विप्लव माओवादीको चितवन जिल्लापार्टीमा विवाद
काठमाडौं,२३ जेठ ।
चितवनमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादीमा विवाद देखिएको छ ।
चितवनका दर्जन नेताले पार्टीको जिल्ला नेतृत्वप्रति असहमति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन्।
उनीहरुले आफूहरु निस्कृय रहेने, तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने र पार्टी सच्चिए मात्रै फर्कने बताएका छन्। दुईजना जिल्ला कमिटीका सचिवालय सदस्य, पाँचजना जिल्ला सदस्य र पाँचजना इलाका सदस्यले संयुक्त विज्ञप्ति निकाल्दै जिल्ला नेतृत्वको बिरोध गरेका हुन्।
विज्ञप्तिमा पार्टीको जिल्ला तहमा बढेको बेथितिका बारेमा स्थानीयदेखि केन्द्रीय तहसम्म कुरा राखेपनि त्यसको कतै सुनुवाइ र छलफलसम्म नभएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा इलाका सेक्रेटरी रामबहादुर लामा, जिल्ला सचिवालय सदस्य होमबहादुर खड्काको नेतृत्वमा विज्ञप्ति जारी भएको हो ।
विज्ञप्तिमा जिल्ला समितिका सदस्यहरु शारदा थापा मगर, राजन तिमिल्सिना, नेत्र नेपाली, पुष्कर भण्डारी र मणिराम ढकालको पनि हस्ताक्षर छ। इलाका सदस्यहरु इन्द्र घिसिङ, निर्मल भट्टराई, अमर खतिवडा, कृष्ण चौधरी र सरिता थापा मगरले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्
। यसका साथै पार्टी इलाका र सेल कमिटीको जिम्मेवारी लिएका १२३ जना यो अभियानमा सामेल रहेको विज्ञप्तिमा उल्लेख छ ।
चितवनको पहाडी क्षेत्र शक्तिखोरको कोलारमा चुनखानी उत्खनन रोक्ने आन्दोलन, गत वर्ष भरतपुर तोरिखेतमा भूकम्प प्रभावितहरुलाई ल्याएर राख्ने अभियान र गत महिनाको चितवन मेडिकल कलेज शिक्षण अस्पतालको मजदुरु आन्दोलनमा जिल्ला नेतृत्वले धोका दिएको विज्ञप्तिमा उल्लेख छ।
काँग्रेस नेता विकास कोइरलाको स्टार लाइम कम्पनीले कोलारमा चुन खानी उत्खनन् गर्दा विप्लव माओवादीले बन्द गराएको थियो ।
त्यस्तै व्यक्तिको जग्गामा गोरखाका भूकम्प प्रभावितहरुलाई ल्याएर माओवादीले राखे पनि प्रशासनले तत्कालै हटाएको थियो। चितवन मेडिकल कलेजमा मजदुरहरुले आन्दोलन गरे पनि अस्पताल प्रशासनसँग पार्टी जिल्ला सचिव महेश चौधरीले सम्झौता गरेर आन्दोलन स्थगित गरेका थिए । व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा आन्दोलन तुहाइएको त छैन ? विज्ञप्तिमा भनिएको छ ।