अहिले क्यानडामा बस्छ र नाम चलेका क्यानेडियन समाचार माध्यमहरू जस्तो सिबिसिमा समसामयिक घटनाहरूबारे आफ्नो धारणा व्यक्त गर्नेगर्छ । जियाङका भनाइमा बोले उनको रातो गायन अभियानमा २७० अरब युआन सरकारी रकमको दुरुपयोग गरे । उनले स्टा«इकिङ ब्ल्याक क्याम्पेनका लागि ६०० भन्दा बढी “ब्ल्याक सोसाइटिज” को कथा तयार पारे  ।

उनले नीजी संस्थानहरूबाट १०० अरबभन्दा बढीको सम्पति लुटे । उनले हजारौँ व्यापारीहरूलाई जेलमा कोचे र ३० हजारभन्दा बढीलाई नियमकानुनको विधिबिना बाहिर धपाए । उनले धेरैलाई “मध्यम वर्गबाट धनीमा परिणत भएकाहरू” लगायतका थुप्रै  आरोप लगाए । २१ जस्तो लि चुनले भनेकी छन् “ चीनभित्र र बाहिरका दक्षिणपन्थी र कम्युनिस्ट विरोधीहरू, (फालुन गोङ्गलगायत)  र पश्चिमा सरकारी सञ्चारमाध्यमहरूसित चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेकाको साँठगाँठ”ले बो प्रकरण “२१ शताब्दीको उत्तरआधुनिक राजनीतिको उदाहरणीय परिदृश्य बनेको छ ।” २२ जस्तै सेप्टेम्बर २०१२ को सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीले बोले गरेका गलत कामहरूको  कुनै पनि प्रमाणलाई बाहिर ल्याएको थिएन । जब कि त्यति नै  बेला जियाङ जस्ता व्यक्ति र मुलुक बाहिरका माध्यमहरूले यसो गर्नसकेका थिए, यसको तुलनामा राज्यका माध्यमहरूले बोकी श्रीमतीसित सम्बद्ध हत्या मुद्दाका बारेमा सावधानीपूर्वक समाचारहरू  ल्याइरहेका थिए, सायद चिनियाँ कम्युनिस्ट पार्टीले त्यति बेलासम्म बोकै विरुद्धमा पनि कुनै  अभियोग लगाउन सकेको थिएन । साथसाथै  महत्वपूर्ण कुरा के पनि थियो भने बोका सन्दर्भमा यस्ता अनाधिकृत समाचारका अतिरिक्त पनि उनका सम्बन्धमा आधिकारिक रूपमा कसरी जाने भन्ने कुरा  खुलाइएको थिएन, सायद सँघारमै आउन लागेको पार्टीको १८ औँ महाधिवेशनमा पार्टीभित्र बोको मुद्दा एउटा तातो र विशेष मुद्दा बन्नसक्छ भनेर पनि होला । त्यसैले पनि चिनियाँ कम्युनिस्ट पार्टीले अहिलेसम्म महाधिवेशनको मिति तोकेको छैन,  सेप्टेम्बर २०१२ आउनै लाग्दा पनि यसबारे कसैलाई थाहा छैन ।

वाङ लिजुन–बो सिलाइ प्रकरणले समाजवादी उद्देश्यमा नकारामक प्रभाव परेको कुरालाई बुझेर पनि  वामपन्थी वेबसाइटहरूले यसप्रति आफ्नो विश्वास जारी राखे । यो प्रकरणको  आरम्भमा केही समयसम्म उनीहरू जारी सञ्चारयुद्धमा  टिप्पणी  र प्रतिक्रियामार्फत प्रत्याक्रमणमा सहभागी भए, टिप्पणी  र प्रतिक्रियामार्फत उनीहरूले खुलेर बोको समर्थन गरेर बोका विरुद्धका र सबै प्रकारका षड्यन्त्रमूलक योजनाहरूमाथि आक्रमण गरे । अचम्मको कुरा थिएन, मार्चको अन्त्यतिर र अप्रिलको आरम्भताका चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले बोका पक्षमा भएका अभियानहरू रोक्न  र समर्थनमा अभिमत दिने मिडियाहरूमाथि नियन्त्रण गर्न  युटोपिया र अन्य वामपन्थी वेबसाइटहरू बन्द गरायो । यसले चिनियाँ कम्युनिस्ट पार्टीले चीनको भविष्यका लागि आमजनतालाई  परिचालन गर्न महत्वपूर्ण भूमिका खेलेका  वामपन्थी वेबसाइटहरूलाई बन्द गराउने काममा अगुवाइ गरेको कुरा प्रस्ट भयो ।

बो प्रकरणलाई गलत आकार दिन निकै महत्वपूर्ण भूमिका खेलिसकेपछि एङ्लो–अमेरिकी प्रमुख माध्यमहरूले चिनियाँ राजनीतिक सञ्चारमा आफ्नो भूमिकाको विस्तार गर्दै चिनियाँ सञ्चारलाई  आपूmअनुकूल प्रयोग गरिरहेका छन्, जब कि तिनीहरू आफ्नो घरेलु बजारमा  विकराल सङ्कटको सामना गरिरहेका छन्, भूमण्डलीकरणले निम्त्याएको सङ्कटका कारण उत्पन्न सामाजिक सङ्र्घ व्यहोरिरहेका छन् ।  २०१२ को जुन २८ पछि न्यु योर्क टाइम्सको  चिनियाँ भाषाको वेबसाइटले विद्यमान चिनियाँ भाषाका वेबसाइटहरू फायनान्सियल टाइम्स र वाल स्टिट्र जर्नलको “कडा प्रतिद्वन्दी”  हुने उद्घोष गर्दै, यसले “मुलुकमा बढ्दैगएका सम्पन्न वर्गप्रति निर्दिष्ट मनोरन्जनात्मक  विज्ञापन” प्रसारण ग¥यो ।  चिनियाँ सुरक्षारेखालाई प्रभावहीन पार्दै न्यु योर्क टाइम्सका विदेश सम्पादक जोसेप  कानले यस नयाँ अभियानका बारेमा भने, “हामी आशा गर्छौ र  विश्वस्त पनि छौँ, हामी जे गरिरहेका छौँ, यसलाई चनियाँ अधिकारीहरूले पनि स्वागत गर्नेछन् ।”२३

यस समयमा चिनियाँ राज्यले घरेलु वामपन्थी झुकाव राख्ने माध्यमहरूमाथिको दमनलाई निरन्तरता दिइने रहन्छ । युटोपियाका अधिकांश सामग्रीहरू प्रकाशमा आउनबाट वञ्चित भइरहन्छन् । अनि   वेबसाइटसित सम्बद्ध वामपन्थी झुकाउ राख्नेहरू बोको बारेमा अभिमत प्रकट गर्न नयाँ प्लेटफर्मको तयारी गर्दै आफूलाई पुर्नसङ्गठित गर्दछन्  । यस सन्दर्भमा गरिएका केही विशेष चर्चाहरूमा,  कि त  यी वेबसाइटहरू क्रान्तिकारी माओवादी लेखकहरूद्वारा “हाइज्याक” गरिएका  छन्, कि त बोको नजिक आफूलाई देखाइएकोमा रणनीतिक कमजोरीको महसुस गर्दै उनीहरूले आफूलाई कतिपय सत्ताधारी सम्भ्रान्तवादीहरूको नजिक पु¥याएका छन्, भन्ने रहेको छ ।

चीनको अनिश्चित भविष्य

सुधारवादी कालमा  चिनियाँ निर्यातमुखी विकासको मोडल र यसको विश्वव्यापी प्रभावलाई लिएर निर्मम आलोचना गरिसकेपछि जोन बेलोमी फोस्टर र रबर्ट मेकेन्जीले  मन्थली रिभ्युको २०१२ को फेब्रुअरी अङ्कमा लेखेका छन् : “न्यु योर्क टाइम्सका लागि केही नभए पनि ‘माओको पुर्नजन्म अथवा आणविक विध्वंश’ चाहिँ चीनको वर्तमान बाटोलाई समात्नु जस्तै हो । यद्यपि ‘माओको पुनर्जन्म’ भन्नु चाहिँ   कुनै  हिसाबले आफैँमा  चिनिया क्रान्तिको पुनरागमन हो— जसले बदलिँदो ऐतिहासिक परिस्थितिका कारण  अनिवार्य रूपमा नयाँ ऐतिहासिक स्वरूप ग्रहण गर्नेछ—त्यसको सम्भावना रहेको छ  र अहिलेको वर्तमान अवस्थामा यसको  झन् वृद्धि भइरहेको छ ।”२४

अवश्य पनि बो माओका पुनर्जन्म होइनन् । तर यसले न्यु योर्क टाइम्स का साथसाथै यसका सीमित  विक्रीका एङ्लो–अमेरिकी मिडिया प्रतिस्पर्धीहरूलाई बोको पतनसित सम्बद्ध सत्ताखुराक बाँड्ने कामलाई चाहिँ रोक्न सकेको छैन । जस्तो  सङ्कटग्रस्त भूमण्डलीय पुँजीवादी अर्थतन्त्रको समयमा चीन “नयाँ अतिरिक्त मूल्यका लागि नयाँ परिस्थिति” निर्माण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ,  घरेलु उपभोग र निर्यातबीच आधारभूत सन्तुलन कायम गर्न र वर्गहरू र विभिन्न क्षेत्रबीचको व्यापक समानता  र अन्य  सामाजिक-आर्थिक  विभेदलाई कम गर्ने कुरासित सम्बद्ध चिनियाँ विकासको बाटोको आधारभूत पुनर्अभिमुखीकरणको पक्ष अन्धकारमय नै देखापर्छ । यसले अन्य नयाँ परिस्थितिहरूका बीच परिणाममा “एउटा यस्तो आधारभूत राजनीतिक कदम जसले सत्ताको सन्तुलनलाई सहरी विशिष्ट अभिजात वर्गबाट त्यस्तो वर्गमा हस्तान्तरण गर्छ, जसले ग्रामीण तल्लो वर्गको स्वार्थको प्रतिनिधित्व गर्छ ।”२५ अवश्य पनि, यो भनेको चिनियाँ राज्यको संविधानमा उल्लेख भएको कुरालाई प्रोत्साहित गरेको कुरा अनुभूत गर्नुहुन्छ –त्यो भनेको “जताको प्रजातन्त्र” हो, जसमा श्रमजीवी वर्ग र  यसको सहयोगी शक्ति मेरुदण्ड रहेको,  “किसान–मजदुरको एकताबद्धता” मा आधारित  “जनताको प्रजातन्त्र” हो, जुन नारालाई सुधारवादी कालमा पूर्णरूपमा बिर्र्सिँएको छ र “मध्यम वर्ग” को निर्माणमा जोड दिइएको छ । २६

छुक्विङमा बो केही हदसम्म अगाडि जान सक्षम भएका थिए र पार्टीबाट उनको निष्कासनले एउटा यस्तो गम्भीर राजनीतिक सङ्कट उत्पन्न गरेको छ, चिनियाँ कम्युनिस्ट पार्टीले त्यति सजिलै यो राजनीतिक सन्देश र उठेका आधारभूत सन्दर्भहरूलाई माटोमुनि गाड्न सक्ने छैन, जसलाई छुक्विङ मोडलले सम्बोधन गर्ने प्रयास गरेको थियो । यदि चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा रहिरहन चाहन्छ भने उसले यस्ता  समाजिक अस्थिरतासित गाँसिएका समस्याप्रति सन्तुलन कायम गर्दै अनिश्चयपूर्ण भूमण्डलीय आर्थिक समस्याका विरुद्ध छुक्विङ मोडलले उठाएका विषयमा टिक्नैपर्ने हुन्छ । यो  सन्दर्भभित्र रहनु नै महत्वपूर्ण हुन्छ, जसलाई अप्रिल १२, २०१२ को पिपुल्स डेली ले प्रशंसाका साथ आफ्नो मुखपृष्टमा छापेको थियो । बोको समृद्धिको छक्कलाग्दो  समाचारलाई महत्व दिनुभन्दा अगाडि यसले यसमा जोड दिएको थियो : “२ लाखभन्दा बढी साङ्सी अधिकारीहरू तल्लो तहमा काम गर्न जाँदैछन्” । जब कि  बोको नेतृत्वमा छुक्विङले भन्दा अरू क्षेत्रले, अधिकृतहरू जनस्तरमा सहभागी हुने यस्तो प्रभावकारी काम गरेका थिएनन्, पार्टीको लाइन प्रस्ट थियो : “बो सिलाइ  मुर्दावाद, जनदिशा अमर रहोस्” !

बोको निष्कासनले “समाजवादलाई  निषेधीकरण गर्ने अन्तिम कोसेढुङ्गा” को प्रतिनिधित्व गर्छ भन्ने   कुरा हेर्न बाँकी छ ।२७  यद्यपि  यस्ता धेरै हाँसउठ्दा घटनाहरूमध्येको यो प्रकरणले धेरै कुराको उद्घाटन गर्छ   : यस्तो राजनीतिक व्यवस्था जहाँ  माथिल्लो तहको पदाधिकारीका  लागि सही अर्थको खुला प्रतिस्पर्धा गर्ने अभियान चलाउन अनुमति थिएन,  बो एक्लैले यस्तो अभियान र लोकप्रिय आर्थिक कार्यक्रम सही राजनीतिक प्लेटफर्ममार्फत चलाए, उदारवादी प्रजातन्त्रका मूल्यहरूलाई अघि बढाएकाले उनी लोकप्रिय भएका होइनन्, बरु चिनियाँ क्रान्तिका सिद्धान्त र व्यवहारलाई पुनः लागु गरेर लोकप्रिय भएका हुन्, र अन्त्यमा चिनियाँ उदारवादी र नवउदारवादीहरूले पश्चिमा शैलीको राजनीतिक प्रतिस्पर्धा र  र अभिव्यक्ति स्वतन्त्रताको विषयमा लामो समयदेखि चिच्याउँदै आएका भए पनि बोलाई समर्थन गर्ने वामपन्थी सञ्चारमाध्यमहरूमाथि चिनियाँ राज्यले गरेको दमनमा उनीहरूले आफ्नो विजय महसुस गरेका छन् । एउटा अन्तिम र  स्वभावैले  सबैभन्दा गम्भीर प्रश्न बाँकी रहन्छ : के भोलिको सत्ताको  सबैभन्दा प्रभावशाली दावेदारका रूपमा अगाडि आएका बोको निष्कासन र सँगसँगै गरिएको वामपन्थी सञ्चारमाध्यमहरूमाथिको दमनले चीनलाई  सुरक्षित राख्ला र ? अन्ततः  यस्तो किसिमको  “राजनीतिक सुधार” ले चीनलाई भूमण्डलीय पुँजीवादको स्वर्ग मात्रै बनाउँदैन र  ?

उपसंहार

सेप्टेम्बरको सुरुमै यो लेख प्रेसमा पुगेको अवस्थामा थियो, अहिले बो  प्रकरणको खेल समापनको अवस्थामा छ । त्यसपछि चिनियाँ घरेलु सरकारी माध्यमहरूले अन्तदेर्शीय “भ्रम कारखाना” को स्वरूप ग्रहण गरेका छन् र यस मुद्दाको सरकारी बहस र विचारको  एकलौटी स्रोत बनेका छन् । २०१२ को सेप्टेम्बर १४ मा सरकारी माध्यमहरूले भने, चेङ्दुको इन्टरमिडियट जनअदालतले वाङ लि जुनलाई घुसखोरी, शक्तिको दुरुपयोग र निजी स्वार्थका लागि नियमकानुनको अपहेलनाको अभियोगमा मुद्दा चलायो ।  सेप्टेम्बर २८मा सरकारी माध्यमहरूले  बो सिलाइका सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक भनाइ भन्दै उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको साधारण सदस्यबाट  हटाइएको  र भ्रष्टाचार, शक्तिको दुरुपयोग, घुसखोरी र महिलाहरूसित अनुचित सम्बन्न्ध राखेको जस्ता अपराधको अभियोग लगाइएको भन्ने समाचारहरू प्रकाशमा ल्याए । देखावटी एकताका आधारमा तयार पारिएको बोमाथिको अनुसन्धानको यस्तो निष्कर्षपछि  नै  चिनियाँ कम्युनिस्ट पार्टीले नोभेम्बर ८, २०१२ मा आफ्नो १८ औँ महाधिवेशन गर्ने निर्णय गर्यो ।  पार्टी काङ्ग्रेसको नाटकबाहेक समग्र बो प्रकरणको भव्य समापन मुद्दाको बहसपैरवीमार्फत नै हुनेछ ।  बनिबनाउ मुद्दाको परिणाम प्रस्ट भए पनि यहाँ विधि र कानुनका कुरा पनि उठ्नेछन्, चिनियाँ कम्युनिस्ट पार्टी भ्रष्टाचारको कडा विरोधी छ पनि भनिनेछ,  तर के केुरा प्रस्ट देखिन्छ भने वर्ग यथार्थ र राजनीतिक सङ्घर्षहरू, जुनचाहिँ यो समग्र प्रकरणसित घनिष्ठ रूपमा गाँसिएका छन्, चीनको भोलिको इतिहासमा पढ्न बाँकी पन्नाका रूपमा रहिरहनेछन् ।  चीनमा पुनः समाजवादका लागि गरिएको यस अभियानलाई ध्वस्त मात्र होइन, जमिनमुनि नै गाडे पनि बो प्रकरणको समापनले समाजवादका लागि चिनियाँ सङ्घर्षको अर्को क्षितिज उघ्रनेछ, जसका लागि चिनियाँ राजनीतिक अर्थशास्त्रमाथि लोकप्रिय नियन्त्रण यसको परिभाषित विशेषता हुनेछ ।

सेप्टेम्बर २८, २०१२
टिप्पणी
१.  मैले यो पदावली अर्मान्ड माटेलार्टबाट सापट लिइरहेकी छु, “इन्ट्रोडक्सन, क्लास एनालिसिस अफ कम्युनिकेसन”, अर्मान्ड माटेलार्ट र सेथ सेजेलाउब, सम्पा., कम्युनिकेसन एन्ड क्लास स्ट्रगल भाग १ (न्यु योर्क ः इन्टरन्यास्नल जेनेरल, १९७९), पृ.२५ ।
२.सेबेस्टियन हेलमन, “पोलिसी मेकिङ थ्रु एक्सपेरिमेन्टेसन ः दि फर्मेसन अफ डिस्टिङ्सन पोलिसी प्रोसेस”, सेबेस्टियन हेलमन र ऐलिजाबेथ जे. पेरी, सम्पा. माओज इनभिजिवल ह्यान्ड, क्याम्ब्रिज, एम.ए. ः हारवर्ड युनिभर्सिटी एसिया सेन्टर २०११), ६२–१०१ ।
३.वाङ हुइ , “दि ¥युमर मेसिन”, दि लन्डन रिभ्यु अफ बुक्स ३४, नं. ९ (मे १०, २०१२), १३–१४ ।
४. बो र छोंक्विङका अधिकारीहरूको बोलीमा यो पदावली प्रयोग गरिएको पाइँदैन ।
५.थप विस्तृत व्याख्याका लागि अङ्ग्रेजीको प्राज्ञिक प्रकाशन मोडर्न चाइना ३७, नं. ६ (नोभेम्बर २०११ को छोँक्विङ मोडलसम्बन्धी विशेष अङ्क हेर्नुहोस् ।
६. केभिन लु, “दि छोँक्विङ मोडल वर्क्ड”, फर्हेन पोलिसी, अगस्त ८, २०१२, जततउस्ररायचभष्नलउयष्अिथ।अयm।
७.फिलिप सि.सि. हुवाङ, “छोँक्विङ इक्विटेबल डेभलोपमेन्ट ड्राइभेन बाइ अ ‘थर्ड ह्यान्ड’?”, मोडर्न चाइना ३७, नं. ६,(२०११), ५५९ ।
८.जन बेलोमी फोस्टर, रबर्ट डब्लु मेकेन्जी र आर. जमिल जोन्ना, “दि ग्लोबल रिजर्व आर्मी अफ लेबोर एन्ड दि न्यु इम्पेरियलिज्म”, मन्थली रिभ्यु ६३ नं. ६ (नोवेम्बर २०११), १–३१ ।
९. हुवाङ, “छोँक्विङ” ।
१०. बो सिलाइ, “रिड्युसिङ दि थ्रि डिभाइड्स, प्रमोटिङ कमन प्रोस्परिटी”, सिन्ह्वा नेट, जुलाई २७, २०११ , जततउस्ररलभधक।हष्लजगबलभत।अयm ९ष्ल ऋजष्लभकभ० ।
११. उही ।
१२. हुवाङ, “छोँक्विङ”, ६०२ ।
१३. उही, ६०३ ।
१४.उही, ६०५ ।
१५. उही, ६०६ ।
१६. सुइ जियुयान, पार्सियल इन्टिमेसन्स अफ दि कमिङ होल ः दि छोँक्विङ एक्सपेरियन्स इन लाइट अफ दि थियोरिज अफ हेनरी जर्ज , जेम्स मिडे एन्ड अन्टोनियो ग्राम्सी”, मोडर्न चाइना  ३७, नं. ६ (नोभेम्बर २०११), ६४६–६० ।
१७. हे सिझोङ, “मेकिङ सिक्युटिभी इन्टु दि अडियन्सेज फेवोर्ड पब्लिक इन्ट्रेस्ट च्यानल”, छोँक्विङ डेली, मार्च ३, २०११, जततउस्ररअजष्लबलभधक।अयm ९ष्ल ऋजष्लभकभ० ।
१८. उही ।
१९.झाओ युझी, टुवार्ड दि पब्लिक नेचर अफ सोस्लिस्ट मिडिया एन्ड कल्चरल अटोनोमी ः रिफ्लेक्सन्स अन दि रिफर्मस् एट छोँक्विङ सेटेलाइट टेलिभिजन”, सिन्वेन डाक्सुइ ३ (२०११), जततउस्ररबअबमझष्अ।mभमष्बअजष्लब।लभत  (चिनियाँ भाषामा)  साथै, लु सिनयु, “गवन्र्मेन्ट सब्सिडाइज, मार्केट सोस्लिज्म, एन्ड दि ‘पब्लिक’ क्यारेक्टर अफ चाइनिज टेलिभिजन”, मोडर्न चाइना ३७, नं. ६ (नोभेम्बर २०११), ६६१–७१ ।
२०. यी  टिप्पणीहरू सियाओ जुद्वारा  तयार पारी सिक्युटिभीको वेबसाइटमा पोस्ट गरिएका थिए ।  जब कि यो कथा चिनियाँ इन्टरनेटसम्म पुग्ने  खालको थिएन ।
२१.जियाङ वेइपिङ, “हु जिन्ताओ ह्याज एकम्पोलिस्ड ए ग्रेट फिट”, जततउस्ररयउष्लष्यल।मधलभधक।अयm ९ष्ल ऋजष्लभकभ०, (चिनियाँ भाषामा ) ।
२२.  लिन चुन, “चाइनाज लिडर्स आर क््रयाकिङ डाउन अन बो सिलाइ एन्ड हिज छोँक्विङ मोडेल”, गार्जियन, अप्रिल २२, २०१२, जततउस्ररनगबचमष्बल।अय।गप।
२३. क्रिस्टिना हउघनी, “दि टाइम्स इज इन्ट्रोड्युसिङ ए चाइनिज लङ्वेज वेबसाइट”, न्यु योर्क टाइम्स, जुन २७, २०१२,  जततउस्ररmभमष्बमभअयमभच।दयिनक।लथतष्mभक।अयm।
२४.जोन बेलोमी फोस्टर, र रबर्ट मेकान्जी, “ग्लोबल स्टाग्नेसन एन्ड चाइना”, मन्थ्ली रिभ्यु  ६३, नं. ९ (नोभेम्बर–डिसेम्बर २०१२), १–२८ ।
२५. हो फुङ हुङ, “अमेरिकाज हेड सर्भेन्ट, दि पिआरसिज डाइलिमा इन दि ग्लोबल क्राइसिस”, न्यु लेफ्ट रिभ्यु ६०, (नोभेम्बर–डिसेम्बर २००९), ५–२५ ।
२६. युझी झाओ, “फर ए क्रिटिकल स्टडी अफ कम्युनिकेसन एन्ड चाइना ः च्यालेन्जेज एन्ड अपरच्युनिस्टस्”, इन्टरन्यासनल जर्नल अफ कम्युनिकेसन, ४ (२०१०), ५४४–५१, जततउस्ररष्वयअ।यचन।
२७ लिन, “चाइनाज लिडर्स आर क््रयाकिङ डाउन अन बो सिलाइ एन्ड हिज छोँक्विङ मोडेल” ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी