राजधानीकै सडकमा हिँड्दाहिँड्दै करेन्ट, छोइकु तामाङको दुवै खुट्टा जले

64 Hits

 काठमाडौं , ३ भदौ।

काभ्रे, तिमाल गाउँका ३० वर्षीय छोइकु तामाङले राजधानीकै सडकमा हिँड्दाहिँड्दै विना गल्ती घाइते हुनुपर्ला भन्ने सोचेकै थिएनन्। तर, उनले अनपेक्षित दुर्घटना झेल्नुपर्‍यो। सडकमै करेन्ट (विद्युतीय स्पर्शाघात) लागेर उनी घाइते भए।

लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाविहानै हिँडिरहेका बेला उनलाई करेन्ट लागेको थियो। विद्युत पोलबाट चुँडिएर भुइँमा लत्रिएको तारमा बगेको करेन्ट लागेपछि उनी एकाएक ढल्न पुगे। करेन्टले उनको दुवै खुट्टादेखि माथिसम्मको भाग जलेको छ। कीर्तिपुर अस्पतालमा तीन साताको उपचारपछि अहिले उनी घरमै आराम गरिरहेका छन्।
तामाङका अनुसार त्यो बिहान पानी परिरहेको थियो। बिहान पाँच बजेतिर लैनचौर पुग्दा सडक बीचमा नेपाली सेनाका जवान देखिए। तामाङलाई देख्नेवित्तिकै ती जवानले सडक बीचमा करेन्ट प्रवाह भएको तार लत्रिएकाले छेउबाट जान सुझाए। उनी सचेत हुँदै सडकपेटीबाट अघि बढ्दै थिए। चप्पल लगाएका उनलाई करेन्ट लाग्यो। उनी सडकमै ढले। बुँझिदा वीर अस्पतालमा थिए। उनलाई तिनै सैनिक जवानले वीरमा पुर्‍याएका थिए। उनको घाउ केही ओभाए पनि पूर्ण रुपमा निको हुन वर्ष दिन लाग्ने डा. शंकरमान राईले बताए।
नेपाल विद्युत प्राधिकरणका अनुसार विजुलीका खम्बामा अरु तार पनि टाँगिदा दुर्घटना हुँछ। यस्ता खम्बामा सबैभन्दा माथि विजुलीको तार हुन्छ। विजुलीको तारमुनि टेलिफोन र केबुलका तार राखिएका हुन्छन्। ‘हाम्रो तार जमिनबाट २० फिट माथि हुन्छ, अरु तारलाई गाडीले छुँदा खम्बा ढल्न पुग्छ खम्बा ढलेर विद्युत प्रवाह भइरहेको तार लत्रिएपछि दुर्घटना हुन्छ’ प्राधिकरण रत्नपार्क नोलाइट शाखाका सुपरभाइजर हरिहरकुमार सिंहले भने।
नांगो तार भुइँमा लत्रेको अवस्थामा ज्यान जानेसम्मको दुर्घटना हुुन सक्ने प्राधिकरणका काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय निर्देशक दीर्घायु श्रेष्ठले भने।

Related News

Comments are closed