प्रचण्डलाई मलेशियाबाट जनसेनाको पत्र

53940 Hits

प्रिय कमरेड प्रचण्ड

अभिवादन् ।

pla 1म झोला बोकेर हिड्ने बेला आमा रूदै भन्दै हुनुहुन्थ्यो बाबू बिदेश नजाउ । तिमी घाइते छौं काम गर्न सक्दैनौं । बरू यतै केही गरेर लाला बाला पाल । चारै तिर हेरें । जिउने उत्तम उपाय कुनै देखिन । अनि भने( आमा म जान्छु, बिदा दिनुस आमा । आमाले आँशु पुछ्दै तिमी जानेनै भए म के भनौं त तर पुग्ने बित्तिकै फोन गर्नु है भन्नुभयो।) आमासँग बिदा मागेर हिड्ने तयारीमा थिएँ । ठुली छोरी स्कुल गएकी थिइन् । सानो छोरी भरखर एक बर्षकी थिइन । आमा भन्दा पनि मलाई धेरै माया गर्थिन । खै किन हो किन म हिड्ने थाहा पाए जस्तो गरेर आमाको काख छोडेर मेरो काखमा आइन् । मेरो हिड्ने बेला भैसकेको थियो तर छोरीले छाडन् मानिनन् । जबर्जस्ती आमाले काखबाट लिनुभो तर फेरी छोरी रून थालिन् । हिड्ने बेलामा झनै मन फाटेर आयो । बल्लतल्ल आँखामा पिलपिल गर्ने आशु रोक्ने प्रयास गरेँ । अनि सुरू गरे मेरो यात्रा मलेसियाको ।

काठमाडौंमा बसेर दिनभर नेताहरूको चाकडी गर्ने, रातभरि बार र डिस्कोहरूमा हुस्कीको नशामा लिप्त भएर चुरोटको धुवा उडाउने कार्यकर्ताको अगाडि बिदेशीको गुलामी भएपनि पाखुरी बजाएर लालाबाला पाल्दै क्रान्तिको झन्डा उचाल्दै जिबन जिउने अठोट गरेको हुँ । मैले जहिले पनि चाप्लुसी चाकडीको बिरोध गरेँ । म आज एउटा रगतको इतिहास कोरेर आएको छु जुन चाहेर पनि कसैले मेटाउन सक्दैन । गाम, लिस्ने, खारा, अर्घाखाँची, जुम्ला, बेनी र रम्बापुर पिलि दर्जनौं लडाइँका मोर्चाहरूमा आफ्नो टिमलाई लडाएर आएको ब्यक्ती हुँ । कमान्डोहरूमा सिधै एल एम जि खोसेर इतिहास रचेको ब्यक्ती हुँ ।

हातमा गोली लागेर छियाँछियाँ हुदा समेत आफ्नो एके ४७ बोकेर कब्जा गरेका भाडाका टट्टुहरुका राइफल खोसेको इतिहास रचेको थिएँ । घाइते अबस्थामा तत्कालीन शाही सेनाको काल कोठरीमा चौध दिन सम्म खाल्डोमा रहँदा भनेको बेला पानी पिउन समेत दिएनन् । झोलामा भएको अौषधी पनि खान दिएनन् पापीहरूले । घाउ पाकेर पिप बक्दा समेत उपचार नपाएर खाल्डोमा सड्नु पर्ने अबस्थामा पनि माओबादको नारा घन्काइ राखें । यस्तो अबस्थामा पनि नझुकेर एउटा क्रान्तिकारी सिपाहीको फलामे अनुशासन बनिरहेँ । बरू गोली खान तयार म कदापी झुक्दिन भन्दै संघर्ष गरियो । शान्ति कालमा रिहाइ भएर उपचार पछि आफ्नो टिम सम्हालेँ ।

शान्ति प्रकृयापछि सेना समायोजन सबै भन्दा पिडादायिक क्षण बन्न पुग्यो । जित जस्ता बहादुर हजारौं नेपाली आमाका छोराछोरीको रगतबाट साटिएका हतियार हाम्रो हातबाट खोसिदा साह्रै मन रोयो । अब फेरि नेपाली सेनामा रहेर देशको सेवा गर्छु भनेर नेपाली सेना बन्ने सपना देखें । तर मेरो सपना छिनभरमा चकनाचुर भए । म नेपाली सेनाको अधिकृत हुने क्षमता दक्षता सबै हिसाबले योग्य भएर पनि हातमा गोली लागेको कारण नेपाली सेनामा काम गर्न नसक्ने भनियो । अन्ततः म पुर्ण रूपले सिभिलियन भिख दिएको ६ लाख रूपैयाँ लिएर आएँ । घाइते हात उपचार गर्दै भिख लिएको ६ लाख पनि सकियो । उपचार गर्ने पैसा नभएर छटपटिदा छटपटिदै म अहिले बिदेशीको गुलामी गर्दैछु ।

2

यही भुमीमा म जस्तै साथीहरूलाई एकताबद्द गर्दै निहित स्वार्थमा रहेका हिजो आन्दोलनको बेलामा दुलो भित्र छिरेका कायर नामर्दहरुलाई ठाउँमा पुर्याउन उही पार्टीमा रहेर पनि संघर्ष एकता रूपान्तरणको पाटोलाई आत्म साथ गर्दै अगाडि बढ्दैछु । पार्टी भित्र चरम नाताबाद र पैसाबादी रूपले मौलाउदै गएको नब सामन्तवाद बिरुद्द भिषण संघर्ष गर्नेछु । बाह्र घन्टा काम गरेर पनि क्रान्तिको झन्डा उचाल्नेछु, म अब कसैको गोठाला बन्न सक्दिन, बरू भिषण संघर्ष अझै गर्न तयार छु । जीवन भोगाइका यी तिता अनुभवहरुका बिचमा पनि हामी समग्र माओबादी आन्दोलन कै पक्षमा एकीकृत छौ । खासमा भन्ने हो भने आज हाम्रो बलिदानमा अमुखहरुले महल खडा गरेका छन् । आसेपासे पोसिएका छन । सम्माननिय र महामहिम बनेका छन तर हाम्रो बलिदान माथि सबैप्रकारका माओबादिहरुले ब्यक्तिगत खेति गरिरहेका छन । माओबादी परिवर्तनकारी आन्दोलन माथि महान सहिद, घाईते, अपाङ्ग, भुमिगत कार्यकर्ता र शुभचिन्तक तमाम जनमानसमा गलत लाईन प्रसारण हुदैछ, यसको समीक्षा हुन जरुरी छ ।

फुटाउ र राज गर, कमाउ र मोज गर प्रतिक्रियावादीहरुको षड्यन्त्रमा हामी फस्दैछौ । किन कि हामी हाम्रो बर्गबाट बिचलित हुदैछौ । हरेक प्रकारका असन्तुष्टि र असमझदारीहरुका बिचबाट यदि माओबादी आन्दोलनलाई जोगाउने हो भने अध्यक्ष कमरेड प्रचण्डले तत्काल पहलकदमी लिन जरुरी छ । अझै पनि म जस्तै लाखौंलाख कार्यकर्ता र जनसमुदायले प्रचण्ड माथि ठूलो आशा राखेका छन् कि राष्ट्रिय राजनितीको कुशल नेतृत्व र कार्यकर्ताको उचित मुल्यांकन सहित ब्यबस्थापन हुनेछ ।

अन्तमा, परिवर्तनको महान् लडाइमा रगत बगाउन पाउँदाको आनन्द आज पनि महसुस गर्दैछु । देश आज हाम्रो बलिदानले प्राप्त उपलब्धिमा संरचनागत चलायमान छ । हामी अझै पनि सिङ्गो राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको सवालमा एमाओबादी र अध्यक्ष प्रचण्डले यथेष्ट भुमिका खेलुन् भन्ने चाहन्छौ । तमाम बाह्य र आन्तरिक समस्या ब्यबस्थापनमा ध्यान जाओस् र सिङ्गै माओबादी आन्दोलन एकीकृत गर्ने नेतृत्व प्रचण्डको नेतृत्वमै प्राप्त होस् । लालसलाम ।

 भिम बहादुर रोकाया (मुस्कान)

जाजरकोटका स्थाई बासीन्दा र पुर्ब जनमुक्ति सेना नेपाल बटालियन सह कमाण्डर तथा हाल नेपाली जनप्रगतिशिल मंच, मलेसियाका सल्लाहकार

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी