एमालेको सहमतिमै दोश्रो चरणको निर्वाचन सार्ने निर्णय भयो : प्रधानमन्त्री
काठमाडौ, १७ जेठ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको सहमतिमै स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते सार्ने निर्णय लिएको दावी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनता पार्टी, नेपाल पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने पनि स्पष्ट पारे । बुधबार विहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले राष्ट्रिय जनता पार्टीको माग र मुस्लिम समुदायको पर्व रमजान परेकाले पनि निर्वाचनको मिति असार १४ गते सार्नु परेको स्पष्टिकरण पनि दिए । प्रधानमन्त्री प्रचण्डले अव स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सारिरहन पर्ने अवस्था नरहेको पनि उल्लेख गरे । एमालेसहितको सहमतिमा स्थानीय तहको निर्वाचनको मिति असार १४ गते सार्ने निर्णय लिइएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको भएको सांसद रामनारायण बिडारीले जानकारी दिनु दिए ।
नेकपा माओवादी केन्द्रले सबै दललाई सहमतिमा ल्याएर स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद पनि व्यक्त गरेको छ ।