दाइजो माग्नु भनेको, भीख मागे जस्तै हो : डा.सि.के.सिंह

946 Hits

16467061_10208374997401365_1827080041_n

डा.सि.के.सिंह
सद्भावना दूत
बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपाल

विवाहको समयमा बेहुली तर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराइ तथा मधेसतिर दहेज पनि भनिन्छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तै फर्निचर, लत्ताकपडाका सामाग्रीहरु दाइजो दिइन्छ । सुनचाँदी हिरामोतीका महंगा गरगहनाहरु पनि दाइजोमा पर्छन् । समयक्रमसँगै आधुनिक सुविधाका सामाग्रीहरु जस्तै टिभी, मोटरसाइकल, कम्पूटर, कार, जस्ता सामाग्रीहरु पनि दाइजोको रुपमा दिइने गरेको पाइन्छ ।

सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारको रुपमा अत्यन्त हलुका ढंगले लिएको मात्र पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र् दर्दनाक छ । किनकी दाइजो सामान्यरुपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिएप्नि हुन्छ र नदिएपनि हुन्छ । तर, दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाको रुपमा जरा गाडेको छ ।

दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ । यसले समाजमा असामनता, उत्पिडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधहरुलाई मलजल गरिरहेको छ । दिनहूँजस्तो हाम्रो समाजमा घट्ने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटनाहरु यसका ज्वलन्त प्रमाणहरु हुन् । यस्ता घटनाहरुको प्रमुख कारक दाइजो प्रथा हुने गरेको सम्बन्धित अनुसन्धानहरुले पुष्टि गरेको छ ।

तसर्थ दाइजोले कस्ता कस्ता समस्या एंव विसंगतीहरु निम्त्याउँछ, र यसको सामाधानका लागि के गर्नुपर्छ ? भन्नेजस्ता कुरामा आम नागरिक सचेत हुनु जरुरी छ ।

विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ । यसलाई पुण्य साहित निकालेर गरिन्छ । यो मान्यता भित्र दाइजो दिनुपर्छ भन्नेबारे कहीँ कतै पनि उल्लेख गरिएको छैन । तथापी एक पवित्र विवाह मण्डप दाइजोका लागि राखिएका रंगी चंगी भौतिक सामाग्रीहरुले भरिएको हुन्छ ।

यसरी सार्वजनिक ठाउँमा सबैलाई देखाउनका लागि राखिनुलाई दाइजो एक सामाजिक देखासिकी एंव प्रतिष्ठाको विषय रहेको प्रष्ट हुन्छ । शैदान्तिक रुपमा दाइजो लिनु दिनु हुँदैन भनेर पढिए पनि व्यवहारिक रुपमा हामी विशेषतः बालबालिकाहरुलाई दाइजो विवाहको अनिवार्य शर्त पो रहेछ भन्ने पाठ सिकाइरहेका हुन्छौँ ।

अझ भन्नुपर्दा नेपालको तराई मधेसका कतिपय ठाउँहरुमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रुपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो ! सामान्यतः शिक्षालाई सामाजिक समस्या विवरणका लागि द्योतकका रुपमा लिइन्छ । तर, दाइजो प्रथाका सम्बन्धमा भने विराधाभाष पाइन्छ । तसर्थ शिक्षित परिवार भित्र पनि दाइजो प्रथालाई प्रसय दिइनाले समाजमा यसले विकराल रुप लिएको छ ।

दाइजो प्रथा नराम्रो हो भन्ने शैदान्तिक ज्ञान हुँदाहुँदै पनि यो प्रथालाई प्रयोग गरिनुले यो एक गम्भिर समस्या हो भन्ने कुरा पुष्टि गर्छ । यो हाम्रो मानसिकतामा गाँसिएर बसेको छ । दाइजो प्रथाले समाजमा निम्त्याएका विसंगती निवारण गर्न हामीले आफ्नो उत्तरदायित्व वहन अग्रसर नभएको पुष्टि हुन्छ ।

यसर्थ आज हरेक सचेत नागरिकले दाइजो प्रथाले निम्त्याउने नकारात्मक पाटाहरुका बारेमा संवेदनशील भएर मानसिक एंव सामाजिक परिवर्तनका लागि एकबद्धता जाहेर गर्नुपर्ने बेला आएको छ ।

दाइजो प्रथाका नकारात्मक पाटाहरु धेरै छन् यसको प्रभाव बेहुली पक्षलाई पर्न जान्छ । जुन विवाहको मगनीको बेलादेखि नै सुरु हुन्छ । किनकी अधिकांस विवाहमा (विशेषतः तराइ मधेसमा) बेहुलीपक्ष्।ले बेहुलापक्ष्।लाई के के दिनुपर्छ भनेर छिनोफानो हुन्छ । शर्त पूरा भएमात्र विवाह निाश्चित हुन्छ ।

कतिपय अवस्थामा विवाह अघि नै नगद आदि दाइजो दिइसक्नुपर्ने हुन्छ । शर्त पूरा नहुँदा विवाह नै भाँडिएका घटनाहरु पनि बेलाबेलामा बाहिर आइरहन्छन् । यसर्थ दाइजो बेहुली पक्षलाई आर्थिक तथा मानसिक रुपमा अत्यन्त बोझिलो साबित हुन जान्छ ।

कतिपय परिवारले छोरीलाई शिक्षा दिएर सक्षम तुल्याउनु भन्दा पनि विवाहमा दाइजो दिन सम्पतिको जोहो गर्न थाल्छन् । अर्थ जुटाउनका लागि कतिपय परिवार आफ्नो पुख्र्यौली सम्पति बेच्न पनि बाध्य हुन्छन् ।

दाइजो प्रथाको आर्थिक भन्दापनि सामाजिक र मनोवैज्ञानिक पाटो अझ विकराल छ । छोरा जन्मदा खुशी हुने परिवारमा छोरीको आगमन हुँदा दुखी हुन्छन् । दाइजोको लागि अब जोहो गर्नुपर्ने पनि छोरी जन्मिएकै दिनबाट सुरु हुन्छ । अर्को शब्दमा भन्न्ुपर्दा छोरीमाथिको लैंगीक विभेद गर्भबाटै सुरु हुन्छ ।

भ्रुणहत्यामा भएका अनुसन्धानहरुले अधिकांस भ्रुणहरु बालिकाको भएको पुष्टि गरेको छ । यसको प्रमुख कारण पनि दाइजोको मनोवैज्ञानीक आतंक नै हो । त्यसैगरि, दाइजोको तराजुमा सामाग्रीसँगै तौलीएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ दाइजो प्रथाले ।

यो दृश्य देखेर हरेक अविवाअित केटाले आफू ‘सुपेरियर’ भएको र हरेक अविवाहित केटीले आफू ‘इन्फेरियर’ भएको महशुश गर्छन् । यसर्थ असमान ‘जेन्डर आइडेन्टिटी’ अर्थात लैंगीक पहिचानको निर्माण गर्न दाइजो प्रथाले भूमिका खेलेको छ ।

त्यसैगरि दाइजोले सामाजिक समस्या एंव विकृति निम्त्याउन पनि ठूलो भूमिका खेलेको छ । बेहुली पक्षलाई दाइजोको रकम जुटाउनलाई भ्रष्टाचार तथा हिंसाजस्ता कुकर्म गर्न बाध्य हुनुपरेको पनि विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।
अर्को भयानक कुरा त, दाइजो विवाहको दिनमा मात्र सकिन्न । त्यसलाई पनि सामाजिक र पारिवारिक प्रतिष्ठाको रुपमा पनि हेरिन्छ । मानौँ कुनै पनि समाजमा या परिवारमा देउरानी, जेठानी भन्दा कम दाइजो भएमा उक्त महिलामाथि विभेध गरिन्छ र त्यसैले पिडा निम्त्याउँछ । उनी पारिवारिक रुपमा बहिस्कृत हुनुपर्ने हुनसक्छ । यसका साथै यो विषयले घरझगडा पनि निम्त्याउन सक्छ । यसले अबोध बालबालिका माथि नकारात्मक असर पर्न जानुकासाथै कहिलेकाहीँ हत्या हिंसा पनि निम्त्याउन सक्छ ।

यसर्थ आज सबैले भन्नुपर्छ की, दाइजो प्रथा होइन, यो एक कुप्रथा हो । यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानून नबनेका पनि होइनन् । नेपालको संविधान २०६२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनैतिक रुपमा समान हुुनुपर्ने परिकल्पना गरेको छ ।
यसरी लैंगीक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रथलनमा ल्याइनु आफैँमा विरोधाभास हो । त्यसैले कानूनका पन्नाहरुमा मात्र सिमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यक्ता हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी